काठमाडौं, कात्तिक २९
साइप्रसको निकोसियास्थित सोसल सेन्टरमा ८ नेपाली युवती शरण लिएर बसिरहेका छन् । उनीहरू अत्यधिक श्रम शोषण भएपछि भागेर सेल्टरको शरणमा पुगेका हुन् । इजरायलबाट साइप्रसमा कन्सुलर सेवा दिन पुगेका दूतावासका प्रथम सचिव हरिहरकान्त पौडेल तथा सहचारी भोजकुमार भट्टराईका सामु पीडित युवतीहरूले म्यानपावरले आफूहरूलाई झुक्याएर फसाएको बताएका छन् ।
वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर म्यानपावरले युरोप पठाउने भन्दै शिक्षित युवतीलाई घरेलु कामदारका रूपमा पठाउने गरेको छ । युरोपियन देश भनेर युवतीहरूसँग ५ लाख रुपैयाँसम्म लिने गरिएको छ । ‘हामीलाई नेपाली एजेन्टहरूले नराम्रोसँग ठगेका छन् । विभिन्न प्रलोभन देखाएर युरोपियन कार्ड पाउनुका साथै राम्रो तलब पाउँछन् भनेर साइप्रस पठाएको हो । हामीसँग ५ लाख रुपैयाँसम्म असुल गरे,’ तीन वर्षदेखि साइप्रसमा काम गर्दै आएकी सानुमाया तामाङले भनिन्, ‘तर यहाँ आएपछि अनगिन्ती समस्याहरू भोगिरहेका छौं ।’
भोजपुरकी निर्मला राईका अनुसार लागत खर्चको तुलनामा मासिक आम्दानी निकै कम छ । ‘सरदर मासिक ३ सय युरो छ । दैनिक कार्य अवधि निश्चित छैन । एकजना मालिकले उसका अरू परिवारका सदस्यको घरमा लगेर काम लगाउँछ । ओभरटाइम दिँदैन,’ उनले भनिन् । उनीहरूलाई घर फिर्नका लागि एजेन्टलाई ३ सय युरो बुझाउनुपर्ने भनिएको छ । ‘घर फर्कंदा टिकट पनि आफैंले लिनुपर्छ,’ सानुमायाले भनिन्, ‘एजेन्टलाई फोन गर्दा हामीलाई थाहा छैन भनेर गाली गर्छन् ।’
‘५ सय ३० युरो तलब पाइन्छ भनिएको थियो । साइप्रस आएपछि ३ सय ३१ पायौं । बढ्नुको सट्टा घटेर अहिले ३ सय ९ युरो पाउन थालिएको छ,’ लक्ष्मी अधिकारीले भनिन् । कम आम्दानी भएका उनीहरूसँग सामाजिक सुरक्षाबापत मासिक ८१ युरो लिने गरिएको छ । साइप्रसस्थित गैरआवासीय नेपाली संघका अध्यक्ष सुवास मल्ल बडालले दैनिकजसो घरेलु कामदारको समस्या बढ्न थालेको बताए ।
‘सन् २०१२ यता ५ हजारभन्दा बढी घरेलु कामदारका रूपमा युवतीहरू आएको अनुमान छ । समस्या बढेपछि यसलाई व्यवस्थित गर्न हामीले सरकारको ध्यानाकर्षण जनाएको हौं,’ उनले भने, ‘नेपाल सरकारले व्यवस्थित गर्न सके निकै कम शुल्क तिरेर आउन पाउने थिए ।’
सरकारले घरेलु कामदारमा जानेसँग शुल्क लिन नपाइने व्यवस्था गरेको छ । तर, साइप्रस जाने महिलाको हकमा यो व्यवस्था लागू हुन सकेको छैन । ‘साइप्रस जानेको हकमा घरेलु कामदार निर्देशिका लागू गरेको छैन । कम्पनीसरह नै हेरिएको रहेछ,’ वैदेशिक रोजगार कार्यालयका प्रमुख कृष्णप्रसाद दवाडीले भने ।
कान्तिपुरबाट
यो भिडियो हेर्नुहोस्
{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/DKt-MMjkQ_Y” frameborder=”0″ allowfullscreen></iframe>{/source}