मेनपावर कम्पनीलाई कारवाही गर्न श्रम मन्त्रालयको निर्देशन 

 

काठमाडौं, कात्तिक १२- 

श्रम तथा रोजगार मन्त्रायलले साउदी अरवमा ६२ जना कामदारलाई अलपत्र पार्ने न्यु जेनेरेशन इम्प्लोइमेन्ट सर्भिसलाई कारबाही गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको छ । तीन महिना अघि साउदीको जुबेलस्थित ‘महमद सद अल घुरेरी एण्ड बर्दश’ कम्पनीमा पुगेका ६२ जना नेपाली कामदारले काम र तलब नपाएर अलपत्र परेको जानकारी  नेपाली दुताबासले श्रम मन्त्रालय र वैदेशिक रोजगार बिभागलाई सिफारीस गरेको थियो । मन्त्रालयले म्यानपावरलाई कारबाही गरी आफुलाई जानकारी दिन बिभागलाई निर्देशन दिएको एक अधिकारीले बताए । 

दुताबासले म्यानपावरको धरौटीबाट कामदारलाई उद्धार गरी म्यानपावरलाई कारवाही गर्न मन्त्रालयसमक्ष अनुरोध गरेको हो । कम्पनीले स्वदेश फिर्न चाहने कामदारलाई  एक जना बापत २५ सय रियाल (७५ हजार रुपैया) बुझाउन भनेपछि कामदारहरु स्वदेश फिर्न बञ्चित भएका छन् । 

पीडित कामदारले गएदेखि काम र तलब नपाएको भन्दै उजुरी दिन नेपाली दुताबास पुगेका थिए । कम्पनीका मालिक महमद सदले दुताबासमा उजुरी दिन गएका रामचन्द्र ढुंगाना र जसिबिर नाल्वेलाई अज्ञात स्थलमा लगेर राखेपछि बाँकी कामदार दुताबासमा जान र खबर गर्न  डराएका छन् । ‘हामी आएदेखि कम्पनीले काम दिएको छैन । तलब पनि दिएको छैन’, एक पीडितले भने,‘उद्धारका लागि पहल गर्न भन्दै साथीहरु नेपाली दुताबास पुगेका थिए । दुताबासबाट फर्केकै रात दुई जना साथीलाई राती सुतिरहेको कोठाबाट लिएर गए । उनीहरु कहाँ छ भन्ने अबस्था हामीलाई थाहा छैन ।’

पीडितले उजुरी दिएपछि श्रम काउन्सेलर अम्बिका अधिकारीले कम्पनी मालिक महमदलाई समस्या समाधान गर्न अनुरोध गरेका थिए । महमदले नेपालबाट म्यानपावरले आफुले चाहेको कामदार नपठाएको दावी गरेका थिए । ‘हामीले जस्तो कामदार खोजेका थियौ, त्यस्तो कामदार म्यानपावरले पठाएन । आएका कामदारले हामीले खोजेको काम गर्न सकेनन् । हामीले दिएको अर्को काम गर्न उनीहरु मान्दैनन्’, महमदले दुताबाससमक्ष भने । 

उनीहरु गत जेठको अन्तिम साता साउदी पुगेका थिए । त्यतिखेर कम्पनीले प्रति कामदार दुई सय रियाल मात्रै दिएको थियो । त्यस यता उनीहरुले पैसा पाएको छैन । ‘अहिले एउटा पसलमा खाता खोलिदिएको छ । त्यहाँबाट नै खाना ल्याउदै खाइरहेका छौं’, उनीहरुले भने,‘हाम्रो मालिक सार्‍है हरामी छ । केही बोल्यो कि पिटिहाल्छ । सबै डराएर बसिरहेका छौं । बोल्ने साथीहरुलाई अन्त्यै लिएर गए पछि हामी अभिभाबक बिहिन जस्तो भएका छौं ।’ 

दुताबासले ती कामदार दुताबासबाट फर्केपछि सम्र्पकमा नआएकोले थप जानकारी नभएको जनाएको छ । पीडित कामदारले आफुहरुलाई उद्धार गर्न अपिल गरेका छन् । ‘कम्पनीले काम दिने आश्वासन त देखाएको छ । दिए त राम्रै हुन्थ्यो । हामी कमाउन आएका हौं । यसरी नै बिचल्ली बनाइराख्यो भने हाम्रो अबस्था झन खरब हुन्छ’, पीडितहरुले भने । 

कान्तिपुरबाट

यो पनि पढ्नुहोस् 

सबारी दुर्घटनामा हात गुमाएका तुलबहादुरद्धारा सहयोगको अपिल 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय