यसरी हुन्छ नेपाली महिलाको तस्करी 

 

काठमाडौ, पुष ४

कुवेतमा आकर्षक रोजगारी र तलवभत्ताको लोभ देखाएर नेपाली युवतीलाई बेचबिखन गर्दै आएका मानव ओसारपसारका गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । यो गिरोहले आर्थिक रुपमा विपन्न नेपाली युवतीहरुलाई निशाना बनाउँदै आर्थिक प्रलोभन बाँड्ने गरेको आरोप प्रहरीको छ ।

लागू औषध नियन्त्रण ब्यूरो (एनसीबी) ले नौ दिन लामो अनुसन्धानपछि तीन जनालाई पक्राउ गरेको हो । सुरुमा मंसिर २१ गते महाराजगञ्जबाट नवलपरासी दुम्कीवासका राजकुमार खरेललाई नियन्त्रणमा लिएपछि उनको बयानका आधारमा थप दुई जना ताप्लेजुङ फुलबारीका पुरन सुब्बा भन्ने पूर्णबहादुर लिम्बु र रुपन्देही साविक गंगोलियाका हरिप्रसाद थारुलाई मंसिर २९ गते रुपन्देहीको खैरेनीबाट नियन्त्रणमा लिईएको जानकारी सीआईबीले दिएको छ ।

यी मध्ये खरेलले युवतीहरुलाई विभिन्न प्रलोभनमा पारि काठमाडौंबाट सडकमार्ग हुँदै भारतीय सीमासम्म पुर्‍याउँदै आएका थिए भने लिम्बुले राहदानी लगायतका अन्य कागजात संकलन गर्ने र वसको टिकटको व्यवस्था गरि कुरियरमार्फत दिल्लीका गिरोहले पाउने गरि पठाउँदै आएका थिए । त्यसैगरी थारुले सुनौलीको वेलहिया नाका हुँदै नेपाली युवतीहरुलाई भारतको नयाँ दिल्लीसम्म पुर्याई भारतीय मानव तस्करलाई सुम्पने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

सीआईबीका प्रवक्ता एसपी मिरा चौधरीका अनुसार यो गिरोहले नेपाली युवतीहरुलाई नयाँ दिल्ली, श्रीलंका, दुवई हुँदै ओमानसम्म ओसारपसार गर्दै आएका थिए । पीडित युवतीले प्रहरीमा बयान दिए अनुसार उनीहरुलाई दिल्लीमा १५ दिन राखेर श्रीलंका पठाउने र श्रीलंकामा २५ दिन राखी कुवेत पठाउँदै आएका थिए ।

गिरोहले युवतीहरुलाई कुवेत पठाएपछि केही महिना राखेर पुनः श्रीलंकामा फिर्ता बोलाई २० दिन राखेर पछि दुवई हुँदै ओमानमा पठाउने गरेको जानकारी एसपी चौधरीले दिईन् । ‘ नेपाली युवतीलाई काठमाडौं देखि ओमानसम्म पुर्‍याउने क्रममा विभिन्न स्थानमा मानव तस्करहरुको संयन्त्र बनाई योजनाबद्ध ढंगले गन्तव्यसम्म पुर्‍याउने र युवतीहरुमाथि शारीरिक एवं मानसिक यातना र यौन हिंसा समेत गरेको अनुसन्धानबाट खुलेको छ, एसपी चौधरीले भनिन् ।

काठमाडौंबाटै दिल्लीहुँदै ओमान पुर्‍याईएकी एक युवतीले यौन हिंसाबाट पीडित भएपछि आफ्नी बहिनीलाई फोन गरेर जानकारी गराएपछि यो घटना सीआईबीसम्म पुगेको हो । ति युवतीलाई खरेलले नै नयाँ वसपार्क गोंगबुमा पुर्‍याएका थिए । युवती वस चढेर रुपन्देही पुगेपछि थारुले दिल्ली पुर्‍याई अर्को एजेन्टलाई सुम्पेका थिए ।

युवतीले सीआइबीमा उल्लेख गरे अनुसार उनलाई दिल्लीबाट श्रीलंका पुर्‍याईयो र अर्को एजेन्टमार्फत कुवेत पुर्‍याईएको थियो । कुवेतको अध्यागमनले कागजात नमिलेको भन्दै श्रीलंका फिर्ता पठाएपछि ति युवतीलाई १५ दिन श्रीलंकामा राखेर गिरोहले ओमान पठाएको थियो । ओमानमा शारीरिक एवं मानसिक यातना भोगेपछि युवतीले बहिनीलाई फोन गरेर जानकारी गराएकी थिईन् । पीडित युवती १५ दिन अगाडीमात्रै स्वदेश फर्केकी छिन् ।

श्रीलंकामा धेरै नेपाली युवतीहरुलाई राख्ने र त्यहाँबाट माग अनुसार घरेलु कामदारको रुपमा पठाउने गरेको पीडित युवतीले बयानमा खुलाएकी छिन् । युवतीले खरेल, थारु र लिम्बुको पहिचान गरि किटानी जाहेरी दिएकी छिन् । प्रहरी बयानमा थारुले बुटवलबाट दिल्ली पुर्‍याएबापत पाँच हजार नेपाली रुपैंया पाउँदै आएको बयान सीआइबीलाई दिएका छन् ।

खरेर र लिम्बुले भने पैसाका बारेमा नखुलाएको जानकारी एसपी चौधरीले दिईन् । सीआइबीको अनुसन्धान अनुसार खरेलकी दिदिले दुवईमा कन्सल्टेन्सी सञ्चालन गर्दै आएकी छिन् । सोही कन्सल्टेन्सीमार्फत नेपाली युवतीहरु नेपालबाट वैदेशिक रोजगारका नाममा कुवेत पठाउँदै आएको दावी सीआइबीको छ । ‘ धेरै कुराहरु अझै खुल्न बाँकी छ, काठमाडौंदेखि श्रीलंका हुँदै कुवेत र ओमान पुर्‍याउने गिरोह सक्रिय रहेको पाईयो, थप अनुसन्धान भईरहेको छ, एसपी चौधरीले भनिन् ।

अन्नपूर्ण पोष्टबाट 

यो पनि पढ्नुहोस् 

सुर्कने झोला बोकेर कतार कुद्नेहरु प्रति संवेदनशिलः मन्त्री गुरुङ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय