काठमाडौं, असोज १४
नेपाली युवाहरूको अन्तराष्ट्रिय सम्मेलन असोज १५ गतेदेखि सुरु हुने भएको छ । नेपालमा पहिलो पटक हुन लागेको यस्तो सम्मेलन दुई दिनसम्म भक्तपुरमा चल्नेछ । युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद् र गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद् (आईसीसी) को संयुक्त आयोजनामा विश्वभरका नेपाली युवा प्रतिनिधिले मुलुकको समृद्धिका लागि छलफल गर्न लागेका हुन् ।
‘युवाहरूमा सामाजिक उद्यमशीलताको विकास, सामाजिक उद्यमशीलता नै देश निर्माणको आधार’ भन्ने नाराका साथ दुई दिने युवा सम्मेलन आयोजना गरिएको परिषदले जनाएको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी कार्यक्रमको तयारी लगभग पूरा भएको जानकारी दिइयो ।
परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलका अनुसार विदेशबाट ५० सहित विभिन्न क्षेत्रमा क्रियाशील ३०० युवा प्रतिनिधि सम्मेलनमा सहभागी हुनेछन् । सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले गर्ने कार्यक्रम छ ।
युवाहरूको क्षमता अभिवृद्धि गरी उनीहरूलाई उद्यमशील बनाउने उद्देश्यका साथ देशभित्र र बाहिर रहेका युवालाई एकैस्थानमा भेला गराउन लागिएको जनाइएको छ । युवाको विकासका लागि तत्कालीन र दीर्घकालीन रणनीतिक कार्यदिशा तर्जुमा गर्ने उद्देश्य रहेको परिषद्ले जनाएको छ ।
युवाका लागि साझा अवधारणा, रणनीति र प्रतिबद्धतासहितको घोषणापत्र जारी गरी सम्मेलन सकिने जनाइएको छ ।
पत्रकार सम्मेलनमा एनआरएनएका महासचिव डा. बद्री केसीले गैरआवासीय नेपालीको संख्या बढाउने इच्छा नरहेको भन्दै मुलुकको समृद्धिका लागि युवाहरू परिचालित हुनुपर्ने धारणा राखे । विदेश गएर आर्जन गरेको सीप, क्षमता स्वदेशमा सदुपयोग गर्न प्रवासी नेपाली तत्पर रहेको उनको भनाइ थियो ।
यो पनि पढ्नुहोस्