कुवेत हुँदै साउदी पुर्याइएका नेपाली महिला समस्यामा 

काठमाडौं, कात्तिक १४ 

महानगरीय प्रहरी अपराध महाशाखामा ४ कात्तिकमा साउदी अरबबाट फोन गरेकी एक युवतीले आफू मालिकको बन्धकमा परेको भन्दै उद्धारको याचना गर्दागर्दै सम्पर्क टुट्यो । ती महिलाको नाम के थियो र साउदीको कुन ठाउँबाट फोन गरेकी थिइन् भन्ने प्रहरीले पत्ता लगाउन सकेन । तर प्रहरीको बुझाइमा बन्धकमा परेकी ती महिला घरेलु कामदार (हाउसमेड) थिइन् । 

प्रहरीका निम्ति न यो नयाँ घटना थियो न अनौठो नै । सरकारले प्रतिबन्ध लगाए पनि हाउसमेडको काममा साउदी अरबमा बन्धक बनेका महिलाको संख्या ठूलो छ ।

साउदीस्थित नेपाली दूतावासका अनुसार घरेलु कामदारका रूपमा साउदी पुग्ने धेरैजसो नेपाली महिला छिमेकी मुलुक कुवेतबाट अवैध रूपमा पुर्‍याइएका हुन् । गत वर्षको मंसिरदेखि सरकारले घरेलु कामदार पठाउन प्रतिबन्ध लगाएपछि साउदी अरबमा हाउसमेडको अभाव बढेको छ । त्यसलाई टार्न साउदी नागरिक कुवेतमा रहेका आफन्तमार्फत नेपाली हाउसमेड झिकाउँछन् । साउदीस्थित कार्यवाहक नेपाली राजदूत आनन्दराज शर्माका अनुसार तीन महिनाको भिजिट भिसामा आउने कामदार त्यसपछि गैरकानुनी हुन्छन् । 

महाशाखाका डीएसपी होविन्द्र बोगटीका अनुसार उद्धारका निम्ति आउने सबैभन्दा धेरै फोन साउदी अरबबाटै हुन्छ । उनका अनुसार दैनिक तीनदेखि चारवटा फोन यस्ता हुन्छन्, जसमा उद्धारको अपेक्षा गरिएको हुन्छ । 

साउदीस्थित नेपाली दूतावासले पाँच महिनाअघि मात्रै यस्तै गैरकानुनी सात हाउसमेडलाई महिनौं लामो कानुनी प्रक्रिया पूरा गर्दै नेपाल फिर्ता पठाएको थियो । अहिले त्यस्तै ९ महिलालाई फिर्ता पठाउन दूतावास सक्रिय छ । दूतावासका अनुसार सम्भवतः एक साताभित्र उनीहरू नेपाल पुग्नेछन् । कार्यवाहक राजदूत शर्माका अनुसार गैरकानुनी रूपमा बसिरहेका अन्य पाँच हाउसमेड पनि दूतावासको सेल्टरमा घर फिर्तीको दिन गनेर बसिरहेका छन् ।

कार्यवाहक राजदूत शर्माले कुवेतबाट भइरहेको गैरकानुनी नेपाली कामदार ओसारपसारको विषयलाई साउदीको विदेश मन्त्रालयलाई पनि जानकारी गराइसकेको बताए । तर साउदी अरबले भने त्यसबारे कुनै औपचारिक प्रतिक्रिया दिइसकेको छैन । जटिल कानुनी प्रक्रिया, कामदारको स्पोन्सरको पहिचान नहुनु र गैरकानुनी बसाइबापतको क्षतिपूर्ति मिनाहामा लाग्ने झन्झटिलो प्रक्रियाका कारण साउदीबाट नेपाली फिर्ता पठाउन कठिनाइ हुने गरेको छ । शर्माले भने, ‘नेपाली घरेलु कामदारलाई पर्यटक भिसा नदिन साउदीस्थित अध्यागमनलाई भनिसकेका छौं ।’ 

शर्माका अनुसार नेपालबाटै कामदार गैरकानुनी रूपमा पठाउनेमाथि कडाइ नगरे र बलियो कूटनीतिक पहल नचालेसम्म नेपाली समस्या पर्ने क्रम रोकिँदैन ।

कान्तिपुरबाट 

यो पनि पढ्नुहोस् 

कतारी नागरिकले सुरु गरेको विदेशी कामदारको फोटो छाप्ने अभियानमा परे एक नेपाली

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय