काठमाडौ, कात्तिक ३
यातायात मजदुरको क्षमता एवं नेतृत्व विकाससम्बन्धी अन्तराष्ट्रियस्तरको तालिम सुरु भएको छ । अन्तराष्ट्रिय यातायात मजदूर महासंघ (आईटिएफ)को आयोजनामा दक्षिण एशियाली देशका यायायात क्षेत्रका मजदूर तथा नेताहरुको सहभागीतामा ३ दिने तालिम सुरु भएको हो ।
तालिमको उद्घाटन नेपाली कांग्रेसका महामन्त्री एवं साँसद डा. शेखर कोइरालाले गरे । कार्यक्रमको उद्घाटन गर्दै कोईरालाले सडकमा गाडी कुदाउने मात्रै नभएर हवाईजहाज, रेल, पानी जहाज चलाउनेहरु पनि यातायात मजदुर नै भएको बताए । आईटिएफले सबैलाई संगठीत पार्दै तालिम प्रदान गर्नु सुखद रहेको भन्दै कार्यक्षमता विकास गर्ने यस किसिमको तालिमले सीप, क्षमता विस्तार गर्नमा महत्वपूर्ण योगदान पुर्याउने उनले बताए ।
कार्यक्रममा नेपाल यातायात मजदुर संघका अध्यक्ष अजयकुमार राईले सहभागी सबैलाई स्वागत गरेका थिए । त्यस्तै नेपाल यातायात स्वतन्त्र मजदुर संगठन (इटवान)का उपाध्यक्ष अर्जुन अर्यालले मजदुरको नेतृत्व विकासमा आईटिएफले नेपाललाई छनौट गरेर तालिम प्रदान गरेकोमा आयोजकलाई धन्यवाद दिए । उनले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्नेतर्फ ध्यान दिन सहभागीलाई आग्रह गरे ।
३ दिनसम्म चल्ने तालिममा नेपाल, भारत, बंगलादेश, श्रीलंका लगायत मुलुकका ३५ जना सहभागि छन् । तालिमपश्चात् दक्षिण एसियाली मुलुकहरुका यातायात क्षेत्रका मजदुर संघ संगठनहरुको नेतृत्व विकासमा महत्वपूर्ण सहयोग पुग्ने र आपसी सहयोग आदान प्रदान हुने अपेक्षा गरिएको छ ।
यो पनि पढ्नुहोस्
हुण्डी कारोवारी जोगाउन गृहमन्त्री नै अघि सरेपछि