पहिले दोहा र दुवईको जागिर, अहिले नेपालमै १२ जनालाई रोजगारी

आनन्द पोखरेल, मंसिर १
काम गर्ने ईच्छा शक्ति भयो भने कामदारबाट उद्यमी बन्न सकिन्छ भनेर देखाएका छन् नवलपरासीका युवा पुण्यराज दाहालले । करिब आठ वर्ष अगाडि वैदेशिक रोजगारका लागि दुबई पुगेका दाहाल अहिले नेपालमा नै स्वरोजगार हुँदै १२ जना कर्मचारीलाई समेत रोजगारी दिन सफल भएका छन् ।

दाहालले विक्रम सम्बत् २०६५ सालदेखि दुबई र कतार गएर विदेशमा पसिना बगाए । विभिन्न संस्थाहरुबाट कुक सम्बन्धी तालिम लिएर दक्ष बनेर वैदेशिक रोजगारमा पुगेका उनले विदेशी भूमिमा करिब ६ वर्ष श्रम खर्चिए । सुरुमा २५ हजार रुपैयाँ तलबमा दुवई गएका दाहालको पछिल्लो समय ६० हजार रुपैयाँ तलब हुँदा विदेश छोडेर केही गर्ने सोचका साथ नेपाल फर्किए । कतारको ‘इन्टर कन्टिनेन्टल होटल’देखि दुबईको ‘द एड्रेस डाउन टाउन होटल’मा सेफ डिपार्टीको काम गरेका दाहाल विक्रम सम्वत् २०७१ मा वैदेशिक रोजगारबाट आफ्नै देशमा केही गर्ने सोच बनाएर स्वदेश फर्किएको बताउँछन् ।

नेपालको व्यवसायिक वातावरण बुझ्नको लागि दाहालले नवलपरासी, चितवन, काठमाडौँलगायत देशका विभिन्न ठाउँमा एक वर्ष बिताए । धेरै ठाउँ डुलेर दाहालले अन्ततः २०७२ सालको सुरुमा भरतपुरको चौबिस कोठीमा ‘डब्लु रेन्ज तन्दुरी रेष्टुरेन्ट एण्ड बार’ खोलेर अहिले त्यहाँ १२ जनालाई रोजगारी पनि दिएका छन् । रेष्टुरेन्टमा आउने ग्रहाकलाई सन्तुष्ट बनाएर पठाउनु आफ्नो पहिलो धर्म भएको बताउने दाहालले वैदेशिक रोजगारीमा भन्दा नेपालमा स्वरोजगार बन्दा आत्मसन्तुष्टि प्राप्त गरेको बताउँछन् । ‘विदेशमा बसेर काम गर्दा र यहाँ बस्दा धेरै भिन्नता पाएँ’ दाहालले भने, –‘उता बसेर काम गर्दा पैसा त राम्रै कमाइएको थियो तर यहाँ बस्ने सन्तुष्टि विदेशमा नपाउने हुँदा अहिले नेपालमा नै बस्दा खुशी छु ।’

नेपालमा बसेर व्यवसाय सञ्चालन गरेर १२/१३ जना कर्मचारीलाई रोजगारी दिन पाउँदा आफूलाई खुशी लागेको दाहालले बताए । ‘विदेशमा रहँदा घर–परिवार, साथीभाइ, इष्टमित्र जुन सम्बन्धबाट टाढिएर बस्नुपर्ने हुन्थ्यो’ दाहालले भने, –‘यहाँ चाहिँ नेपालमा नै भएको भएर सम्बन्ध अझै बढी बिस्तार हुने हुँदा पनि नेपालमा बसेर काम गर्नुको आनन्द विदेशमा नहुने रहेछ ।’

आफूले व्यवसाय सुरु गर्दा आफ्नै लगानी गरेको भएपनि पछि व्यवसाय विस्तार गर्दा भने बैंकबाट ऋण लिएको दाहाल बताउँछन् । इण्डियन, चाइनिज, कन्टिनेन्टल तथा नेपाली खाना समेत उपलब्ध हुने उक्त रेष्टुरेन्टमा ग्राहकको माग बढी हुँदा दाहाल आफैं कुक भएर खाना बनाउने गर्दछन् । नेपालमा बसेर स्वरोजगार बन्दा राम्रै आम्दानी भएपनि यहाँको राजनीतिक अस्थिरताका कारण व्यवसाय गर्ने वातावरण नभएको दाहालको भोगाई छ । विदेशमा कहिल्यै बन्द, हड्ताल जस्ता गतिविधि नहुने गरेको भन्दै दाहालले नेपालका व्यवसायीहरुलाई बन्द हड्ताल जस्ता गतिविधिले आक्रान्त पारेको गुनासो गरे ।

नेपालका श्रमिक विदेश पठाएर देशको विकास नहुने दाहालको बुझाई छ । स्नातकसम्मको अध्ययन गरेका दाहालले युवालाई स्वदेशमा नै राख्नको लागि सरकारको विशेष नीति आवश्यक भएको बताए ।  ‘व्यवसायी बन्न ईच्छुक युवालाई सरकारले सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउँदै शैक्षिक योग्यता अनुसारको सीप सिकाउने व्यवस्था समेत गर्नुपर्छ’ दाहालले भने, –‘प्रत्येक विद्यालय तथा कलेजले प्राविधिक शिक्षा पढाउने व्यवस्था गरेर युवाको सीप र जाँगरलाई नेपालमा नै सदुपयोग गर्दै देशको उन्नती गर्नुपर्छ ।’ 

फरक प्रसँगको भिडियो हेर्नुहोस्

{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/DKt-MMjkQ_Y” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय