
युएई, असोज १७
युएईमा कार्यरत कामदारलाई समयमा तलव नदिइएमा कारवाही गर्ने व्यवस्था सहितको कानून लागु हुने भएको छ । यो व्यवस्था आज देखि लागु हुने जनाइएको छ । मानव संशाधन मन्त्रालयले यसको जानकारी दिंदै कानून पालना नगर्ने कम्पनीहरु कारवाहीमा पर्ने जनाएको हो ।
नयाँ कानून अनुसार १ सय भन्दा बढी कामदार कार्यरत कम्पनीहरुले अव हरेक महिना १० दिनभित्र नै अघिल्लो महिनाको तलव भुक्तान गरिसक्नु पर्नेछ । यसलाई कामदारको तलव सुरक्षा सम्वन्धि व्यवस्था नाम दिइएको छ । यहि प्रकृतिको व्यवस्था कतारमा पनि यसअघि नै लागु भइसकेको छ । तलव ढिलो दिने कम्पनीहरुले थप कामदार मगाउन समेत पाउने छैनन ।
स्थानीय सञ्चार माध्यमहरुका अनुसार मन्त्रायका उपसचिव मोहर अल अवेदले कामदारले काम गरे वापत पाउनु पर्ने तलवको सुरक्षाका लागि मन्त्रालय सचेत रहेको बताए । उनले यसप्रकारको कानूनलाई सदैव युएईले अगाडी बढाउने र यसले रोजगारदाता र कामदारबीच सम्वन्ध राम्रो बनाउने बताए ।
यो नियम पालना नगर्ने कम्पनी सञ्चालकले सञ्चालन गर्ने अन्य कम्पनीहरुको काम समेत रोक्का गर्नेगरी कानून बनेको समाचारमा जनाइएको छ । यति गर्दा पनि तलव नदिइएमा कम्पनीको बैंक ग्यारेण्टीबाट तलव भुक्तानी लगायतको काम हुनेछ । यसैगरी त्यस्ता कम्पनीमा कार्यरत कामदारलार्य अन्य कम्पनीमा काम गर्न स्वतन्त्रता दिइने पनि जनाइएको छ ।
यसरी तलवमा ढिलाई गर्ने कम्पनीहरुले ५ हजार देखि ५० हजार दिरामसम्म जरिवाना तिर्नुपर्ने हुन सक्ने जनाइएको छ । १ सय भन्दा कम कामदार कार्यरत कम्पनीमा भनें यसमा केहि लचकता अपनाइएको छ ।
यो पनि पढ्नुहोस्
‘लोग्ने छैन जहाँ जे गरेपनि भयो नी’ भन्ने वचनले बसिसक्नु छैन