स्वरोजगार र उद्यमशिलतामा एनआरएनएले सघाउने 

काठमाडौं, असोज १८ 

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमै रहेका र बैदेशिक रोजगारीबाट फर्केका नेपाली युवाका लागि स्वरोजगार तथा उद्यमशिलता विकासमा सघाउने भएको छ । युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद् र एनआरएनएको संयुक्त आयोजनामा राजधानीमा सम्पन्न दुई दिने युवा सम्मेलनपछि मंगलबार ‘बोडे घोषणापत्र’ जारी गर्दै यस्तो जानकारी दिइएको हो । मन्त्रालयका सहसचिव तेजराज पाण्डे, परिषदका कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुंगेल र एनआरएनए अध्यक्ष घलेको संयुक्त हस्ताक्षरमा पाँचबुँदे घोषणापत्र जारी गरिएको हो ।

“एनआरएनएबाट लघुवित्त कार्यक्रम स्थापनाको सम्भाव्यता अध्ययन गरी नेपाली र वैदेशिक रोजगारबाट फर्किएका युवालाई नेपालमै स्वरोजगार र उद्यमशीलताका लागि युवा परिषद्सँगको सहकार्यमा प्रभावकारी कार्यक्रम सञ्चालन गरिनेछ” घोषणापत्रमा भनिएको छ । त्यसका निम्ति परिषद्अन्तर्गत यसैवर्ष युवा विप्रेषण तथा सामाजिक सुरक्षा कोष निर्माण गरी एनआरएनएका तर्फबाट समेत आर्थिक सहयोग जुटाउने उल्लेख छ । साथै युवा, रोजगार, उद्यमशीलता, सिप विकास र गरिवी निवारण विषयमा प्रस्तुत कार्यक्रममा समावेश भएका परियोजनालाई परिषद् र एनआरएनएको साझेदारीमा प्रत्येक प्रदेशमा कम्तिमा एकएकवटा प्रविधि प्रयोग गरी नमूना का रुपमा सञ्चालन गर्ने, युवा परिषद्ले रोजगारी प्रवर्दनका लागि प्रत्येक प्रदेशमा सञ्चालन गर्ने एक एकवटा मेगा परियोजना स्थापना र सञ्चालनमा गैरआवासीय नेपालीसहितको साझेदारी रहने भनिएको छ ।

घोषणासभामा एनआरएनए अध्यक्ष शेष घलेले आफूहरू नेपाली युवाको शिक्षा, रोजगारीका निम्ति सीप प्रवद्र्धन गर्न नेपाल सरकारसित सहकार्य गर्न तत्पर रहेको बताए । ‘सम्मेलनमा पेश भएका कार्यपत्र, राष्ट्रिय युवा नीति २०७२ र युथ भिजन २०२५ को मार्गदर्शन तथा उद्देश्य परिपूर्ति गरी नेपाली युवाको सहभागिता, उद्यमशीलताको विकास मार्फत् नेपालको दिगो विकासका लागि नेपाली तथा गैरआवासीय नेपाली युवाको गुणस्तरीय तथा व्यवसायिक शिक्षामा पहुँच बढाउन गैरआवासीय नेपाली संघले खुला विश्वविद्यालय सञ्चालनमा ल्याउन सहयोग पुर्‍याउनेछ,’ घोषणापत्रमा भनिएको छ ।

त्यसैगरी युवामा सामाजिक उद्यमशिलता विकास गर्न युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद् र गैरआवासीय नेपाली संघको संयुक्त पहलमा राष्ट्रिय स्तरको उपराष्ट्रपति उद्यमशिलता नेतृत्व विकास केन्द्र स्थापना गर्ने घोषणा गरिएको छ । व्यावसायिक शिक्षालाई प्रवद्र्धन गर्न तथा युवा उपयोगी सूचना प्रवाह गर्न युवा परिषद्ले एक वर्ष भित्रमा कम्प्युटर एप्लिकेसन निर्माण गरी सञ्चालनमा ल्याउने, गैरआवासीय नेपालीका सन्ततीहरुलाई नेपाली भाषा, कला, सस्कृतिसँग परिचित गराई भाषा संस्कृतिको जगेर्ना गर्न परिषद् र एनआरएनएको सहकार्यमा कार्यक्रम सञ्चालन गर्ने तथा नेपाली समाजमा विद्यमान परम्परागत ज्ञान, सिप र प्रविधिलाई तालिम र औपचारिक शिक्षासँग जोड्न सरकार र सम्वद्ध निकायसँग युवा परिषद्ले पहल गर्ने उल्लेख छ ।

राष्ट्रिय युवा परिषदले सफल उद्यमी युवाको राष्ट्रिय तथ्यांक तयार गरी उनीहरुका अनुभव र सुझाव उपयोग गर्ने, सुरक्षित मातृत्व, प्रजनन् स्वास्थ्य, कुपोषण, सरसफाइ, लागू पदार्थ दुव्र्यसन, प्राथमिक उपचार तथा खोपबारे विद्यालय तथा समुदाय स्तरमा जनचेतना अभिवृद्धि गराउन आवश्यक प्राविधिक जनशक्ति व्यवस्था तथा आर्थिक सहयोग गर्ने, फरक क्षमता भएका युवा दृष्टिविहिन, सुस्त श्रवण, शारीरिक अपाङ्गता भएका व्यक्तिका लागि सहयोग सामग्री वितरण गर्ने पनि घोषणापत्रमा उल्लेख छ ।

यो पनि पढ्नुहोस् 

‘लोग्ने छैन जहाँ जे गरेपनि भयो नी’ भन्ने वचनले बसिसक्नु छैन 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय