
मस्कट, कात्तिक ११
ओमानमा अवैध रुपमा नेपाली लगायतका महिलालाई घरेलु काममा लगाउन खरिदविक्रि गर्ने गरिएको भेटिएको छ । उनीहरु सरदर १ हजार ५ सय ओमानी रियाल(४ लाख बढी) मा विक्रि हुने गरेका छन् ।
ओमानमा रहेका लेवर सप्लाई कम्पनीहरुले सरकारी निकाय तथा दुतावासको प्रकृयालाई पन्छाएर त्यसरी अवैधानिक रुपमा मानव तस्करी गरिरहेको टाइम्स अफ ओमानले समाचार लेखेको छ । त्यसरी खरिद विक्रि गरिने महिला श्रीलंका, नेपाल, भारत, बंगलादेश, फिलिपिन्स तथा अफ्रिकी देशहरुका हुने गरेको समाचारमा जनाइएको छ । दुई बर्षका लागि ल्याइने ति महिलाका बारेमा सम्वन्धित देशको दुतावासलाई भनें कुनै जानकारी हुँदैन । ओमानको कानून अनुसार भनें घरेलु काम गर्न ल्याइने महिलालाई सरकारी निकाय तथा सम्वन्धित देशको दुतावासमा अनिवार्य रुपमा दर्ता गरिनु पर्दछ ।
“दुतावास जान कुनै जरुरी छैन, १२ सय आमानी रियाल तिरेर आफूलाई मन लागेको कामदार छानेर लैजान पाउनुहुन्छ” कामदार खोज्ने व्यक्तिको भेषमा गएका टाइम्स अफ ओमानका एक सम्वाददातालाई एक सप्लाई कम्पनीका सञ्चालकले भनेको समाचारमा जनाइएको छ ।
भिजिट भिसामा युएई ल्याइने महिलालाई नै ओमान ल्याउने गरिएको हो । तर यो अवैधानिक काम हो । हालैको महिनामा त्यसरी नै ओमान ल्याइपुर्याएर बन्दी जस्तै बनाइएका १३ जना महिलाको उद्धार गरिएको स्थानीय सामाजिक संस्थाहरुको भनाई छ ।
आप्रवासी कामदारको अधिकारका क्षेत्रमा कार्यरत सञ्चारकर्मी समेत रहेका भारतीय अधिकारकर्मी रफिक रभुथरले यो अवैधानिक व्यापार रोक्न कामदार पठाउने मुलुकहरुले नै कसिलो कानून बनाउनु पर्ने बताए ।
यो पनि पढ्नुहोस्
नेपाली महिलालाई ओमान, कुवेत र कुर्दिस्तान पठाउने गिरोह सक्रिय