सिरियामा २० नेपाली युवती बेपत्ता, १ हजार फसे  

काठमाडौं, कात्तिक २१ 

इलामकी २६ वर्षीया सरस्वती राईको गत फेब्रुअरी ११ मा सिरियाको लताकिया क्षेत्रमा निधन भयो । त्यसबारे इजिप्टको कायरोमा रहेको दूतावासले पत्तो पाउँदा र शवलाई घरफिर्ती गर्ने तथा क्षतिपूर्ति प्रक्रिया पहिल्याउने उपाय खोज्नै झन्डै तीन महिना लाग्यो ।

‘सरस्वतीको शव फिर्ता लैजान र क्षतिपूर्ति माग्न तत्कालका लागि मलाई अधिकार दिइएको थियो,’ कान्तिपुरको आग्रहमा सिरिया बोर्डरसम्म आएका दमास्कसवासी उद्यमी मोहम्मद मजेद अल–जायदले भने, ‘तर, कागजी रूपमा मेरो त्यस्तो कानुनी हैसियत नरहेकाले सरस्वतीका घर मालिकले शव लैजान वा क्षतिपूर्ति दिनै मानेनन् । उद्धार वा शवफिर्तीको कुनै उपाय नरहेपछि गत अप्रिल अन्तिममा उनको शव यहीं पुरियो, पाउनुपर्ने ४ हजार अमेरिकी डलरको क्षतिपूर्ति पनि त्यत्तिकै गुम्यो ।’ सरस्वतीको राहदानीमा उनका बाबुको नाम कुमार राई र स्थायी ठेगाना महारानीझोडा–९ झापा लेखिएको छ ।

दमास्कसमै अर्का एक ८५ वर्षीय सिरियन नागरिकले झापा घर भएकी २६ वर्षीया एक नेपाली युवतीलाई श्रीमती बनाएको केही वर्ष भएको छ । कागज र कानुनमा श्रीमती भनेपछि घरेलु कामदार रहेकी ती युवतीको वर्क–परमिट नवीकरण अथवा अरू कररसेवा शुल्क बुझाउनै नपर्ने स्थिति छ ।

‘केटीको राजीखुसीले यो बिहे गरिएको हो भन्ने आधार कसले खोजिरहने रु’ दमास्कसस्थित एक सरकारी निकायमा कार्यरत अधिकारी भन्छन्, ‘अब यो सिरियाली बयोवृद्ध नमरुन्जेल नेपाली युवतीबारे सोधपुछ गर्ने वा उद्धार गर्न सक्ने स्थिति केही पनि छैन ।’ ती अधिकारीका अनुसार यस्ता युवतीले सामान्यतया ‘कागजी बयोवृद्ध श्रीमान्’का लागि बिना तलब केयर गिभरको काम गरिरहेका छन् ।  

अल–जायदका अनुसार पछिल्ला दुई वर्षमा मात्रै ४ सय नेपाली युवती सिरिया पुगेका छन् । ‘अहिले पनि दिनहँु २र४ जना दुबई, दिल्ली वा लेबनानको बाटोबाट आइरहेका हुन्छन्,’ उनी भन्छन्, ‘सिरिया भित्रिन गाह्रो होला, तर यता आइसकेपछि स्पोन्सर र एजेन्सीले अध्यागमनबाटै कामदारको जिम्मा लिइहाल्छन् ।

तर कुन केटीलाई कहाँ राखिएको छ अथवा कसरी राखिएको छ, कसैले खोजीनीति गर्नै मुस्किल छ ।’ यसका लागि पनि काठमाडौंबाटै सुरु भएको युवती ओसारपसार एजेन्टको सञ्जाल भारत हुँदै केही श्रीलंका, दुबई, जोर्डन र मस्कोसम्म फैलिएको छ । यो सञ्जालबारे काठमाडौंमा परराष्ट्र मन्त्रालयलाई पनि लिखित जानकारी आइसकेको भए पनि सिरिया मामिला हेर्ने कूटनीतिक संयन्त्र नरहेका कारण सबै समस्या अल्झेर बसेका छन् ।

