धनकुटा, कात्तिक २४
सात वर्षसम्म कतारस्थित निर्माण कम्पनीमा काम गरेर स्वदेश फर्किएपछि धनकुटाको परेवादिनस्थित नाम्जाङका भरत गुरुङले विदेश मोह त्यागे । विदेशी निर्माण कम्पनीमा गरेको दुःखले उनलाई स्वदेशमै बसेर उद्यम गर्ने उत्साह जाग्यो । त्यसैले उनले मुलुकका धेरै ठाउँमा पुगेर पशुपालन र दुग्ध उत्पादनको अध्ययन गरी त्यसैमा हात हाले ।
गाई फार्मबारे अध्ययन गर्न गुरुङ ईलाम, गोरखा र काठमाडौंसम्म पुगेका थिए । “विदेशको हण्डरले उद्यम सिकायो,” उनी भन्छन् “कमाइ भए पनि परिवार छोडेर अर्काको देशमा कतिन्जेल बस्ने ?”
तीन वर्षअघि ५ लाख रुपैयाँ लगानी गरेर गाई पाल्न सुरु गरेका गुरुङको फार्ममा अहिले २० वटा उन्नत जातका गाई छन् । सबै गाई इलाम र गोरखाबाट ल्याएका हुन् । ९ वटा दुहुना छन् भने ४ वटा ब्याउने । उनको फार्ममा दैनिक १ सय ४० लिटरसम्म दूध उत्पादन हुन्छ ।
गुरुङले गाईलाई खुवाउने दाना खरिद बिक्री गर्न सिँधुवा बजारमा गोदामको स्थापना गरेका छन् । १ सय ५० रोपनी जमिनमा विभिन्न जातको घाँसखेती गरेका छन् । ५० रोपनी जग्गा उनको आफ्नै हो भने एक सय रोपनी भाडामा लिएका छन् ।
नेपालमा जुनसुकै व्यवसाय गर्न पनि सम्भव रहेको उनको ठम्याइँ छ । “विदेश भनेको क्षणिक समय, बल र उमेर रहुन्जेल मात्रै हो । बल सकिएपछि स्वदेश फर्किनुको विकल्प छैन,” उनी भन्छन्, “स्वदेशी उद्यम नै दिगो भएकाले यसैमा लागे भविष्य सुरक्षित हुन्छ ।” गुरुङले पालेका सबै गाईको बिमा गराएका छन् । उनको आफ्नै र बैंकबाट लिएको कर्जासमेत गरी फार्मको लगानी २ करोड रुपैयाँ नाघेको छ ।
खरिद गरेर गोठसम्म ल्याउँदा एउटा उन्नत गाईको लागत २ लाख रुपैयाँसम्म पुगेको उनले सुनाए । फार्म विस्तारमा लागेका उनले ५० लाख रुपैयाँ खर्चेर ३२ वटा उन्नत गाई राख्ने क्षमताको आधुनिक पूर्वाधार निर्माण गरिरहेका छन् ।
कारोवारबाट
फरक प्रसँगको भिडियो हेर्नुहोस्
{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/vrOKm3JVRLU” frameborder=”0″ allowfullscreen></iframe>{/source}