केदार मगर खोटाङ, पुस ६
“म विदेश जाँदा वैदेशिक रोजगारीको बारेमा जानकारी दिने कोही थिएन ।” विदेशबाट फर्किएकी एक महिलाले भनिन्, “विदेश जानका लागि पु¥याउनुपर्ने आवश्यक कानुनी प्रक्रियाको बारेमा पहिले नै जानकारी पाएको भए मैले त्यस्तो धेरै दुःख पाउँदिन थिए होला।” कुवेत, साउदी अरब र ओमन पुगेर फर्किएकी खोटाङको निर्मलीडाँडा–३ की हीरा राईले गन्धर्व गीतियात्राका क्रममा उनको गाउँमा पुगेको टोली समक्ष आफूले विदेशमा पाएको दुःखको बारेमा जानकारी दिएकी हुन्।
“सानै छँदा मलाई आफन्तले विदेश पठाउन फकाउन थाले ।” विगत सम्झँदै उनले भनिन्, “पच्चीस हजार रुपैयाँ तिरेर कुँवेत हिँडे । इन्डियाको बाटो भएर जाँदा माइती नेपालले फर्काइ दियो ।” उनले थपिन्, “प्रक्रिया नपु¥याइ विदेश हिँडेकाले फर्काइएको रहेछ ।”
पैसा कमाउन सकिन्छ भन्ने आशामा आफू पनि अरुको लहैलहैमा विदेश जान तयार भएको राईले बताइन् । “नौ वर्षसम्म कुवेतमा बसेँ तर, पैसा भने दिएनन् ।” उनले भनिन्, “आफूले काम गरेको पैसा माग्दा उल्टै तातो पनिउँले कुट्ने गथ्र्यो ।”
घरेलु कामदारका रुपमा कुँवेतमा रहँदा त्यहाँकी साहुनीले पटकपटक यातना दिने गरेको उनले बताइन्। कुवेतकी साहुनीले तँलाई मैले किनेर ल्याएको, केको पैसा दिनु भन्दै एक दिन तन्नामा झुन्ड्याइ दिएको पनि उनले जानकारी दिइन्।
साहुनीको ज्यादती सहन नसकेर त्यस घरबाट भागेको राईले बताइन्। “मलाई राखेको ठाउँबाट चारवटा तन्ना जोडेर भाग्न सफल भएँ ।” उनले भनिन्, “त्यहाँबाट निस्किएपछि बाटोमा भेटिएका मान्छेलाई आमाबुबा झै सम्झिएँ ।”
बाटामा भेटिएका मान्छेकै सम्पर्कमा नेपाल नआइकन उताउतै साउदी गएको उनले सुनाइन् । “साउदीमा पनि घरभित्रकै काम थियो तर, त्यहाँ त्यति गाह्रो भएन ।” उनले भनिन्, “काम गर्न सबै आउँथ्यो, त्यसैले सजिलै भयो ।”
साउदीमा तीन वर्षसम्म बसेर फेरि पनि विदेश नै जाने सोच राखेर त्यहीँबाट ओमन गएको राईको भनाइ छ । “अहिले म ओमनबाट छुट्टीमा आएकी हुँ ।” उनले भनिन्, “मैले धेरै दुःख पाएकाले विदेश जान चाहने महिला साथीलाई विदेश जानुपूर्व सबै कुरा बुझेर मात्र जानु भनेर सुझाव दिइरहेकी छु ।”
घरकी जेठी छोरी भएकाले सबै गर्जो आफैँले टार्नुपर्ने हुँदा बाध्यतावस आफू विदेश गएको राईले बताइन्। घरमा वृद्ध आमाबुबा र छजना भाइबहिनीको हेरचाह आफू एक्लैले धान्नुपर्ने बाध्यता रहेको राईको भनाइ छ ।
जिल्लाका अधिकांश महिला विदेश जानुपूर्व सूचना तथा जानकारी नलिई जाने गरेको पाइएको बालसेवा समाज नेपाल, नेर्पा, खोटाङद्वारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सामीका सामाजिक परिचालक लीला निरौलाले बताइन्।
गत साउन १ देखि मङ्सिर १५ गतेसम्म जिल्लाका १२१ जना महिलाले मात्र सूचना केन्द्रमा आएर जानकारी लिएको केन्द्रका परामर्शदाता अम्बिका दाहालले जानकारी दिइन्।
पछिल्लो समय जिल्लामा वैदेशिक रोजगारीलाई सुरक्षित र भरपर्दो बनाउन सामीले गन्धर्व गीतियात्रा सञ्चालन गर्दै आएको छ । विदेश जाने महिला तथा पुरुषलाई जानुपूर्व पु¥याउनुपर्ने प्रक्रिया र विदेशमा गइसकेपछि अपनाउनुपर्ने सावधानीका बारेमा गन्धर्व मार्फत सन्देशमूलक गीत गाएर जानकारी दिने गरिएको हो । रासस
यो भिडियो हेर्नुहोस्
{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/Kz4Pw7sLiws” frameborder=”0″ allowfullscreen></iframe>{/source}