
काठमाडौं, असोज १४
नेपालले संयुक्त अरब इमिरेट्समा घरेलु कामदार संस्थागत (म्यानपावर कम्पनीले म्यानपावर कम्पनीलाई) रूपमा पठाउन थालेको छ । सरकारले ‘घरेलु कामदारसम्बन्धी’ निर्देशिका जारी गरेपछि घरेलु कामदारलाई संस्थागत रूपमा पठाउन थालिएको हो । यसअघि व्यक्तिगत रूपमा पठाउने गरिन्थ्यो । तर त्यस्ता कामदारलाई उद्धार गर्न जटिल भएको भन्दै कुवेतस्थित नेपाली दूतावासले प्रतिवेदन पेस गरेपछि दुई वर्ष अगाडि खाडीमा घरेलु कामदार पठाउन रोक लगाइएको थियो ।
वैदेशिक रोजगार विभागले पहिलो चरणमा २२ वटा म्यानपावर कम्पनीलाई यूएईमा ५ सय ५० जना घरेलु कामदार पठाउन पूर्वस्वीकृति दिएको छ । नेपालमा सूचीकृत भएका ती म्यानपावरले यूएईस्थित नेपाली दूतावासमा दर्ता भएका १० म्यानपावरलाई कामदार पठाउने अनुमति पाएका हुन् ।
विभागले घरेलु कामदार पठाउन ३४ वटा म्यानपावरलाई सूचीकृत गरेको छ । त्यसमा २२ वटाले २५ लाख रुपैयाँ धरौटी विभागमा राखी काम सुरु गरेका हुन् । यूएईस्थित दूतावासले १० हजार डलर धरौटी लिई १० वटा म्यानपावरलाई नेपालबाट घरेलु कामदार ल्याउन अनुमति दिएको छ ।
दूतावासले यूएईका म्यानपावरलाई पहिलो चरणअन्तर्गत सय–सय जना कामदार ल्याउन अनुमति दिएको छ । ती म्यानपावर कम्पनीले नेपालका म्यानपावर कम्पनीलाई २५ जनाका दरले घरेलु कामदार पठाउन माग गरेका थिए । त्यसमा विभागले भर्ना छनोट गर्न ५ सय ५० जनालाई पूर्वस्वीकृति दिएको विभागकी निर्देशक रमा भट्टराईले जानकारी दिइन् ।
घरेलु कामदारको मासिक तलब ३ सय डलर (१२ सय दिराम) तोकिएको छ । उनीहरु निःशुल्क रूपमा यूएई जान पाउने छन् । एक जना कामदार लैजान स्पोन्सरले १५ हजार दिराम (झन्डै ३ लाख रुपैयाँ) सम्म खर्च गर्छन् । त्यसबापत नेपालको म्यानपावरले प्रतिव्यक्ति दुई सय डलर कमिसन पाउने गर्छन् ।
वैधानिक रूपमा यसअघि झन्डै १३ सय जना घरेलु कामदार यूएई पुगेका छन् । अवैध बाटो भएर दैनिक ५ जनाको दरले यूएई जाने गरेको बताइन्छ । यूएईमा त्यसरी लगिएका घरेलु कामदार ओमन र कुवेतमा पुग्ने गरेको दूतावासले जनाएको छ ।
कान्तिपुरबाट