काठमाडौं, कात्तिक १०
घरेलु कामदारका लागि नेपाली महिलालाई भारतको बाटो हुँदै श्रीलंका पुर्याएर ओमन, कुवेत र कुर्दिस्तान पठाउने गिरोह सक्रिय देखिएको छ । कात्तिक ७ गते चार र ८ गते तीनजना यसरी पठाइएका महिला श्रीलंकाबाट डिपोर्ट भएपछि गिरोहको सक्रियता प्रकाशमा आएको हो । नयाँदिल्लीबाट श्रीलंका पठाउने गरिएकोमा प्रहरीको निगरानी बढेपछि मानव तस्करहरूले दिल्लीबाट चेन्नई पुर्याएर श्रीलंका पठाउने गरेको पनि देखिएको छ ।
मानव तस्करीको जालोमा परेका १८ महिला र १ पुरुष गत असोजमा श्रीलंकाबाट फर्किएका थिए भने जेठमा १५ महिला फिरेका थिए । महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार यसरी डिपोर्ट भएर फर्किनेमध्ये अधिकांश दलित र आर्थिक रूपमा विपन्न समुदायका महिलाहरू छन् । असोजमा फर्केकामध्ये अधिकांश एकल महिला थिए ।
प्रहरीकहाँ आएका अधिकांश पीडितहरू कि त दलालको नाम र सम्पर्क खुलाउन सक्दैनन्, खुलाएकाहरूले पनि विस्तृत जानकारी दिन सक्दैनन् । जसले गर्दा मानव तस्करीमा संलग्नको पहिचान गर्न समस्या परेको प्रहरीको भनाइ छ ।
महाशाखाका एसपी प्रकाशजंग कार्कीका अनुसार धेरैजसोका दलालहरू भने आफ्नै आफन्त वा परिवारका सदस्यहरू छन् । कार्कीका अनुसार जुन-जुन देशमा सरकारले प्रतिबन्ध लगाउँछ र नियममा कडाइ गर्छ, त्यहीं दलालहरूको सक्रियता धेरै देखिन्छ ।
नेपाली दलालको सम्पर्क सूत्रमार्फत भारतीय दलालको सम्पर्कमा पुग्ने महिलाहरू भारतीयकै ‘सेटिङ’ मार्फत श्रीलंका पुगेको देखिन्छ । हप्तौंको भारत बसाइ र लामो श्रीलंका बसाइ हुँदै दलालहरूले अवैध रूपमा कामदारहरू गन्तव्य मुलुक पुर्याउँछन् । पीडितहरूका अनुसार नयाँदिल्लीदेखि श्रीलंका हुँदै गन्तव्य मुलुक पुग्न दुई महिनासम्म लाग्ने गरेको छ ।
सार्क मुलुक श्रीलंकामा नेपालीलाई अन अराइभल भिसाको सुविधा छ । त्यसैको दुरुपयोग गर्दै एजेन्टहरू नेपाली महिलाको तस्करी गर्छन् । पछिल्लो पटक श्रीलंकाबाट फर्केकाहरूलाई त्यहाँस्थित एजेन्ट अली अक्सले सेटिङमा किर्गिस्तान र ओमान पठाउन खोजेको देखिन्छ ।
श्रीलंका रुटलाई नजिकबाट हेरिरहेका प्रहरी निरीक्षक राजेश पुरीका अनुसार यसरी अवैध रूपमा कामदार पुर्याएबापत दलालहरूले एजेन्सीबाट प्रतिव्यक्ति झन्डै तीन लाख रुपैयाँ बुझछन् ।
पुरीका अनुसार धेरैजसो अशिक्षित र दुर्गम भेगका महिलाहरू भएका कारण उनीहरूले तस्करीबारे विस्तृतमा बताउन सक्दैनन् । उनीहरूलाई आफूलाई पठाउने र लिन आउने एजेन्टबारे पनि थाहा हुँदैन । भारतीय एजेन्टले श्रीलंकाका एजेन्टलाई आफूले पठाएका महिलाको तस्बिर पठाएका हुन्छन् । त्यसैका भरमा उनीहरूलाई एजेन्टले पहिचान गर्छन् ।
एसपी सहकुल थापाका अनुसार श्रीलंकाबाट डिपोर्ट हुने क्रम पछिल्लो समय बढदो छ । जसले श्रीलंका रुट मानव तस्करहरूका निम्ति चल्तीको रुट बन्दै गएको देखिन्छ । थापा भन्छन्, ‘तस्करी रोक्न, प्रहरी, कूटनीतिक निकाय, श्रम मन्त्रालयले समन्वय गरेर एकैचोटि सक्रिय हुनुपर्ने देखिन्छ ।’
गत असारमा मानव तस्करी र वैदेशिक रोजगारीमा नेपालीको समस्या बुझ्न सरकारी टोली नै श्रींलका र मलेसिया पुगेको थियो । महाशाखाका एसएसपी सर्वेन्द्र खनाल नेतृत्वको टोलीले त्यतिबेला श्रीलंकाली समकक्षीलाई भेटेर यसबारे अवगतसमेत गराएको थियो । तत्कालीन श्रममन्त्री दीपक बोहोरालाई उक्त टोलीले तस्करी रोक्न भन्दै प्रतिवेदन पनि बुझाएको थियो ।
कान्तिपुरबाट
यो पनि पढ्नुहोस्
युएईमा घरेलु कामदारमा नेपाली महिला जान सुरु