साउदी पठाउन सतर्क हुँदै सरकार

काठमाडौं – नेपाली कामदारका लागि प्रमुख गन्तव्य मानिएको साउदी अरबको निर्माण क्षेत्र र सप्लाई कम्पनीमा सरकारले कामदार पठाउने कार्य स्थगन गर्ने तयारी गरेको छ । साउदीमा काम र तलब नपाउने कामदारमा वृद्धि हुन थालेपछि श्रम तथा रोजगार मन्त्रालयले नेपाली दूतावासको सिफारिसमा श्रम स्वीकृतिमा कडाई गर्न लागेको हो । नेपाली दूतावासका अनुसार साउदीका ५० कम्पनीमा एक हजारभन्दा बढी कामदार बिचल्लीमा परेका छन् ।

‘साउदी जान प्रतिबन्ध गरिहाल्न मिल्दैन,’ श्रम मन्त्रालयका उच्च अधिकारीले भने, ‘गन्तव्य मुलुक जोगाउन र बिचल्ली पर्ने कामदारको अवस्थाबाट नियन्त्रण गर्न नेपाली दूतावासले दिएको सुझावअनुसार श्रम स्वीकृति दिने नीति अख्तियार गर्न लागिएको हो ।’

दूतावासले थप नेपालीलाई समस्यामा पर्नबाट जोगाउन सप्लाई कम्पनी र निर्माण क्षेत्रसँग सम्बन्धित काममा श्रमिकहरू पठाउन हाललाई स्थगित गर्न अनुरोध गरेको थियो । उसले कामदार पठाउनै परेमा कम्पनीको वित्तीय एवं कारोबारको अवस्था, विश्वसनीयता, कानुनी मान्यता बुझेर मात्रै श्रम स्वीकृति दिन, सप्लाई कम्पनीमा कामदार नपठाउन, दूतावासले प्रमाणीकरण गरेको मागपत्रअनुसार मात्रै श्रम स्वीकृति दिन र साउदीमा कामदार बिचल्ली पर्ने म्यानपावरलाई श्रम स्वीकृति नदिनका लागि परराष्ट्र र श्रम मन्त्रालयलाई सुझाव दिएको छ ।

श्रम मन्त्रालयले मन्त्रीस्तरको निर्णय गरेर कार्यान्वयनका लागि वैदेशिक रोजगार विभागलाई निर्देशन दिने तयारी गरेको छ । ‘श्रममन्त्री र सचिव दुवैजना बाहिर जाँदै हुनुहुन्छ । त्योभन्दा अघि नै निर्णय लिने तयारी भएको छ,’ ती अधिकारीले भने, ‘नागरिकको हित नै प्रमुख विषय हो ।’  

साउदीमा काम र तलब नपाएका कामदारहरू खानासमेत नपाएर कठिन अवस्थामा पुगेका छन् । ‘लाखौं तिरेर आएका कामदारहरू यहाँ आएकै हप्ता दिनदेखि खानासमेत नपाएका भनेर उजुरी दिन आइपुग्छन्,’ श्रम काउन्सेलर अम्बिकाप्रसाद अधिकारीले भने, ‘कामदारका अवस्थाहरू दिन प्रतिदिन दयनीय हुँदै गइरहेको छ ।’

अधिकारीले अलपत्र परेका कामदारलाई उद्धार गर्नका लागि कम्पनी र म्यानपावर दुवै जना संवेदनशील नभएको बताए । ‘१३ महिनादेखि तलब पाएको छैन । हामी खानाका लागि मात्रै काम गरिरहेका छौं,’ कर्णाली म्यानपावरबाट पुगेका बर्दियाका राजेश चौधरीले कान्तिपुरलाई भने, ‘हामी यहाँबाट घर फिर्न चाहन्छौं । कम्पनीले पठाइरहेको छैन ।’

हाँडीखोला, मकवानपुरका सुरेश वाइबाले ६ महिनादेखि तलब नपाएर बसेको बताए । ‘हामी २० जना छौं । चन्द्रमा ओभरसिजबाट आइपुगेको हो,’ उनले भने, ‘अहिले हामीले काम गर्न पाइरहेका छैनौं ।’ दूतावासले साउदी आउने कामदारलाई जागरुक हुनुपर्ने बताए । ‘म्यानपावरले फाइदाका लागि पठाइहाल्छ । नयाँ आउनेले आफू कस्तो कम्पनीमा जाँदैछु भनेर सचेत हुन जरुरी छ,’ उनले भने । 
कान्तिपुरबाट
यो पनि पढ्नुहोस्

१६ दिन पछि लागु हुने कतारको नयाँ कानूनका हल्ला र वास्तविकता

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय