
मोहन बस्याल, युएई, असोज १५
युएईमा समस्यामा परेका नेपालीलाई तत्काल सहयोग गर्न सकियोस भनेर निर्माण गर्ने भनिएको कल्याणकारी कोषका लागि करिब साढे सात लाख रुपैया जम्मा भएको छ । कल्याणकारी कोष निर्माणका लागि अभियान चलाई रहेको नेपाली समाजले शुक्रबार बरदुबईमा राखेको समिक्षा कार्यक्रममा आयब्यय विवरण प्रस्तुत गर्दै यस्तो जानकारी दिएको हो ।
कार्यक्रममा समाजका महासचिव मणि भुर्तेलले अगष्ट ५ तारिकमा आयोजना गरिएको कार्यक्रमबाट २५ हजार २ सय ४० दिराम(करिब साढे सात लाख रुपैया) बचत भएको जानकारी दिए । नेपाली समाजले १ लाख दिराम बराबरको कल्याणकारी कोष बनाउने लक्ष्य सहित अभियान शुरु गरेको हो ।
समाजको २६ औ बार्षिक उत्सवको अवसरमा राखिएको कार्यक्रमलाई कोष निर्माण अभियानको रुपमा प्रयोग गरिएको थियो । कोष निर्माणका लागि युएईका ब्यवसायी दिनेश आचार्यले १० हजार दिराम सहयोग गरेका छन् । बाँकी रकम टिकट, स्पोन्सर तथा अन्य दाताबाट प्राप्त भएको नेपाली समाजले जनाएको छ ।
नेपाली समाजका अध्यक्ष चन्द्र प्रसाद सापकोटाले कोष परिचालनका लागि अन्य संघ संस्थाबाट पनि प्रतिनिधित्व हुने गरि समिति निर्माण गरिने जानकारी दिए ।
कार्यविधि निर्माणका लागि समिति
नेपाली समाजको मातहतमा हुने कल्याणकारी कोषको परिचालनका लागि कार्यविधि निर्माणका लागि नेपाली समाजले एक समिति बनाएको छ । नेपाली समाजका कोषाध्यक्ष कृष्ण न्यौपानेको संयोजकत्वमा तीन सदस्यीय समिति निर्माण गरिएको हो । समितिमा पत्रकार मेघराज सापकोटा र कपिलवस्तु समाजका अध्यक्ष नारायण अधिकारी रहेको कार्यक्रममा जानकारी दिईयो । समितिले युएईमा रहेका संघ संस्थाहरुसंग समन्वय गरि कोष परिचालनका लागि आवश्यक कार्यविधि निर्माण गर्नेछ ।
सहयोगीलाई सम्मान
अगष्ट ५ मा आयोजना गरिएको सांगितिक कार्यक्रम सफल पार्न सहयोग गर्ने समाजसेवी, कलाकार, पत्रकार तथा दाताहरुलाई कार्यक्रममा सम्मान गरियो । कार्यक्रममा नेपाली कलाकार समुह युएई, अन्तराष्ट्रिय नेपाली कलाकार समाज, नेपाल आदिबासी जनजाति महासंघ युएई तथा त्यसमा आवद्ध जातिय संगठन, नेपाल पत्रकार महासंघ युएईलाई संस्थागत रुपमा पनि सम्मान गरिएको थियो ।
एकताबद्ध हुन आह्वान
युएईमा दर्ता र अनुमति बिना संस्थाले कार्यक्रम गरे ठुलो आर्थिक जरिवाना गर्ने संकेत देखिएको भन्दै कार्यक्रममा सहभागिले सचेत हुनुपर्ने बताए । उनीहरुले संस्था दर्ता र संचालन प्रकृया खर्चिलो हुने भएकोले धेरै संस्था दर्ता भन्दा सामुहिक रुपमा संस्था दर्ता गरेर अगाडी बढ्नु पर्ने सुझाव दिए । कार्यक्रममा बोल्दै नेपाल आदिबासी जनजाति महासंघ, युएईका अध्यक्ष डेर राज तमुले सरकारले कडाई नगरे हरेक तीनजना नेपालीको एउटा संगठन हुने अवस्था देखिएको भन्दै अव मिलेर थोरै तर सबैले सहभागि हुन मिल्ने संगठन निर्माण गरेर अगाडी बढ्नुपर्ने बताए ।
कार्यक्रममा नमस्ते ट्राभल्सका संचालक तथा नेपाली बिजनेश काउन्सिलका कोषाध्यक्ष एकेन्द्र थापा, नेपाल पत्रकार महासंघ युएईका अध्यक्ष त्रिलोचन कोईराला, नयाँ शक्ति अभियानका संयोजक उत्तम अधिकारी, जनप्रगतिशिल मोर्चा युएईका काशी काफ्ले, नेपाली सोसियल क्लबका अध्यक्ष शालिक सुवेदी, शेर्पा केदुङ युएईका अध्यक्ष पासाङ शेर्पा लगायतले बोल्दै नेपाली समाजको अभियानमा आफुहरु सहयोग गर्न तयार रहेको बताए ।
कार्यक्रमका अध्यक्ष चन्द्र प्रसाद सापकोटाले नेपाली समाज दर्ता प्रकृयामा अगाडी बढेको जानकारी दिदै दर्ताका लागि आदिबासी जनजाति, बुद्धिजीवी लगायतका क्षेत्रका प्रतिनिधि समेटेर अगाडी बढिने जानकारी दिए ।
यो पनि पढ्नुहोस्
साउदीमा बढे नेपाली कामदारका समस्या