खाडी लैजाँदै गरिएका १९ नेपाली युवती श्रीलंकाबाट फिर्ता  

काठमाडौं, असोज ३० 

भारतको नयाँदिल्ली हुदैँ श्रीलंका पुगेका १९ जना युवतीलाई त्यहाँको अध्यागमन कार्यालयले फिर्ता पठाइदिएको छ। शंकास्पद लागेको भन्दै श्रीलंकाको अध्यागमन विभागले उनीहरुलाई श्रीलंका प्रवेशमा रोक लगाएर नेपाल फिर्ता गरिदिएको छ। काँकडभिट्टा, विराटनगर र महेन्द्रनगर नाका हुँदै दिल्ली पुगेका उनीहरु त्यहाँबाट श्रीलंका गएका थिए। श्रीलंका हुदैँ खाडी मुलुकमा काम गर्न गएका उनीहरुलाई श्रीलंकाको अध्यागमन विभागले नै रोकेको हो। 

केही समयअघि एसएसपी सर्वेन्द्र खनाल, श्रम मन्त्रालय र अध्यागमनका कर्मचारीहरु श्रीलंका जाँदा मानव बेचबिखनका विषयमा त्यहाँको अध्यागमनसँग छलफल भएको थियो। एक महिनाअघि पाकिस्तानमा भएको सार्क मन्त्री स्तरीय बैठकमा पनि अध्यागमन विभागका निर्देशक केदार न्यौपानेले श्रीलंकाका अध्यागमन प्रमुखसँग पनि त्यस विषयलाई गम्भीर रुपमा लिन आग्रह गरेका थिए । त्यस क्रममा शंका लागे स्वदेश फिर्ता पठाइदिने श्रीलंकाको अध्यागमनले प्रतिबद्धता जनाएस्वरुप उनीहरुलाई फिर्ता पठाइएको अध्यागमन कार्यालयले जनाएको छ।

उनीहरु नेपाल आएपछि अध्यागमन कार्यालयले थप अनुसन्धानका लागि महानगरीय अपराध महाशाखामा पत्र पठाएको छ। ती युवतीहरु अहिले माइती नेपालको संरक्षणमा छन्। उनीहरुलाई अवैध बाटो हुँदै श्रीलंका पुर्याउने एजेन्टहरुको बारेमा महाशाखाले अनुसन्धान गरिरहेको डिएसपी होविन्द्र बोगटीले बताए।

नेपाली युवतीहरुलाई दिल्ली हुँदै श्रीलंका लैजाने र त्यहाँबाट खाडी मुलुकमा एजेन्टले बेच्ने गरेको अनुसन्धानमा देखिएको उनले बताए।  नेपाल फिर्ता भएका युवतीहरु सिन्धुपाल्चोक, मोरङ, दोलखा, झापा, बाँके लगायत जिल्लाका छन्।

उनीहरुलाई श्रीलंका हुदैँ ओमन, कुवेत र कुर्दिस्तानमा हाउस मेडमा लैजान लागिएको उनले बताए। उनीहरुसँग एजेन्टले एक रुपैयाँ पनि नलिई लैजान लागेको खुल्न आएको छ। अनुसन्धानका क्रममा ती युवतीहरुको पासपोर्टसमेत दलालले बनाइदिएको स्रोतले बतायो। 

विदेश जानका लागि आवश्यक पर्ने कपडा लगायतका मेकअपका सामानहरु पनि दलालले नै किनिदिएको एक युवतीले बताइन। प्रहरीको उच्च स्रोतका अनुसार एक जना युवती खाडी मुलुकमा लगेवापत नेपाली दलाले कम्तीमा पनि ३ लाख रुपैयाँ पाउँछन्।

त्यस्तै अपराध महाशाखाले दिल्लीबाट श्रींलका हुदैँ ओमन पुगेका २ जना महिलाको पनि उद्धार गरेको छ।  दुई महिलालाई महाशाखाले उद्धार गरेको डिएसपी बोगटीले बताए। उनीहरू दिल्लीबाट श्रीलंका हुँदै ओमन पुगेका थिए। शारजाँहमा १६ सय दिराम र ओमनमा आफूहरु १८ सय दिराममा आफू बेचिएको उनीहरुले बताए।

सेतोपाटीबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय