विदेश बस्ने नेपालीले अव तीनजना साथि नेपाल घुम्न पठाउने 

काठमाडौं- गैरआवासीय नेपाल संघ (एनआरएनए) ले सन् २०१७ सम्ममा नेपालमा १६ लाख पर्यटक भित्र्याउने अभियान सुरु गरेको छ । नेपाल सरकार र एनआरएनएबीच भएको ‘अतिथि देवो भवः’ नामको प्रवद्र्धन कार्यक्रमको कार्ययोजनाअनुसार यो लक्ष्य निर्धारण गरिएको हो । नेपालमा हाल वार्षिक करिव ७ लाख पर्यटक भित्रिने गरेका छन् । एनआरएनले कार्ययोजना प्रस्तुत गर्दै सन् २०१७ को अन्त्यसम्ममा १६ लाख पर्यटक भित्र्याउने जनाएको छ ।

“अतिथि देवो भवः कार्यक्रममा एक गैरआवासीय नेपाली बराबर ३ साथी नेपाल घुम्न पठाउने अभियान सुरु गर्न लागेका छौं,” एनआरएनए उपाध्यक्ष तथा पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष भवन भट्टले भने । एआरएनएअन्तर्गत रहेको पर्यटन प्रर्वद्धन समितिले बिहीबार आयोजना गरेको कार्यक्रममा भट्टले विश्वका ७५ देशमा ५० लाखभन्दा बढी नेपालीहरू रहेको उल्लेख गर्दै ती गैरआवासीय नेपालीमार्फत जन्मभूमिको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान गर्ने प्रतिबद्धता जनाए ।  

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले अब नेपालको पर्यटन प्रवद्र्धन गैरआवासीय नेपालीले मात्र गर्न सक्ने उल्लेख गर्दै सहकार्यका लागि सरकार तयार रहेको बताए । “अतिथि देवो भवः कार्यक्रमबाट सुरु भएको सहकार्य अब निरन्तर रहने छ, यसले नेपालको पर्यटन क्षेत्रलाई टेवा पुग्नेछ,” सचिव अधिकारीले भने । नेपालको पर्यटन विकासमा हवाई क्षेत्रको पहुँच विश्वका ठूला सहरहरूमा विस्तार गर्न नसक्दा समस्या भएको उल्लेख गर्दै उनले अब नेपाल वायुसेवा निगमलाई बलियो बनाउन जहाज खरिद प्रक्रिया अगाडि बढाइएको बताए । पर्यटन पूर्वाधार निर्माणमा सरकार लागिपरेको उल्लेख गर्दै उनले  गैरआवसीय नेपालीले पर्यटन क्षेत्रमा लगानी विस्तार गर्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष शेष घलेले विश्वका ७५ मुलुकमा सञ्जाल रहेको संघले पर्यटन क्षेत्रमा ठूलो योगदान गर्न सक्ने बताए । “७५ वटा देशमा विभिन्न गतिविधि नेपाल पर्यटन बोर्ड र नेपाल सरकारसँगको सहकार्यमा गर्ने गरी अतिथि देवो भवः कार्यक्रम अगाडि बढाइएको छ,” अध्यक्ष घलेले भने ।  उनले बोर्डलाई जुनसुकै काम गर्दा पनि संस्थागत सहकार्य गर्न सुझावसमेत दिए । 

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले  गैरआवासीय नेपाली संघसँगको सहकार्यले नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए । “हामीले संघसँग मिलेर अतिथि देवो भवः कार्यक्रमलाई अगाडि बढाएका छौं, जुन कार्यान्वयन सकारात्मक हुँदै गएको छ,” जोशीले भने । हरेक वर्ष नेपालमा विदेशी पर्यटकको घुम्ने संस्कृति बढ्दै गएको उनले जानकारी दिए ।

अभियानका प्रमुख डा. पुष्प अधिकारीले छिमेकी मुलुक भारत र चीनको तुलनामा नेपालमा साह्रै न्यून पर्यटक आगमन हुने गरेको बताए । विश्वभर पर्यटनमा अगुवाइ गरेका देशको बीचमा रहेको नेपालको यस क्षेत्रमा पनि उपस्थिति बलियो बनाउनुपर्ने धारणा उनले राखे । 

कार्यक्रममा डेनमार्कका लागि पर्यटन प्रवद्र्धन दूत सोमनाथ सापकोटा र रसियाका लागि पर्यटन प्रवद्र्धन दूत सपीला राजभण्डारीले  प्रस्तुतीकरण गर्दै नेपालमा ती मुलुकबाट पर्यटक भित्र्याउने अथाह सम्भावना रहेको बताए । उनीहरुले बोर्डले गाइडलाइन दिनुपर्ने, अन्तरराष्ट्रिय पहुँचका लागि हवाई मार्गको विस्तार हुनुपर्ने, प्रवद्र्धनात्मक अभियानका सामग्री उपलब्ध हुनुपर्नेमा जोड दिएका थिए । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय