भारतीय राष्ट्रपतिको नेपाल भ्रमणः के गरौं, के नगरौं ?

मोहन बस्याल, युएई
भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणका क्रममा सामाजिक सञ्जालमा उनलाई स्वागत छैन भन्ने अभियान चलाइयो । सडक चरोमुसो नरहने गरी खाली गराएर, सार्वजनिक विदा दिएर सरकारको आलोचना त भएकै थियो, भारतले लगाएको नाकावन्दी र नेपालको आन्तरिक मामिलामा उसले गरिरहने हस्तक्षेपका कारण नेपालको एउटा ठूलो वर्ग भारतको विरोधमा सदैव रहन्छ । पछिल्लो समयमा त्यो युवा पुस्तामा अझ बढी देखिन्छ र सामाजिक सञ्जाल मार्फत मुखरित भइरहेको छ । यहि सन्दर्भमा मुखर्जीको नेपाल भ्रमणबाट खुशी हुने कि चिन्ता गर्ने त ? यसलाई हामीले आफ्नै दृष्टिले विश्लेषण गर्न जरुरी छ । उनी किन र कसरी आए अनी भारतीय हस्ताक्षेपमा हाम्रा आफ्नै नेताहरुको भूमिका कत्तिको छ, बुँदागत रुपमा यो लेखमा त्यहि कुरा केलाउने जमर्को गरिएको छ ।

१.  भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई नेपाल सरकारले निमन्त्रणा दिएर उनी नेपालको भ्रमणमा आएका हुन् । यस अर्थमा उनी नेपालका आमन्त्रित अतिथि हुन् । अतिथि देवो भवः को संस्कारमा हुर्किएका हामीलाई कुनै पनि बहानामा अतिथिको सम्मानमा आँच आउने गरि कालो झण्डा देखाउने लगायतका गतिविधि देखिनु राम्रो कुरा होईन । नेपालको भविष्य पर्यटन ब्यवसायमा नै रहेकाले अतिथिलाई राम्रोसंग स्वागत गर्न सिक्नु नै उचित हुन्छ ।

२.  यदि नेपालको हित नहुने प्रतिष्ठामा आँच आउने मानिसलाई अतिथिको रुपमा बोलाईएको भए बोलाउनेलाई कालो झण्डा देखाउनु पर्छ । संसदमा आफ्ना प्रतिनिधि मार्फत जवाफ माग्नुपर्छ । आगामी निर्वाचनमा पाठ पढाउनु पर्छ । फेसबुकमा जथाभावी देखेर देशको राष्ट्रीयताको सम्वद्र्धन हुन सक्दैन ।

३.  नेपालको सेना तथा प्रहरी संयुक्त राष्ट्रसंघको शान्ति सेनाको रुपमा समेत विभिन्न मुलुकमा सेवा पुर्याउन पुग्छ । त्यसैले मलाई लाथ्यो नेपाली सेना तथा नेपाल प्रहरी व्यवसायीक रुपमा दक्ष छन् । तर उनीहरुको आत्मविश्वास र क्षमता प्रति टिठ लागेर आयो । सरकारी विदा, अघोषित कफ्र्युले पनि नपुगेर दुई राष्ट्रध्यक्षलाई एउटै गाडीमा राखेर हिंडाएछन् । जनतालाई सास्ति दिएर हुने शान्ति मुर्दा शान्ति हो । यसका लागि देश बिदेशमा बर्षाै देखि तालिम दिएर सेना प्रहरी पाल्नुपर्छ र ?

४. भारतले नाकाबन्दी लगाएको भनेर हरेक भारतीयलाई दुब्र्यवहार गर्नु अगाडी हामीले बिचार गर्नुपर्छ । नाकाबन्दी भारतीयले हैन नेपालीले नै गराएका हुन् । त्यसमा भारतले सहयोग गरेको मात्र हो । मौन बसेर । नेपाल भारत सीमामा भिड थुपारेर आवतजावत बन्द गर्ने उपेन्द्र यादव, राजेन्द्र महतो, महन्त ठाकुर नेपाली नागरिक हुन । यिनलाई कारवाही गर्ने नेपालमा कुनै कानुन छैन ? उनीहरु खुलेआम हिड्ने अनी हरेक भारतीय नागरिकलाई दुब्यर्ववहार ? यो त दाजुलाई सक्दिन भाउजुसँग लड्छु भने जस्तो भएन र ?

