
काठमाडौं- नेपालको अर्थतन्त्र विप्रेषण (रेमिट्यान्स) मा निर्भर छ । विप्रेषण रकम उत्पादनशील क्षेत्रमा उपयोग गर्ने उद्देश्यले आव ०६६÷६७ देखि नेपाल सरकारले वैदेशिक रोजगार बचतपत्र जारी गरेको छ । यस बचतपत्रमा जम्मा हुने रकम भने न्यून छ ।
वैदेशिक रोजगारमा गएका घरपरिवारका सदस्यहरूमध्ये ०.६ प्रतिशतले मात्र यो बचतपत्रमा रकम जम्मा गर्ने गरेको तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एक प्रतिवेदनमा वैदेशिक रोजगारीमा गएका व्यक्तिका परिवारका सदस्यमध्ये ९९.४ प्रतिशतले बचतपत्रमा रकम जम्मा गरेका छैनन् । जसमध्ये ७३.४ प्रतिशतलाई बचतपत्रबारे जानकारी नै नभएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, २५ प्रतिशतले बचतपत्रमा जम्मा गर्ने रकम नभएर लगानी गर्न नसकेको प्रतिवेदनमा उल्लेख छ ।
नेपालमा भित्रिएको विप्रेषणमध्येको २५.३ प्रतिशत रकम ऋण तिर्नका लागि प्रयोग हुने गरेको छ । त्यस्तै, २३.९ प्रतिशत दैनिक उपयोगका लागि प्रयोग हुने गरको राष्ट्र बैंकले गरेको अनुसन्धानले देखाएको छ । यसरी नेपालमा भित्रिने विप्रेषणमध्ये न्यून रकम मात्र उत्पादनमूलक काममा प्रयोग हुने गरेको छ । कुल विप्रेषणको १.१ प्रतिशत रकम मात्र उत्पादनमूलक काममा खर्च हुने गरेको तथ्यांकले देखाएको छ ।
नेपाल राष्ट्र बैंकले बढी विप्रेषण भित्रिने १६ जिल्लामा गरेको अध्ययनले नेपालमा भित्रिएको रकममध्ये ६४ प्रतिशत परिवारले बैंक, १७.३ प्रतिशतले आफैंसँग र ८.९ प्रतिशतले सहकारीमा बचत गर्ने गरेको देखाएको छ । यसरी बचत गर्ने परिवारमध्ये ४८.८ प्रतिशत परिवारले घरजग्गा खरिद गर्न उक्त रकम जम्मा गर्ने गरेको अनुसन्धानले देखाएको छ ।
नेपालबाट बर्सेनि ५ लाखको हाराहारीमा युवा वैदेशिक रोजगारीका लागि जाने गरेका छन् । यसरी वैदेशिक रोजगारीमा विदेश जानेहरू ५२.१ प्रतिशतले साहुमहाजनबाट ऋण लिएर विदेश जाने गरेका छन् । त्यस्तै, ६.३ प्रतिशतले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने गरेको अध्ययनले देखाएको छ ।
आर्थिक वर्ष २०७२/७३ सम्ममा रोजगारीका लागि मुलुकबाहिर जाने नेपालीको संख्या ४३ लाख नाघेको छ । वैदेशिक रोजगारीमा विदेश जानेको संख्या वृद्धि भएसँगै आर्थिक वर्ष २०५०/५१ मा २ अर्ब १५ करोड विप्रेषण भित्रिएकोमा आर्थिक वर्ष २०७२/७३ मा आइपुग्दा ६ खर्ब ६५ अर्ब विप्रेषण नेपाल भित्रियो जुन कुल गार्हस्थ्य उत्पादनको २९.६ प्रतिशत हो ।
विप्रेषण रकमको हिसाबले विश्वमा नेपाल २३औं स्थानमा छ । त्यस्तै, कुल गार्हस्थ्य उत्पादनसँग विप्रेषण आप्रवाहको अनुपातको हिसाबले नेपाल विश्वमा तेस्रो स्थानमा छ ।
स्थलगत सर्वेक्षणमा समेटिएका मध्ये ८०.८ प्रतिशत घरपरिवारको विप्रेषण बाहेक आयको अन्य स्रोतबाट खर्च धान्न नपुग्ने र १८.८ प्रतिशत घरपरिवारले उपभोग खर्चको लागि विप्रेषण आयमा पूर्ण रूपमा भर पर्नुपर्ने देखिएको छ । यस्तो अवस्थामा गन्तव्य मुलुकको रोजगारीमा कुनै व्यवधान आएमा ती घरपरिवारको गरिबीको दर पनि बढ्ने देखिन्छ । यस किसिमको जोखिमलाई नेपालले नीति निर्माण मार्पmत बेलैमा सम्बोधन गर्नु आवश्यक छ ।
राजधानीबाट