
काठमाडौं, कात्तिक ४
नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) ले आफ्ना सदस्यहरुलाई असाध्य रोग लागेमा सहयोग गर्न गठित कोषमा डेढ करोड जम्मा भएको छ । कोषमा ७५ लाख जिफन्ट आवद्ध विभिन्न घटकका ईकाईले जम्मा गरेका छन् भनें त्यति नै रकम जिफन्ट केन्द्रले थपेको छ । सो कोष मार्फत अव जिफन्टले हरेक बर्ष १० जना आफ्ना सदस्यहरुलाई प्रतिव्यक्ति ४० हजार सहयोग गर्ने घोषणा गरेको छ ।
महासंघद्धारा गठित ऐक्यवद्धता कोषको प्रथम केन्द्रीय भेला आयोजनाका अवशरमा यस्तो जानकारी दिइएको हो । भेलामा कोषमा प्रति ईकाई रु २५ हजार योगदान गरेका ३ सय ईकाईका प्रतिनिधिहरु सहभागि थिए ।
भेलाले ११ सदस्यीय कोष सञ्चालक समिति समेत गठन गरेको छ । महासंघका महासचिव विष्णु लम्सालको अध्यक्षतामा गठित सञ्चालक समितिमा जिफन्ट केन्द्रबाट थप ५ जना प्रतिनिधि छन् भनें रकम योगदान गर्ने घटकहरुबाट ५ जना छन् ।
भेलामा बोल्दै जिफन्ट अध्यक्ष विष्णु रिमालले जिफन्टले देखेको एउटा सपना पूरा भएको बताए । जिफन्टको आन्दोलनमा हाल तीन पुस्ता रहेको भन्दै ऐक्यवद्धता कोष वर्तमान पुस्ताद्धारा अर्को पुस्तालाई हस्तान्तरण गरिने एउटा महत्वपूर्ण उपलव्धी भएको उनको भनाई थियो ।
भेलामा बोल्दै अध्यक्ष रिमालले कोष बनाउने परिकल्पनामा जिफन्ट सदस्यका सन्तानलाई डाक्टर, ईञ्जिनियर जस्ता विषय अध्ययन गर्न आर्थिक समस्या परेमा सघाउने समेत रहेपनि सुरुमा यसलाई स्वास्थ्य सहयोगबाट सुरु गरिएको जानकारी गराए । उनले कोषमा रकम थपिने क्रम जारी रहने र व्याज समेत प्राप्त हुन थालेपछि कोषलाई त्यसमा पनि विस्तार गर्ने बताए ।
मुटु रोग, मृगौला रोग वा रक्तक्यान्सर जस्ता रोग लागेका र आवश्यकता हेरेर पहिलो बर्ष १० जना जिफन्ट सदस्यले प्रतिव्यक्ति रु ४० हजार सहयोग पाउनेछन् । सुरुमा २ सय ईकाई सहभागि हुने अनुमानका साथ सुरु गरिएको कोषमा ३ सय ईकाईले रकम जम्मा गरेर एकले थुकी सुकी सयले थुकी नदी भन्ने उखान चरितार्थ भएको अध्यक्ष रिमालको भनाई थियो । संसारका अन्य केहि देशमा पनि ट्रेड यूनियनहरुले यसरी नै कोष बनाएको भन्दै अध्यक्ष रिमालले राज्यको सामाजिक सुरक्षा कोष ऐन मार्फत स्वास्थ्य सहयोग प्राप्त हुन थालेपछि ऐक्यवद्धता कोषको सहयोगलाई शिक्षामा केन्द्रीत गर्न सकिने धारणा राखे ।
सो अवशरमा जिफन्ट महासचिव विष्णु लम्सालले मुलधन नमास्ने नीति अनुरुप सुरुमा प्रतिव्यक्ति ४० हजार सहयोग दिने निर्णय गरिएको बताए । “यो कोषलाई जीवन्त बनाउनु पर्छ” महासचिव लम्सालले भने “यसमा आगामी दिनमा रकम थपिंदै जान्छ र व्याज पनि थपिंदै गएपछि हामीले दिने सुविधा पनि बढाउँदै लग्यौं भनें यो दिर्घजीवि हुन्छ ।”
भेलामा जिफन्टका विदेश विभाग सचिव समेत रहेका अधिवक्ता रमेश बडालले कोषको नियमावलीका बारेमा जानकारी गराएका थिए । एक श्रमिकको समस्या, हामी सवैको संलग्नता भन्ने नारा सहित गठन गरिएको कोष आगामी जनवरी १ तारिख देखि सञ्चालनमा आउनेछ ।
यो पनि पढ्नुहोस्
अलपत्र परेका १६ जना नेपालीको उद्धार