काठमाडौं, मंसीर १५
साउदी अरबको राजधानी रियादमा अलपत्र परी नेपाली दूतावासको आश्रयमा एक सातादेखि बस्दै आएका ५३ जना नेपाली कामदारले स्वदेश फिर्नका लागि एक्जिट भिसा पाएका छन् । उनीहरू बुधबारबाटै स्वदेश फिर्न थालेका छन् ।
क्याम्पमा पिउने पानीसमेत अभाव भएपछि उनीहरू गत मंगलबारदेखि दूतावासको प्रांगणमा आश्रय लिएर बस्दै आएका थिए । दूतावासले पुरुष कामदारको यति ठूलो समूहलाई आश्रय दिएर पठाउन लागेको पहिलो पटक हो ।
कम्पनीले अमानवीय व्यवहार गरेको भन्दै कार्यबाहक राजदूत शर्माले साउदीको श्रम उपमन्त्रीसमक्ष ध्यानकर्षण गर्दै कम्पनीसँग समन्वय गरी तत्काल एक्जिट भिसाको व्यवस्था गरिदिन अनुरोध गरेका थिए । ‘हामीले गरेको अथक प्रयासपछि कम्पनीले एक्जिट भिसा लगाइदिएर सबै कामदारका राहदानी हामीलाई उपलब्ध गराएको छ,’ साउदीका लागि कार्यबाहक राजदूत आनन्दराज शर्माले भने, ‘पीडितहरू अब स्वदेश फिर्न बाटो खुलेको छ ।’
दूतावासले अलपत्र भएका पीडित कामदारलाई तत्काल स्वदेश पठाउने वातावरण मिलाउन साउदी सरकारलाई अनुरोध गरेको थियो । ‘एक्जिट भिसा लागेपछि पीडित कामदार आफैंले टिकट जुटाएका छन्,’ उनले भने ।
पीडित कामदारहरू समूह–समूह मिलाएर बुधबारबाटै स्वदेश फिर्ने उनले बताए । साउदीको हिजाज गेट इन्टरनेसनल कम्पनीमा कार्यरत नेपाली कामदारले गत अगस्ट महिनादेखि तलब र काम नपाएर बिचल्लीमा परेका थिए । उनीहरूलाई कम्पनीले रियादको जदिद सनैयामा राखेका थिए ।
‘कम्पनीले ४ महिनादेखि तलब नदिनुको साथै खाना पनि उपलब्ध गराएन । हामी अरू साथीभाइसँग माग्दै गुजारा चलाउँदै आएका थियौं । दूतावासले एक सातासम्म आश्रय दिनुको साथै उद्धार गर्न खेलेको भूमिकाप्रति हामी खुसी छौं,’ नवलपरासीका घनश्याम पौडेलले भने, ‘दूतावासले हामीप्रति गरेको व्यवहार र सदाशयको खुलेर प्रशंसा गर्दछौं ।’
रियादस्थित नेपाली दूतावासमा पुरुष कामदार बस्ने सेल्टर छैन । दूतावासले उनीहरूलाई आफ्नो परिसरभित्रको प्रांगणमा राखेर व्यवस्थापन गरेको हो । ‘पीडित कामदारलाई दूतावासभित्र बस्न पाउनु नै हाम्रो लागि ठूलो कुरा थियो,’ उनले भने, ‘हामीले विदेशमा टाउको लुकाउने घर पायौं ।’
उनीहरू एक वर्षअघि क्षितिज इम्प्लोइमेन्ट सर्भिसलाई एक लाख ३० हजार रुपैयाँसम्म बुझाएर साउदी पुगेका थिए । ‘सम्झौताअनुसार सेवा सुबिधा नपाए पनि काम गर्दै आएको गत अगस्ट ४ गते कम्पनी मालिकले काम रोक्न भने । त्यसपछि काममा फर्किन जान पाएको छैन’, पौडेलले भने, ‘काम दिन नसकेपछि हामीलाई नेपाल पठाइदिएको भए हुन्थ्यो । यस्तो बिजोग त हुनुपर्ने थिएन ।’
अर्का पीडित महेन्द्रनगरका चन्द्र थापाले नेपाली समुदायबाट खाना र कम्बल वितरण गरेर सहयोग गरेको प्रति धन्यवाद दिए । साउदी अरबको राजधानी रियादस्थित नेपाली दूतावासको प्रांगणमा आश्रय लिई बसेका ५३ जना नेपाली कामदार नेपाल फिर्न पाएको राहदानी देखाउँदै ।
कान्तिपुरबाट
युएईमा अलपत्र नेपाली भिडियो हेर्नुहोस्
{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/PRS-lAKNXEU” frameborder=”0″ allowfullscreen></iframe>{/source}