![ज्यान बचाउन दुतावासमा शरण](https://deshparadesh.com/wp-content/uploads/2016/11/SAUDI.jpg)
काठमाडौं- क्याम्पमा पिउने पानी समेत अभाव भएपछि ४८ जना नेपाली कामदार जीवन बचाउन साउदीस्थित नेपाली दूतावासको प्रांगणमा आएर मंगलबार देखि बसेका छन् । साउदीको हिजाज गेट इन्टरनेशनल कम्पनीमा कार्यरत नेपाली कामदारले गत अगस्ट महिनादेखि तलब र काम नपाएर बिचल्लीमा परेका थिए । उनीहरुलाई कम्पनीले रियादको जदिद सनैयामा राखेको थियो ।
‘कम्पनीले ४ महिनादेखि तलब नदिनुको साथै खाना पनि उपलब्ध गराएन । हामी अरु साथीभाइसँग माग्दै गुजरा चलाउँदै आएका थियौं,’ नवलपरासीका घनश्याम पौडेलले भने, ‘क्याम्ममा पानी छैन । बिजुली छैन । सरसफाई नभएर दुर्गन्ध फैलिएपछि जीवन जोगाउन दूतावासमा आएका हौं ।’
रियादस्थित नेपाली दूतावासमा बस्ने सेल्टर छैन । दूतावासले उनीहरुलाई आफ्नो परिसरभित्रको प्रांगणमा राखेको छ । ‘पीडित कामदारलाई दूतावासभित्रै राख्न हामीलाई निकै कठिन परिरहेको छ,’ साउदीका लागि कार्यवाहक राजदूत आनन्दप्रसाद शर्माले भने, ‘खाना दिइरहेका छौं ।’
उनीहरु एक वर्षअघि क्षितिज इम्प्लोइमेन्ट सर्भिसलाई एक लाख ३० हजार रुपैयाँसम्म बुझाएर साउदी पुगेका थिए । ‘सम्झौता अनुसार सेवा सुविधा नपाए पनि काम गर्दै आएको गत अगस्ट ४ गते कम्पनी मालिकले काम रोक्न भने । त्यसपछि काममा फर्केर जान पाएको छैन,’ पौडेलले भने, ‘काम दिन नसकेपछि हामीलाई नेपाल पठाइदिएको भए हुन्थ्यो । यस्तो विजोग त हुनुपर्ने थिएन ।’
दूतावासले पीडितलाई तुरुन्तै उद्धार गर्नको लागि म्यानपावर, कम्पनी र साउदी सरकारसँग समन्वय गरिरहेको जनाएको छ । ‘पीडितलाई स्वदेश पठाउनको लागि एक्जिट दिलाइदिन साउदीको श्रम मन्त्रालयलाई अनुरोध गरेका छौं,’ शर्माले भने, ‘कम्पनीसँग पनि कुरा भइरहेको छ ।’
पीडितहरुले आफूहरुलाई यथासक्य चाँडो उद्धार गर्नको लागि अपिल गरेका छन् । दुई हप्ताअघि पीडित कामदार आफ्ना बन्दोबस्तीको सामान सहित दूतावास पुगेका थिए । त्यतिखेर कम्पनीले ११ दिनभित्र नेपाल पठाइदिने बताएपछि क्याम्पमा फर्केका थिए । ‘पिउने पानी नै नभएपछि पुनः दूतावास आउनु पर्यो,’ महेन्द्रनगरका भुपेन्द्र चन्दले भने ।
दूतावासका अनुसार पीडितलाई उद्धार गर्न म्यानपावरले सहयोगी भुमिका निर्वाह नगरेको जनाएको छ । म्यानपावरका सञ्चालकले स्वदेश पठाउने भन्दा पनि त्यतै व्यवस्थापन गर्न कम्पनीलाई दबाब दिइरहेको बुझिएको दूतावासले जनाएको छ । पीडितलाई जनसम्पर्क समिति, साउदीले मंगलबार खाने व्यवस्था गरेको थियो ।
कान्तिपुरबाट
फरक प्रसँगको भिडियो हेर्नुहोस्
{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/chjbEXoC18M” frameborder=”0″ allowfullscreen></iframe>{/source}