
काठमाडौं, कात्तिक ९
नेपाल प्राविधिक संघ (नेफ्टा) ले आगामी पुसमा दुबईमा आयोजना गर्ने अवार्डमा उत्कृष्ट फिल्मका लागि पशुपति प्रसाद, प्रेमगीत, कबड्डी कबड्डी, वडा नं ६ र क्लासिकबीच भिडन्त हुने भएको छ। गत आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा २०७२ सालमा प्रदर्शित फिल्ममध्ये कूल ३१ विधामा उत्कृष्ट ५ मा पर्नेको नाम सार्वजनिक गरिएको हो। बक्स अफिसमा औसत व्यापार गरेको क्लासिक सर्वाधिक १७ विधामा मनोनयनमा परेको छ।
सार्वजनिक मनोनयनमा उत्कृष्ट नायकका लागि दयाहाङ राई (कबड्डी कबड्डी), सौगात मल्ल (फन्को), नाजिर हुसेन (होस्टल रिटर्न्स), खगेन्द्र लामिछाने (पशुपति प्रसाद) र आर्यन सिग्देल (क्लासिक)बाट मनोनयनमा परेका छन् । नम्रता श्रेष्ठ (क्लासिक), केकी अधिकारी (फन्को), ऋचा शर्मा (को आफ्नो), पूजा शर्मा (प्रेमगीत) र मेनुका प्रधान (रेशम फिलिली) बाट उत्कृष्ट नायिकाको ५ भित्र अटाएका छन्।
परराष्ट्रमन्त्री प्रकाशशरण महतको प्रमुख आतिथ्यबीच सार्वजनिक मनोनयन जुरी संयोजक भरत शाक्यले पढेर सार्वजनिक गरेका थिए। भरतसँगै निलहरि काफ्ले, प्रकाशजंग कार्की, सरिता लामिछाने र विष्णु कल्पित सम्मिलित टोलीले उत्कृष्ट ५ को नाम टुंगो लगाएको हो।
जुरीबाहेक नेफ्टा स्वयंले भने तीन पपुलर विधामा अवार्ड प्रदान गर्दै आएको छ। फिल्म, नायक र नायिका गरी तीन विधामा प्रदान गर्दै आएको अवार्डमा फिल्मतर्फ ड्रिम्स, नाइँ नभन्नू ल ४, प्रेमगीत, पशुपति प्रसाद, कबड्डी कबड्डी पपुलर फिल्मको रुपमा मनोनयनमा परेका छन् भने पपुलर नायकमा अनमोल केसी (ड्रिम्स), प्रदिप खड्का (प्रेमगीत), दयाहाङ राई (कबड्डी कबड्डी), आर्यन सिग्देल (क्लासिक), निखिल उप्रेति (भैरव) मनोनयनमा परेका छन्। यस्तै पपुलर नायिका तर्फभने साम्राज्ञीराज्य लक्ष्मी शाह, पूजा शर्मा, नम्रता श्रेष्ठ, प्रियंका कार्की र केकी अधिकारी मनोनयनमा अटाएका छन्।
कार्यक्रममा नेफ्टा अध्यक्ष पुस्कर लामाले अवार्ड पुस ८ गते युएईको दुबईमा आयोजना गरिने जानकारी गराए। अवार्डलाई निस्पक्ष बनाउने दाबी गरेका उनले अवार्डका लागि सय जनाभन्दा बढी कलाकार तथा प्राविधिक दुवई लगेर अवार्ड भव्य बनाउने वाचा गरे। कार्यक्रममा चलचित्र विकास बोर्ड अध्यक्ष राजकुमार राई, साँस्कृतिक संघ अध्यक्ष राजेश थापा आदिले अवार्डको सफलताको कामना गरेका थिए।
नागरिकबाट
यो पनि पढ्नुहोस्
युएईमा भूमिगत शैलीका भए राजनीतिक दलका संगठनहरु