खाडीमा कार्यरत नेपालीलाई बेवास्ता गर्यो सरकारले, राजदुत नियुक्तिमा उदासिनता  

काठमाडौं- ठूलो संख्यामा नेपाली कामदार कार्यरत खाडी क्षेत्रका मुलुकहरूमा लामो समयदेखि नेपाली राजदूत नियुक्त नहुँदा नेपाली दूतावासमा समस्याको चाङ लागेको छ । राजदूत नियुक्तिमा भएको ढिलाइका कारण खाडीका कतिपय मुलुकले नेपाल सरकारले आफूसँगको सम्बन्धलाई बेवास्ता गरेको भन्दै कूटनीतिक व्यंग्यसमेत गर्न थालेका छन् ।

नेपालीहरू रोजगारीमा रहेका कतार, साउदी अरेबिया, ओमान, बहराइन, युनाइटेड अरब इमिरेट्समा अहिले राजदूत छैनन् । परराष्ट्रमन्त्री प्रकाशशरण महतले रिक्त रहेको ठाउँमा राजदूत नियुक्ति गर्न प्रारम्भिक छलफल सुरु भएको बताए पनि त्यसअनुरूप गृहकार्य सरकारले गरेको देखिँदैन । सत्ता गठबन्धन दलहरूबीच यस विषयमा छलफल हुन नसकेकाले तत्काल राजदूत नियुक्ति टरेको बताइएको छ । 

यसअघि कांग्रेस र माओवादीबीच राजदूत भागबन्डा हुने भनिए पनि अब राप्रपाले पनि भाग खोज्ने भएको छ । यसअघि पनि भागबन्डा नमिल्दा राजदूत पद खाली राखिएको थियो । परराष्ट्रमन्त्री महत एकपछि अर्को विदेश भ्रमणमा व्यस्त भएकाले पनि यस विषयले महत्त्व नपाएको हो । उनी अहिले राजदूत नियुक्ति गर्न नसकेको मुलुक अस्ट्रेलिया भ्रमणमा निस्केका छन् । 

कतारको नेपाली दूतावास २०७० असोजदेखि राजदूतविहीन छ । तत्कालीन राजदूत मायाकुमारी शर्मा विवादमा परेर बर्खास्त भएपछिका तीन सरकारले त्यहाँ राजदूत पठाउन सकेनन् । त्यस्तै साउदी अरेबियामा डेढ वर्षदेखि राजदूत छैनन् । यो दूतावासमा अहिले समस्याको चाङ लागेको छ । यूएईको हालत पनि उस्तै छ । गतवर्ष राजदूत स्तर बनाइएको ओमान र बहराइनमा पनि थुप्रिएका समस्या केलाउनमा व्यस्त छन् नवप्रवेशी कूटनीतिज्ञ । कतिपय मुलुकमा भर्खर कूटनीतिक सेवा प्रवेश गरेका अधिकृतले नेतृत्व गरिरहेका छन् । 

राजदूत नजिकैको सार्क राष्ट्रमा पनि खाली छन् । २०७१ मंसिरदेखि श्रीलंका पनि राजदूतविहीन छ । यस्तै, बंगलादेशमा पनि राजदूत नियुक्ति हुन सकेको छैन । अघिल्लो सरकारले सबै स्थानमा राजदूत सिफारिस गरेको भए पनि सरकार परिवर्तनलगत्तै राजनीतिक कोटाबाट पारिएकाहरूको नाम फिर्ता लिँदै परराष्ट्रका कर्मचारीलाई मात्र आठ स्थानमा राजदूत नियुक्ति गरिएको थियो । उक्त नियुक्तिको प्रक्रिया अझै विवादमा छ । एउटै मन्त्रिपरिषदबाट सिफारिस भएकामध्ये १२ जनाको स्थगन हुने र आठ जनाले नियुक्ति पाउने विषयमा परराष्ट्र अधिकारीहरू नै सन्तुष्ट देखिँदैनन् । 

पछिल्लो समय सरकारले छिमेकलाई प्राथमिकता भन्दै भारत र चीनका लागि राजनीतिक भागबन्डाका आधारमा राजदूत नियुक्ति गरेको छ । तर, खाडीसहित १२ मुलुकमा सरकारले राजदूत नियुक्त गर्न सकेको छैन । यी स्थानमा राजदूत बन्न लालयितहरूले राजनीतिक शक्ति केन्द्रहरूमा लबिङ गरिरहेका भए पनि सरकार आफैंले भने कुनै गृहकार्य गरेको छैन । राजदूत नहुँदा दुईपक्षीय सम्बन्ध सञ्चालन प्रभावित भएकाले यसमा सरकारको ध्यान जान आवश्यक रहेको भन्दै विदेशमा रहेका नेपालीले लबिङ गरिरहेका छन् ।

ठूलो संख्यामा नेपाली कामदारहरू रहेका मुलुकको दूतावास तीन वर्षदेखि राजदूतविहीन हुनु दुःखद रहेको परराष्ट्र अधिकारी बताउँछन् । ‘सुधारका लागि धेरै कुरा गर्नुपर्दैन, भएका मिसनलाई बिना स्वार्थ राम्रोसँग सञ्चालन गर्न सके पुग्छ,’ एक अधिकारीले बताए । परराष्ट्रमन्त्री प्रकाशशरण महत भने राजदूत नियुक्त गर्न आफूले काम थालेको दाबी गर्छन् । 

‘दुई पक्षीय तथा अन्य कामले व्यस्त बनायो । त्यसले ढिलाइ भएको हो । अब गर्ने हो । छलफल गरेर त्यसको निर्णयमा पुग्छु,’ उनले भने, ‘खाडी लगायत मुलुकमा काम गर्न पनि असहज रहेकाले राजदूत नियुक्ति आवश्यक छ ।’ 

हाल साउदी अरब, कतार, यूएई, ओमन, बहराइन, इजरायल, दक्षिण कोरिया, अस्ट्रेलिया, डेनमार्क, श्रीलंका, जापान, बंगलादेश, म्यानमार गरी १२ देशमा राजदूत छैनन् । रिक्त रहेका सबै देशमा करिअरबाहिरबाट राजदूत नियुक्ति गर्ने सत्ता गठबन्धनको तयारी रहेकाले पनि परराष्ट्रका कर्मचारीहरूले यसमा खासै हतारो नदेखाएको परराष्ट्रकै एक कर्मचारीले बताए । 

‘आफूहरू नियुक्त हुने अवस्थामा कर्मचारीले दबाब दिन्छन्, आफू नहुने भएपछि वास्ता गरेका छैनन्,’ उनले भने । अघिल्लो सरकारले बेल्जियम, बेलायत, इजिप्ट, ब्राजिल, रुस, जर्मनी, अस्ट्रिया (भियनामा नयाँ मिसन स्थापना) र पाकिस्तानका लागि कर्मचारीबाट राजदूत नियुक्तिको सिफारिस गरेको थियो । पुष्पकमल दाहाल सरकारले भारत र चीनका लागि राजदूत नियुक्त गरेको हो । 

कान्तिपुरबाट 

फरक प्रसँगको भिडियो हेर्नुहोस् 

{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/NeECQeRWoys” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय