काठमाडौं, कात्तिक १७
बैदेशिक रोजगारीमा जाने युवाका लागि मेनपावर कम्पनीहरुमा अनलाइन मार्फत आवेदन दिने व्यवस्था मेनपावर व्यवसायीले मिलाउने भएका छन् । यसका लागि व्यवसायीहरुको साझा संस्था नेपाल बैदेशिक रोजगार व्यवसायी संघले व्यवस्था मिलाउने भएहो हो ।
संघका महासचिव रोहण गुरुङ्गद्धारा जारी विज्ञप्तीमा विदेश जाने युवासँग एजेण्टहरुले धेरै रकम असुल्ने गरेको र त्यसको दोष व्यवसायीलाई लाग्दै आएको भन्दै त्यसको अन्त्यका लागि अनलाइन मार्फत आवेदन दिने व्यवस्था मिलाउन लागिएको जनाएको छ ।
यसले बैदेशिक रोजगारीमा जाने कामदारहरुले इजाजत प्राप्त व्यवसायीसँग सिधा सम्पर्क गरेर रोजगारीको प्रकृया अगाडी बढाउन सक्ने संघले विश्वास व्यक्त गरेको छ । यसका लागि ईजाजत प्राप्त ७ सय ५४ वटा मेनपावर कम्पनीहरुलाई युजर नेम र पासवर्ड उपलव्ध गराइने र ति मेनपावर कम्पनीहरुले आवेदकहरुलाई सिधा सम्पर्क गरेर रोजगारीको प्रकृया आरम्भ गर्न सक्नेछन् । यसले बैदेशिक रोजगारमा जान चाहने युवाको पासपोर्ट संकलन गरेर मेनपावर कम्पनीहरुसँग मोटो कमिसन माग्ने एजेण्टहरु निरुत्साहित हुने अपेक्षा संघले गरेको छ । यो व्यवस्था सुरु गरिएपछि बैदेशिक रोजगारमा जान ईच्छुक व्यक्तिले सिधै संघको कार्यालयमा टेलिफोन मार्फत सीधा सम्पर्क गरेर आफ्नो योग्यता, सीप लगाएतका बारेमा जानकारी गराई सोही अनुसारको रोजगारीका लागि निःशुल्क आवेदन भर्न सक्ने गुरुङ्गद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । यस बारेमा व्यवसायीहरुलाई आफ्नो सुझाव दिन पनि संघले आग्रह गरेको छ ।
यो पनि पढ्नुहोस्
कतारको निःशुल्क भिसा सुरु, अनलाईनबाट आवेदन दिन सकिने
