तलव माग्दा घर फर्काइयो नेपाली कामदारलाई 

काठमाडौं, कात्तिक ५ 

सात महिनादेखि रोकिएको तलब माग्दा कोरियामा रेष्टुरेन्ट ब्यवसाय गर्दै आएका नेपाली ब्यवसायी तेन्जिङ (डिबी) लामाले कुक कमल श्रेष्ठलाई स्वदेश फिर्ता पठाएका छन् । 

लामाले कोरियाको सोलस्थित म्याङदोङमा ८ वर्षदेखि पोतला रेष्टुरेन्ट चलाउँदै आएका थिए । ‘गएदेखि नै तलब नियमित दिने गरेको थिएन । पछिल्लोपटक सात महिना तलब रोकिएको थियो । घरमा ऋण तिर्नु छ, पैसा चाहियो भनेर दशैं अघि भनेको थिएँ । उनले एक्कासी तिमी नेपाल जाऊ भन्दै टिकट दिए’, नेपाल आइपुगेका रामेछापका कमलले भने ,‘मेरो भिसा आउँदो मे महिनामा सकिन्थ्यो । त्यत्रो लगानी गरेर गएको थिएँ । पुरा काम गर्न नपाई फर्किनु पर्‍यो ।’ घर पठाउने बेला भने ६० हजार रुपैयाको दरले हिसाव गरी रकम दिएका थिए । 

कमल १२ मे २०१५ मा ब्यक्तिगत श्रमस्वीकृति लिएर कोरिया गएका थिए । कोरियामा दक्ष कामदार (कुक) मा काम गर्न  ‘इपियस’बाट जानु पर्दैन । ‘लामा कुक खोज्दै नेपाल आएका थिए । उनीसँग मेरो सम्पर्क भयो । कोरिया जान ४ लाख रूपैयाँ उनको बुबालाई लगेर घरमै बुझाएँ’, उनले भने ,‘१५ लाख कोरियन (करिब १ लाख ५० हजार रुपैयाँ) को सम्झौता गरेका थिएँ ।’ 

लामाले कोरिया पुगेपछि ६० हजार रुपैयाँ मात्रै तलब दिन थालेका थिए ।  ‘१५ लाख कोरियन पैसा त कोरियनले पनि पाउँदैन’, व्यवसायी लामाले भने, ‘उसलाई जति दिनु थियो, दिएकै छु । मेरो उल्टो बदनाम गर्ने काम भएको छ । उ काम नगरी भागेको हो ।’ 

पीडित श्रेष्ठले क्षतिपूर्तिको दावी गर्दै बैदेशिक रोजगार विभागमा उजुरी दिएका छन् । उनले न्यायको लागि कोरियास्थित गैरआबासीय नेपाली संघ, सामाजिक संस्थाहरु र नेपाली दुताबासलाई समेत अनुरोध गरेका थिए ।

सोलस्थित नेपाली दुताबासका श्रम सहचारी देवराज ढकालले इपिएसमा आएका कामदारको मात्रै मुद्दा हेर्न मिल्ने भन्दै विभागमा उजुरी दिन सुझाव दिएर पठाएको बताए । ‘कोरियामा सरकार सरकारबीच सम्झौता भए अनुसार इपिएस अन्तर्गत आएका कामदारको मुद्दा मात्रै हेर्ने हामीलाई अधिकार छ’, उनले भने, ‘ब्यक्तिगत रुपमा दुई पक्षीय सम्झौता अनुसार आएकालाई हेर्ने अधिकार छैन ।’

कान्तिपुरबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय