आजाद भिसाले डुवाउँदै

काठमाडौं- बाँकेका लोकेन्द्र डाँगीसहित १४ जना ‘आजाद भिसा’ का नाममा तीन महिनाअघि कतार पुगे । मासिक ३ हजार ४ सय कतारी रियाल (१ लाख २० हजार रुपैयाँ) आम्दानी हुने भनेपछि उनीहरूले दलाललाई ३ लाख रुपैयाँसम्म दिएका थिए । तर, कतार पुगेपछि उनीहरूले त्यति तलब पाएनन् । अहिले उनीहरू घर फर्कन हारगुहार गरिरहेका छन् । 

पीडितहरूका अनुसार कतारमा कम्पनी र भिसा शमशेर सुनारले खोजेका थिए । नेपालमा पैसा असुलेर म्यानपावर कम्पनीसम्म अर्जुन बुढा मगर र मोहन वलीले पुर्‍याएका थिए । वैदेशिक रोजगार विभागबाट संस्थागत रूपमा श्रम स्वीकृति भने ‘सुहम सर्भिसेस इम्प्लोइमेन्ट’ ले लिएको थियो । 

पीडितमा डाँगीसँगै बाँकेकै भक्तबहादुर, घनश्याम बोहरा, टीकाराम बिष्ट, डिल्ली बिष्ट, चन्द्रबहादुर बिष्ट, रमेश बोहरा, रुकुमका सुजन बीसी, पाँचथरका सानबहादुर जबेगु, सुनसरीका जीवनकुमार लिङ्खा, सर्लाहीका अरुण कुमार, भोजपुरका रामकुमार कोइराला, कास्कीका अनिल अधिकारी र तनहुँका मधुसिंह राणा छन् । कतारी स्पोन्सर (कम्पनी) ले जिम्मेवारी नलिएपछि बिचल्लीमा परेका हुन् । 

कानुनमा छैन आजाद भिसा 

दलालहरूले ‘आजाद भिसा’ का रूपमा सोझासीधालाई ठग्ने गरेका छन् । आजाद भिसा व्यवस्था स्थानीय कानुनमै छैन । कतार पुगेपछि मात्रै यसको अर्थ थाहा पाएको लोकेन्द्रले सुनाए । ‘कतारमा पुग्नसाथ आफूलाई मन परेको कम्पनीमा काम गर्न पाइन्छ भनिएको थियो । यहाँ आएपछि मात्रै थाहा पायौं, यो नामको भिसा नै हुँदैन रहेछ,’ उनले भने, ‘यो भिसाका नाममा आउनेहरू बढी समस्यामा पर्दारहेछ ।’

कतारको स्पोन्सरसिप कानुनअनुसार नै काम गर्नेहरू कम्पनीकै भिसामा जानुपर्छ । ‘कम्पनीको भिसामा आएकाले तीन महिनाभित्र भिसा (आईडी कार्ड बनाउने) लगाउनुपर्छ वा अर्को कम्पनीको स्पोन्सरसिपमा जानुपर्छ,’ स्पोन्सरसिप कानुनमा भनिएको छ । भिसा व्यापारीहरूले यही प्रावधान टेकेर कामदारसँग आर्थिक शोषण गर्नुका साथै अवैध ढंगले तस्करी गरेका छन् । कतारस्थित नेपाली दूतावासका एक अधिकारी भन्छन्, ‘आजाद भिसामा आएर ठगियौं भन्दै दूतावासमा उजुरी गर्न आउनेहरू बढिरहेका छन् । हुँदै नभएको भिसाको नाममा ठग्ने तस्करहरू हुन् ।’ 

कतारमा भारतीय, बंगाली, पाकिस्तानी र नेपाली व्यवसायीद्वारा सञ्चालित कम्पनीहरूले आर्थिक फाइदाका लागि ‘आजाद भिसा’ निकालिदिने गरेका छन् । राष्ट्रिय मानव अधिकार समिति, कतारका प्रवक्ता जब्बर अलीका अनुसार कतारले भिसा कारोबार गर्न सख्त प्रतिबन्ध लगाएको छ । 

‘यस्तो अपराधका लागि बढीमा ३ वर्ष सजाय र ५० हजार रियाल जरिवाना वा दुईमध्ये एक हुन सक्छ । यस्तो काम दोहोरिए सजाय कडा हुन्छ,’ उनले भने । स्थानीय अदालतले यस्तो भिसाको काम गर्ने एक बंगाली नागरिकलाई हालै कारबाही गरी देश निकाला गर्न आदेश दिएको थियो । 

प्रमाण नहुँदा न्याय मुस्किल 

आजाद भिसाका नाममा पुगेर अलपत्र परेका पीडितहरू दूतावास पुगे पनि दलालविरुद्ध बलियो प्रमाण पेस गर्न नसक्दा न्याय पाउन सक्दैनन् । स्थानीय श्रम कार्यालयमा पुगेमा रोजगारदाताले जिम्मा त लिन्छन् तर श्रम सम्झौताअनुसार काम नगरेको भनेर उल्टै कामदारमाथि दोष थुपारिदिन्छन् । 

‘म्यानपावर कम्पनीरदलालले २६ सय रियाल भनेर आएको थिएँ । त्यो दिन नसक्ने भएपछि काम गर्न सकिनँ,’ दुई लाख ५६ हजार रुपैयाँ तिरेर कतार पुगेका समीर घिमिरेले भने, ‘हाम्रो कतै सुनुवाइ हुँदैन रहेछ । हामी नै तल पर्दोरहेछौं ।’ 

पीडितहरूलाई दूतावासले उद्धार गरी नेपाल पठाए पनि वैदेशिक रोजगार विभागबाट म्यानपावर कम्पनीमाथि कारबाही हुने गरेको छैन । यसमा पनि म्यानपावर कम्पनीहरू आफूले पठाएको कम्पनीमा कामदारले काम नगरी फर्केको बहाना बनाएर उम्किने गरेका छन् । 

विभागले ‘आजाद भिसा’ बारे आफूहरूलाई औपचारिक जानकारी नै नभएको जनाएको छ । ‘हामी आफ्नै पैसामा बेचिइरहेका छौं,’ डाँगीले भने, ‘यसलाई नियन्त्रण गर्न राज्यले पहल गर्नुपर्छ ।’

कान्तिपुरबाट 

फरक प्रसँगको भिडियो हेर्नुहोस् 

{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/OjCssQA7D-0″ frameborder=”0″ allowfullscreen></iframe>
{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: