युएई, असोज २२
नेकपा एमालेका युवा नेता योगेश भट्टराईले प्रवासी नेपालीले सामुहिक रुपमा गर्ने लगानीको सुरक्षाका लागि आफुहरु प्रतिवद्ध रहेको बताएका छन् । नेकपा एमालेको प्रचार विभाग प्रमुख समेत रहेका भट्टराईले जलविद्युत तथा उत्पादनमुलक क्षेत्रमा सामुहिक लगानीका लागि आह्वान पनि गरे ।
बिजया दशमीको अवसरमा प्रवासी नेपाली मञ्च, युएईले दुबईको जाविल पार्कमा आयोजना गरेको दशंै मिलन कार्यक्रममा बोल्दै भट्टराईले राज्यको ध्यानाकर्षण गराउन तथा सबै राजनीतिक दलका तर्फबाट सहयोग जुटाउन आफुहरु क्रियाशिल रहने बताए । लगानीमा मात्र हेरेर प्रहरीको मात्र नभई नेपाली सेनाको सुरक्षा दिन तथा राजनीतिक दलका मातृ संगठनहरुले माग्ने चन्दा रोक्नका लागि पहल गर्न सकिने उनको भनाई थियो ।
लामो समय अधिकार प्राप्तीको लडाई चलेको र संविधान निर्माण पछि मुलुकको पुननिर्माणको चरण शुरु भएको उनको भनाई थियो । भर्खरै निर्माणको चरणमा प्रवेश गरेकाले केही असहजता देखिएपनि नेपालमा लगानीको वातावरण नै छैन भन्नु गलत भएको नेता भट्टराईको दावी थियो ।
संविधान उत्कृष्ट
नेपालको वर्तमान संविधान विश्वकै उत्कृष्ट संविधान भएको भटटराईको दावी छ । गतिशिल समयसंगै यसमा नयाँ कुरा समावेश गर्नुपर्ने भएपनि अहिलेको परिवेशमा विश्वका अन्य मुलुकसंग तुलना गर्दा नेपालको संविधान उत्कृष्ट संविधान भएको भटटराईको भनाई छ । अहिले तराईबासी तथा पहाडी क्षेत्रका जनजातिका केही असन्तुष्टी संविधानका बिषयमा देखिएपनि त्यसलाई छलफल र वार्ताका माध्यमबाट समाधान गर्न सकिने उनले बताए । संविधान संसोधननै गर्नु हुँदैन भन्ने पक्षमा नेकपा एमाले नभएपनि मुलुकको राष्ट्रीय एकता, अखण्डता जस्ता मुद्धामा एमालेले सम्झौता नगर्ने उनले बताए । नेपाल कुनै एक जातिले मात्र निर्माण नगरेकाले सबै जनजातिले अपनत्व अनुभुति गर्ने गरि मुलुकको निर्माणको चरण अगाडी बढाउनु पर्नेमा उनले जोड दिए ।
निर्वाचनमा ध्यान दिन आग्रह
नेकपा एमाले पुर्ण बहुमत सहितको सरकार निर्माणका लागि आगामी निर्वाचनको तयारीमा जुटेको भटटराईले बताए । अगामी निर्वाचनमा आफ्ना घर परिवार तथा नातागोतालाई फोन गरेर सुर्य चिन्हमा भोट हाल्ने वातावरण बनाउन उनले आह्वान गरे । प्रवासमा रहेका नेपाली नागरिकलाई प्रवासबाटै भोट दिने वातावरण बनाउने बिषयमा नेकपा एमाले सकारात्मक भएको भन्दै उनले यसका बिषयमा निर्वाचन आयोगले आवश्यक गृहकार्य गरि रहेको पनि बताए । नेपालको निर्वाचन प्रत्यक्ष निर्वाचन हुने भएकाले यसमा केही जटिलता देखिएको उनको भनाई थियो ।
यो पनि पढ्नुहोस्
बैदेशिक रोजगारमा रहेकाहरुले भोट हाल्न पाउनु पर्ने पक्षमा उभिए १३ जना साँसद