५.  जब कुनै मालिकको भ्रमण नेपालमा हुन्छ रातारात सडक सफा हुन्छ । बत्तिहरु झलमल्ल बल्न थाल्छन् । आखिर कर्मचारी पालिएकै छन् । बजेट खर्च भएकै छ । सधै यो सरसफाई यो झिलिमिलि टिकाउन सकिदैन ?

६. भारतीय बिस्तारवादलाई गालि गरेरै संगठन निर्माण गरेर सत्तामा पुग्ने अनी सत्तामा पुगेपछि भारतीयलाई नै कर गरेर नेपाल भ्रमणमा बोलाउनु पर्ने, उनी नेपाल आउनु बडो ऐतिहासिक काम भन्नु पर्ने नेपाली राजनिति बुझिनसक्नुको छ । २० बर्र्ष अघि भारतले नेपालमा जति भुभाग मिचेको थियो त्यो यथावत छ । बरु अझ बढेको छ घटेको छैन । हस्तक्षेप अझ बढेको छ । खुलेआम हस्तक्षेप भएको छ । अनि सम्बन्धले नयाँ उचाई लिएको छ भनेको सुन्दा खुशी हुने की चिन्ता गर्ने ?

७. सिक्कीमलाई भारतमा विलय गराउने लेण्डुप दोर्जे पनि बिद्रोही नेता हुन् । अल्पमतले बहुमत माथी शासन गरेको भन्दै उनले बिद्रोह गरे । बिद्रोह सफल पनि भयो । तर उनी र उनको समुहलाई शासन चलाउने बिधि, प्रकृया र कला केही पनि थिएन । शाहस र ढंग नभएपछि परम्परागत शासकलाई नै शासन सत्ता दिन पनि सकेन आफुले चलाउन पनि सकेनन् । अन्ततः भारतमा बिलय गराए ।

नेपालका कतिपय क्रान्तिकारी बिद्रोही नेताको शैली उस्तै छ । बिद्रोह गर्न जाने, ध्वसं गर्न जाने तर पुनःनिर्माण बारे सिन्को भाँच्न जानेनन् । जनताको अधिकारको ठुला कुरा गरे तर स्थानीय निकायको निर्वाचन गराउन कहिले पनि ईमान्दार भएनन् । परम्परागत शासकलाई पाखा लगाए तर आफुले शासान चलाउन ढंग अझै सिकेका छैनन । यिनिहरुले नेपालाई विस्तारै सिक्कम नबनाउलान भनेर कसरी भन्ने ?

मुखर्जीको नेपाल भ्रमणका क्रममा हाम्रा नेताहरु लम्पसार नपरुन् । उनीहरुले हामीले हाम्रै लागि बनाएको संविधानका धारा, उपधारा केलाउन हामी नै सक्षम छन् भन्ने सन्देश दिउन् । आफूलाई मधेसवादी भन्न रुचाउनेहरुले मुखर्जीलाई भेट्दा आफूहरु ‘उतैको’ भएको भन्दै पाउ नधोउन् । आफ्नै राष्ट्रपति विद्यादेवी भण्डारी जाँदा मन्दिर चोख्याउनेहरुले भारतीय राष्ट्रपति पुग्दा ‘देउता’ आए झैं नगरुन् । यत्ति गर्ने हो भनें राष्टियता आफैं बलियो हुँदै जान्छ न की छिमेकी देशको राष्ट्रप्रमुख आउँदा कालो झण्डा देखाएर वा ढुँगा हानेर हुन्छ ।

त्यसैले विरोध गर्ने हो भनें पहिले आफ्नै गल्ती गर्नेहरुको गरौं । बलिया आफ्नैलाई बनाऔं । आफू बलियो भएपछि बाहिरियाको के तागत हाम्रो मुलुकमा गिद्धेदृष्टि लगाउन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: