
काठमाडौं- मापदण्डभन्दा बढी लिड प्रयोगले मजदुरमा पर्ने असर तथा त्यसको रोकथामका बारेमा जानकारी गराउने उद्देश्यले काठमाडौंमा एक दिने सचेतनात्मक कार्यक्रम सम्पन्न भएको छ । ग्रिल तथा स्टिल व्यवसायी महासंघ, जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र र क्यरूपेकको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो ।
कार्यक्रमको समापन गर्दै ग्रिल तथा स्टिल व्यवसायी महासंघको अध्यक्ष मोहन कटुवालले संसारका ६२ देशले पेन्टको मापदण्ड पूरा गर्न सफल भएको बताए । “नेपाल सरकारले पनि रंगको मापदण्ड तोकेको अवस्थामा पनि यसको प्रभावकारी कार्यान्वयन भने हुन सकेको छैन,” कटुवालले भने, “विशेष गरी ग्रिल व्यवसाय तथा रंगरोगन गर्ने मजदुर र पेन्टर मजदुरहरू यसको शिकार भएका छन् ।” उनले सबैले आ–आफ्नो क्षेत्रबाट लिड फ्रि पेन्ट प्रयोग गर्ने कार्यमा सहयोग गर्न आग्रह गरे । लिडको कम प्रयोग गर्दा उद्योगीलाई लगानी र मुनाफामा खासै असर नपर्ने हुँदा लिड फ्रि पेन्ट उत्पादनमा लाग्न सल्लाह दिए ।
जनस्वास्थ्य तथा वातावरण प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामचरित्र साहले सिफ्डको अथक प्रयासपछि सरकारले ०७१ साल पुस ७ गते राजपत्रमा सूचना प्रकाशित गरी पेन्ट लिडको मापदण्ड तोकेकोमा अझै पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको बताए ।
नेपाल हेल्थ रिसर्च सेन्टरका विज्ञ डा। खेमबहादुर कार्कीले लिडको अत्यधिक प्रयोगका कारण मुख्य गरी बालबालिका र बयस्क मानिसलाई यसले असरबारे जानकारी गराए । “लिडको उच्च प्रयोग भएमा मुख्य तय हड्डीमा जमेर बस्ने र हड्डी खिइएपछि यसले असर पर्ने हुँदा लिड मानिसका लागि अत्यन्तै हानीकारक हो,” कार्कीले भने, “विश्वमा लिडको कारण प्रत्येक वर्ष ६ लाख बालबालिका बौद्धिकता अपांगता हुनुका साथै १ लाख ४३ हजार बालबालिकाको मृत्यु हुने गरेको छ ।” सिफेडका अनुसार लिडको प्रयोगबाट बच्चाहरूको बौद्धिक विकासका साथै श्वासप्रश्वामा समेत असर गर्ने उनले बताए । लिडको प्रयोगबाट पुरुषहरूमा उच्च रक्तचाप, नपुंसकता, किड्नीमा समस्या हुने र महिलाहरूको महिनावारी बिग्रने, गर्भ तुहिनेलगायतका बिभिन्न रोगहरू लाग्ने बताउँदै व्यवसायीलाई लिडजन्य वस्तुको कम प्रयोग गर्न आग्रह गरे ।