सिरिया मामिलासमेत हेर्ने कायरो दूतावासमा उजुरी दर्ता भएअनुसार दमास्कसमा रहेका नेपाली मामिलाका अनौपचारिक समन्वयी मोहम्मद मजेद अल–जायदले नेपाली युवती विनिता चौधरीको घरमालिकसम्म सम्पर्क राखेका थिए । चौधरी काम गर्ने घरसम्मै गएर उनलाई घरफिर्तीको पहल गरेका थिए । तर, मालिकले अल–जायदको कुनै ‘कानुनी र कूटनीतिक हैसियत’ नरहेको भन्दै यी युवती फर्काउन अनुमति दिएनन् । अहिले पनि विनिता सिरियामै छिन्, उनको पुरानो फोन सम्पर्क पनि विच्छेद छ ।

सिरियाको राजधानी दमास्कसबाट झन्डै ३ सय ४० किलोमिटर टाढाको लताकिया सहरमा बस्दै आएकी बताउने मोरङ, पथरीका अन्जना दिवा केही दिनअघिसम्म फोन सम्पर्कमै थिइन् । उनलाई अघिल्लो साता सोमबार लेबनानको बेरुतबाट फोन सम्पर्क गर्दा मुस्किलले कुराकानी हुन सकेको थियो तर शुक्रबार राति सिरिया सीमावर्ती जाहेल सहर पुगेर कुराकानी गर्न खोज्दा फोन सम्पर्क हुनै सकेन ।  

यस्तै, झापाकी विनिता चापागार्इं, सुनिता उरुवा, बाटुली विश्वकर्मा, मुना धिमाललगायत २ दर्जनभन्दा बढी नेपाली युवतीले घरफिर्तीका लागि विभिन्न माध्यम -उपाय) बाट इजिप्टको कायरोस्थित नेपाली दूतावासमा निवेन दर्ता गराएको महिनौं भइसकेको छ । तर, उनीहरूको पछिल्लो यथास्थितिबारे दूतावाससमेत बेखबर छ । यीमध्ये कतिपय हाल सिरियामा युद्धग्रस्त क्षेत्र एलेपोमा समेत रहेको जानकारी विगतमा दूतावासलाई दिइएको थियो । समस्यामा परेका आफ्ना नागरिकलाई फिर्ता ल्याउन भारत सरकारले विशेष कूटनीतिक संयन्त्रबाट गत वर्ष ‘हवाई उद्धार’ गरे पनि नेपाली भने सम्पर्कहीन छन् ।  

इजिप्टको कायरो नियोगमा रहेर कूटनीतिक सेवा पुर्‍याएका एक कूटनीतिक अधिकारीका अनुसार इजिप्टबाट सिरियासम्म ‘फोन सम्पर्क गरेर अथवा पत्राचार गरेरै मात्रै’ नेपालीको यथास्थिति पहिल्याउन मुस्किल छ । धेरैजसो अवस्थामा कायरोबाट दमास्कससम्म पत्राचार गर्नै पनि ‘निषेध’ छ ।

सिरियामा एक हजार नेपाली युवती

लेबनानको ख्यातिप्राप्त बेक्का उपत्यका र त्यहाँ रहेको सिरिया सीमावर्ती सहर जाहेल हुँदै दमास्कस पुग्न ५२ किलोमिटरको यात्रा तय गर्नुपर्छ । लेबनान र सिरियाबीच ३ सय ७५ किलोमिटर खुला सिमाना रहेको तथा यो सिमानाबाट वैधरअवैध आवागमन भइरहने भएकाले राजधानी बेरुत हुँदै कागजातहीन अवस्थामै नेपाली युवतीलाई दमास्कससम्म लैजाने गिरोह पनि यदाकदा सक्रिय रहने गरेको पाइएको छ ।

दुई देशबीच ८ वटा विन्दुमा मात्रै नियन्त्रित सीमारेखा रहेको र अरू नेपाल–भारतजस्तै खुला रहेकाले सीमा वारपार गतिविधिमा संलग्न रहने एजेन्टले नेपाली युवतीसमेत सहजै दमास्कस पुर्‍याउने गरेका छन् ।

दमास्कसको अध्यागमन कार्यालयमा रेकर्डमा रहेको तथ्यांकमा दमास्कस केन्द्रित विभिन्न रिक्रुटिङ एजेन्सीबाट झन्डै ३ सय युवती ‘अन रेकर्ड’ सिरिया भित्रिएको देखिन्छ । प्राप्त तथ्यांकअनुसार एलिया अफिसबाट ४० जना, अल–बायत अल सामी अफिसबाट १ सय ३५ जना, बोसनाक अफिसबाट ३६ जना, नुबाला अल–साम अफिसबाट ६३ जना युवती घरेलु काममा खटिएको नामसूचीसमेत उपलब्ध छ ।

सिरियाली अध्यागमन अधिकारीका अनुसार सामान्यतया घरेलु काममा आएका विदेशी युवतीका हकमा बढीमा ३ वर्षको ‘वर्क–परमिट’ लागू हुने भए पनि सिरियाको युद्धरत स्थिति तथा असहज सामाजिक यथास्थितिका कारण रोजगारी नियमनबारे कहींकतै सरोकार राखिने गरेको छैन ।

तर, नेपाली समन्वयी मोहम्मद मजेद अल–जायदका अनुसार विभिन्न ‘ट्रान्जिट’ बाट छिरेर सिरियाका सहरहरूमा घरेलु काममा खटिएका युवतीको संख्या १ हजारभन्दा बढी भएको अनुमान छ । ‘यहाँ फिलिपिनो, बंगाली, इन्डोनेसियन वा इथियोपियन घरेलु कामदार युवतीसमेत छन्,’ अल–जायद भन्छन्, ‘तर, नेपालीलाई सिरियनले मन पराउँछन् । किनभने नेपालीका हकमा केही समस्या आइपरे पनि कतै भनेर सुल्झाइरहनु पर्दैन । घरबाट निकालिदिए भइहाल्छ ।’

तर, आफ्ना कामदारको उजुरी वा गुनासो आइपरे दमास्कसमा रहेका फिलिपिनो वा इन्डोनेसियन दूतावासले तदारुकताका साथ प्रश्न उठाउने गरेका छन् । लेबनानमा जस्तै सिरियामा पनि अवैतनिक महावाणिज्यदूत समेत नराखिएकाले र यही कारण इजिप्टको कायरो नियोगले पनि सहज कूटनीतिक पहुँच राख्न नसक्दा नेपालीका समस्या थपिँदै गएका छन् ।  

दमास्कसमा नेपाली अवैतनिक कन्सुलर खोल्नेबारे चर्चा अघि बढेपछि दुई वर्षअघि नेपाली समन्वयी मोहम्मद मजेद अल–जायदसहितका प्रतिनिधि काठमाडौं आएर तत्कालीन परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसँग भेटवार्ता गरेका थिए । ‘तर सिरियामा रहेका नेपालीको समस्याबारे कहींकतैबाट पनि सुनुवाइ नभएको स्थिति छ,’ अल–जायदले भने ।

२०११ को मार्चदेखि जारी सिरियाली गृहयुद्धमा परेर अहिलेसम्म ४ लाख सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाउँदै आएको छ । सिरियाली सरकारभित्रै रहेको पक्ष–विपक्ष सेनाबीचको द्वन्द्वले उग्र रूप लिएपछि गृहयुद्ध चर्किएको हो ।

युद्धरत सिरियामा नेपालीलाई जान नेपाल सरकारले प्रतिबन्ध लगाएको भए पनि मानव तस्करको सञ्जालले नेपाली युवतीलाई अनेक उपायबाट दमास्कस पुर्‍याउने गरेका छन् । ५ वर्षयताको तथ्यांकमा विभिन्न रोगका कारण वा आकस्मिक रूपमा सिरिया पुगेकामध्ये ८ जनाको मृत्यु भएको औपचारिक जानकारी परराष्ट्र मन्त्रालयले पाएको छ भने सिरियामा बेपत्ता हुने नेपाली युवतीको ‘रेकर्डेड’ संख्या २० नाघेको छ । 

यो समाचार कान्तिपुरमा देवेन्द्र भट्टराईले लेखेका हुन् 

फरक प्रसँगको यो भिडियो हेर्नुहोस् 

{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/VPO1FEsOhuk” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय