श्रमिकका छोराछोरीलाई छात्रबृत्ति, उत्कृष्ट यूनियनलाई पुरस्कार

काठमाडौं-
नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर यूनियन(नेस्वहोमयू) को ३६ औं स्थापना दिवस भव्य कार्यक्रमका साथ मनाइएको छ । ३६ औं स्थापना दिवसका अवशरमा केक काटिएको थियो भनें उत्कृष्ट तथा सर्वोत्कृष्ट यूनियनहरुलाई पुरस्कार तथा माधव न्यौपाने स्मृति छात्रबृत्ति समेत प्रदान गरियो ।

नेस्वहोमयूले आफ्ना सदस्य प्रतिष्ठानहरु मध्ये यस बर्षको सर्वोत्कृष्ट ट्रेड यूनियन पुरस्कार केयर एण्ड डाउनी दाङसिङ, पोखरालाई प्रदान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि रहेका नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) अध्यक्ष विष्णु रिमालले सो प्रतिष्ठानका अध्यक्ष रामकुमार राईलाई प्रशंसापत्र प्रदान गरे ।

यसैगरी नेस्वहोमयूले यस बर्ष थप ९ वटा प्रतिष्ठानहरुलाई उत्कृष्ट ट्रेड यूनियनका रुपमा पुरस्कृत ग¥यो । यसरी पुरस्कृत हुनेहरुमा दि बेकरी क्याफे, होटल हिमालय, होटल अन्नपूर्ण, गोकर्ण जंगल रिसोर्ट, गोकर्ण गल्फ क्याडी, होटल सोल्टी क्राउन प्लाजा, क्यासिनो रोयल, क्यासिनो माजोङ तथा क्यासिनो ¥याड रहेका छन् । ति प्रतिष्ठानहरुका अध्यक्षलाई कार्यक्रमका प्रमुख अतिथि रिमालले प्रशंसापत्र प्रदान गरे ।

यसैगरी सो अवशरमा गतबर्षको एसएलसीमा उत्कृष्ट अंक प्राप्त गर्ने सदस्यका छोराछोरीलाई पनि नगद पुरस्कार सहित माधव न्यौपाने स्मृति छात्रबृत्तिबाट सम्मान गरिएको थियो । यसबर्ष होटल साँग्रीलामा कार्यरत नैरुप तामाङ तथा माया तामाङकी छोरी रेश्मी तामाङ र गोकर्ण फरेष्ट रिसोर्टमा कार्यरत बच्चुराम पाण्डे तथा मेनुका पाण्डेकी छोरी महिमा पाण्डेले समान ६.५ जिपिए प्राप्त गरेर छात्रबृत्ति प्राप्त गरे । यसैगरी छात्रतर्फ होटल सोल्टी क्राउन प्लाजमा कार्यरत दिनेश खड्का तथा सुनादेवी खड्काका छोरा सन्देश खड्काले ३.७ जिपिए प्राप्त गरी छात्रबृत्ति प्राप्त गरेका छन् । उनीहरुलाई पनि सोही अवशरमा नगद पुरस्कार सहित प्रशंसापत्र प्रदान गरिएको छ ।

कार्यक्रममा नाथुमका संयोजक सूर्यकिरण श्रेष्ठ, नेस्वहोमयूका अध्यक्ष सूर्यबहादुर कुँवर तथा सदस्य रञ्जु थापालाई पनि सम्मान गरिएको थियो । श्रेष्ठले नेस्वहोमयूले सञ्चालन गरेको तालिम कार्यक्रममा प्रशिक्षकका रुपमा सहयोग गरेका थिए भनें श्रेष्ठ हालै सम्पन्न भएको आइयुएफको एसिया प्यासिफिक क्षेत्रीय कमिटीमा निर्वाचित भएका छन् । यसैगरी रञ्जु थापा सोही कमिटीको युवा कमिटी सदस्यमा चयन भएकी छन् । उनीहरुको सफल कार्यकालको कामना सहित जिफन्ट अध्यक्ष रिमालले सम्मान गरे ।

सो अवशरमा बोल्दै जिफन्ट अध्यक्ष रिमालले १० प्रतिशत सेवा शुल्क केवल श्रमिकले मात्र पाउने वातावरण अझै नबनेको भन्दै श्रमिकको रकम अरुले नै खाइरहेको हुँदा त्यसमा लगाम लगाउन आवश्यक रहेको धारणा राखे । उनले तीन दशक लामो आन्दोलन पश्चात लागु भएको सेवा शुल्क पूर्ण रुपमा श्रमिकले मात्र पाउने वातावरण बनाउन अन्य ट्रेड यूनियनहरुसँग पनि हातेमालो गरेर एक भएर अगाडी बढ्न सुझाव दिए । उनले सेवा शुल्क लागु गराउन नेस्वहोमयूका अग्रज नेताहरुले ठूलो मूल्य चुकाएको भन्दै त्यसको स्मरण पनि गरे ।

अध्यक्ष रिमालले जिफन्टले होटल क्षेत्रमा धेरैले सफल हुनछ भनेर कल्पना नगरेको १० प्रतिशत सेवा शुल्क लागु गराएको भन्दै पछि त्यसको जस लिन अन्य यूनियनहरु दौडिएको बताए । यसले केहि फरक नपार्ने भन्दै उहाँले मुख्य कुरा श्रमिकले लाभ पाउनु नै उपलव्धी भएको धारणा राखे । होटलको क्षेत्रमा सेवा शुल्क लागु गराउन होस् वा बैदेशिक रोजगारमा रहेका श्रमिकलाई संगठित गर्न र स्वास्य क्षेत्रमा जिफन्टले गरेका काम नमुनाका रुपमा भएको भन्दै अन्य देशका ट्रेड यूनियनहरुले पनि यहि नमुनालाई अपनाएको अध्यक्ष रिमालले बताए ।

सो अवशरमा बोल्दै नेस्वहोमयूका अध्यक्ष सूर्यबहादुर कुँवरले अग्रजहरुको त्याग, तपस्या र योगदानका कारण अहिलेको अवस्था आएको भन्दै त्यसलाई स्मरण गरे । कुँवरले जिफन्टले अव प्रदेश कमिटी मार्फत ३ महिने अभियान सञ्चालन गर्ने तयारी गरिरहेको भन्दै सवै प्रतिष्ठानहरुमा आफूहरु पुग्ने जानकारी गराए । उनले राजनीतिक परिवर्तन भएपनि कतिपय रोजगारदाताहरुले अझै पनि श्रमिकलाई १६ शताव्दीमा दासलाई गरिने व्यवहार नै श्रमिकलाई गर्न खोज्ने गरेको भन्दै त्यसलाई सच्याउन चेतावनी दिए । उनले रोजगारदाताहरु मात्र नभई कतिपय ट्रेड यूनियनहरुले पनि सिंगो आन्दोलनलाई बदनाम गराउने काम गरेको बताए । रोजगारदातालाई धम्क्याएर काम नगरी खाने प्रवृत्तिको आफ्नो यूनियनले सदैव विरोध गर्ने भन्दै आफ्नो काममा ईमान्दार भएर लाग्न र आफ्ना हकअधिकार प्राप्तीमा पछि नहट्न उहाँले सवैलाई आग्रह गरे । कार्यक्रममा नेस्वहोमयूकी उपाध्यक्ष ईन्दिरा लामाले स्वागत गर्दै १० प्रतिशत सेवा शुल्क लागु भएपनि त्यो अझै सवै ठाउँमा प्रभावकारी रुपमा कार्यान्वयनमा नआएको गुनासो गरिन् ।

प्रचण्ड खलाँसी नै हुन्
सो अवशरमा बोल्दै नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) का अध्यक्ष विष्णु रिमालले प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्ड वास्तमै खलाँसी मात्र भएको बताएका छन् । प्रचण्डको सरकारका चालक अन्तै भएको भन्दै उनले प्रचण्ड केवल ढोका ढ्याक ढ्याक गर्ने खलाँसी मात्र भएको तर्क गरे ।

उनले सरकारले अहिले संविधान संशोधनको बेमौषमी बाजा बजाईरहेको भन्दै स्वयं संशोधनको रटान लगाइरहेका मधेसवादी दलहरुले समेत त्यसलाई अस्वीकार गर्ने बताइरहेका बेला आएको प्रस्तावको औचित्य नभएको बताए ।
रिमालले वर्तमान सरकारले संविधान कार्यान्वयन गर्ने भन्दा पनि यसलाई लथालिंग बनाउने काम गरेको भन्दै यहि गतिमा सरकार चलाउने र आगामी २०७४ माघ महिना भित्रमा चुनाव नगरेर देशलाई अर्को अप्ठ्यारो अवस्थामा पुर्याउने चलखेल भइरहेको भन्दै यसका विरुद्धमा दह्रो खवरदारी आवश्यक रहेको धारणा राखे ।

उनले प्रदेशको सीमाङ्कनको विषयमा गम्भीर षडयन्त्रका साथ प्रयत्न भइरहेको भन्दै यसले मुलुकको अखण्डतामा आँच पुर्याउने खतरा रहेको बताए । तराई र पहाडलाई छुट्याएर नेपाललाई दुई संघहरुको महासंघ हो भन्ने कुतर्कलाई पुष्टि गर्ने प्रयास भइरहेको भन्दै नेकपा एमाले अन्तिम समयसम्म पनि यसको विपक्षमा लडिरहने उनले स्पष्ट पारे ।

नागरिकताको सन्दर्भमा बोल्दै अध्यक्ष रिमालले भारतबाट विवाह गरेर ल्याइने बुहारीलाई भोलिपल्टै नेपालको नागरिकता दिइएपनि नेपाली महिलाले विवाह गरेर भारत गएपछि नागरिकता प्राप्त गर्न ७ बर्ष पर्खिनुपर्ने तथ्य अगाडी सारे । उनले अंगिकृतलाई राज्यका उच्च पदहरुमा पुग्न रोक्ने विषयले कतिपयलाई पोलेको भन्दै नेकपा एमाले नेपालका रैथाने मधेसीको पक्षधर भएको बताए ।
फरक प्रसँगको भिडियो हेर्नुहोस्
{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/chjbEXoC18M” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय