तुफान घिमिरे, यूएई, असोज २५
दुबईमा रहेका नेपालीले विभिन्न स्थानमा सामूहिक र छुट्टा छुट्टै रुपमा टिका लगाएर बडादशैं मनाएका छन् । परदेशमै भएपनि दशैंको टिका लगाएर हिंडिरहेका नेपालीको चहलपहल देख्दा बरदुबई क्षेत्र दशैंमय देखिएको थियो ।
दशैंको मुख्य दिनका रुपमा लिईने टीकाको दिनमा आफूभन्दा ठूला ब्यक्तिबाट टीका ग्रहण गरेर यहाँका नेपालीले यो पर्वलाई आपसमा शुभकामना साटासाट गर्दै मनाएका छन् । दबुईका विभिन्न लेबर क्याम्पमा रहेका नेपालीले सामूहिक रुपमा भेला भई टीका लगाएर र विभिन्न परिकार बनाइ दशैं मनाएका हुन् । घरबाट टाढा रहेपनि आफ्नो चाडबाड मानेका नेपाली देख्दा घर जान जान नपाएकाहरुमा छुट्टै किसिमको खुशी देखिन्थ्यो ।
दशैंको टीकाकै दिन दुबईमा रहेको एभरेष्ट रेष्टुरेण्ट ग्रुपले पनि टीका, जमरा र प्रसादको ब्यवस्था गरेको थियो । एभरेष्ट रेष्टुरेण्ट ग्रुपका सञ्चालक डा. दिनेश आचार्यका ८० वर्षीय मातापिता डिल्ली प्रसाद आचार्य र मिठु आचार्यले टीका र आशिर्वाद प्रदान गर्नु भएको थियो । हिमालयन रेष्टुरेण्ट, बरदुबईमा आयोजना गरिएको कार्यक्रममा झण्डै २ सय ५० जना नेपालीले टीका ग्रहण गरेका थिए । टीका लगाउन आउने नेपालीका लागि रेष्टुरेण्टले सेल रोटीको साथमा दक्षिणाको पनि ब्यवस्था गरेको थियो । रेष्टुरेण्टमा टिका लगाउन आउने नेपालीहरु घरबाट टाढा रहेर पनि टिका र आशिर्वाद लिन पाएकोमा दंग देखिन्थे ।
यता, नेपालीको सगरमाथा रेष्टुरेण्टले पनि टिका लगाउने ब्यवस्था गरेको थियो । नेपाली समाजका अध्यक्ष चन्द्र प्रसाद सापकोटा लगायतले टीका लगाउन आएका नेपालीलाई आशिर्वाद प्रदान गरेका थिए ।
यस बाहेक आफू बसेको कोठामा रहेका नेपालीहरुले आपसमै टिका लगाएर दशैं पर्व मनाएका छन् । परदेशमा रहेर पनि आफ्नो ड्युटी समय मिलाएर नेपालीहरुले घर सम्झदैं आपसमै मिलेर दशैं पर्व मनाइरहेका छन् ।
यो पनि पढ्नुहोस्
कतारको नयाँ कानूनका महत्वपूर्ण १३ विषय, पासपोर्ट राखेमा जरिवाना देखि कम्पनी फेर्न पाइने सुविधा