धनकुटा-परेवादिन गाविस ७ नाम्जाङका भरत गुरुङ वैदेशिक रोजगारीका क्रममा २०५६ मा कतार गए । पैसा कमाउने उद्देश्यले कतार पुगेका गुरुङ सात वर्षपछि नेपाल फर्किए । अहिले गुरुङले नाम्जाङमा करिब तीन करोड लगानीमा मकालु गाईफर्म सुरु गरेका छन् ।
उनको गाईफर्म व्यवस्थित र व्यावसायिक देखिन्छ । फर्ममा उन्नत जातका गाई बाँधिएका छन् । एकातिर गाईलाई खुवाइने घाँस काट्ने विद्युतीय मेसिन राखिएको छ । अर्कोतिर खोले पकाउने चुलो छ । दुईटा व्यवस्थित गोठ बनाएका छन् । गोठभित्र उन्नत जातका २० गाई छन् । ती सबै इलाम र गोरखाबाट ल्याइएका हुन् । खरिद गरेर घरसम्म ल्याउँदा एउटा उन्नत गाईको लागत दुई लाख रुपैयाँसम्म पर्न गएको सञ्चालक गुरुङले बताए ।
सीएल पढ्दै गर्दा उनी विदेश गएका हुन् । विदेशमा मासिक ५० हजार रुपैयाँसम्म कमाइ हुने गरेको गुरुङले बताए । यही क्रममा आफ्नै देशमा गई केही उद्यम गर्ने सोच आएपछि नेपाल फर्किएको उनले बताए । विदेशबाट फर्केपछि गुरुङले केही वर्ष तरकारी खेती गरे ।
उनी २०६८ सालमा व्यावसायिक गाईपालनमा नाम कमाएका इलाम, गोरखा र काठमाडौंको भ्रमणमा निस्के । गोरखा पुगेपछि राजेन्द्र पन्तको कामधेनु गाईफर्मको अवलोकन गरे । पन्तको गाईफर्म देखेपछि उनले २०७० बाट व्यावसायिक गाईपालन थाले । उनका अनुसार इलाम र गोरखाबाट २० वटा उन्नत गाई खरिद गरेर व्यावसायिक गाईपालन सुरु भएको हो । करिब दुई करोड लगानीबाट सुरु भएको फर्ममा अहिले तीन करोड रुपैयाँ लगानी पुगिसकेको गुरुङले बताए ।
उनले यति बेला फर्म विस्तार गर्ने योजना बनाएका छन् । ५० लाख रुपैयाँ खर्चेर ३२ वटा उन्नत गाई राख्ने आधुनिक फर्म निर्माण गर्न लागेको उनले बताए । नयाँ फर्म माघसम्म सञ्चालनमा आइसक्ने उनको भनाइ छ ।
गुरुङले गाईलाई खुवाउन करिब १५ सय रोपनीमा उन्नत जातको घाँस खेती लगाएका छन् । ५० रोपनी उनको आफ्नै जग्गा हो भने सय रोपनी नजिकका आफन्तसँग भाडामा लिएका छन् । फर्म लगानीकै क्रममा छ । व्यवसायबाट प्राप्त आम्दानी लगानी नै गरिरहेको उनले बताए ।
विदेशबाट फर्केका युवालाई आफूले जानेको सीप स्वदेशमा सदुपयोग गरी उद्यम गर्न उनी सुझाउँछन् । गुरुङले फर्ममा सातजना कामदार राखेका छन् । ती कामदारलाई मासिक सात हजारदेखि १५ हजार रुपैयाँ पारिश्रमिक दिएका छन् । उन्नत गाईलाई खुवाउने दाना खरिदबिक्री गर्न सिँधुवा बजारमा गोदाम स्थापना गरेका छन् । उनले अन्य किसानलाई पनि सहयोग गर्दै आएका छन् ।
फर्मबाट दैनिक सय लिटर दूध उत्पादन भइरहेको छ । गुरुङले दूध कामधेनु दुग्ध उद्योगमा बिक्री गर्छन् । उनलाई सो उद्योगले गाईफर्म खोल्न ऋणसमेत दिएको थियो ।
एक करोड ऋण लिएकोमा अब ३० लाखमात्रै तिर्न बाँकी रहेको उनले बताए । कामधेनुको दुग्ध संकलन केन्द्र तांखुवाको जोरपाटीमा छ । गुरुङले दूध र गाईबस्तुलाई खुवाइने आहार ओसारप्रसार गर्न दुईटा ट्याक्टर किनेका छन् । किसानको घरमा दूध लिन जाँदा गाईबस्तुलाई खुवाउने दाना निःशुल्क ढुवानी गर्छन्् । उनले घरमै १० लाख रुपैयाँ लागतमा एक हजार लिटर दूध अट्ने क्षमताको भ्याट मेसिन राखेका छन् ।
फर्मका पशुको बिमा
गुरुङले आफ्नो फर्ममा रहेका उन्नत गाईको बिमा गरेका छन् । उनका अनुसार एउटा किसानले आफ्नो सबै जग्गापात बैंकमा धितो राखी करोडौं रुपैयाँ ऋण लिई व्यवसाय गरेको हुन्छ त्यसैले पनि लगानी सुरक्षित गर्न बिमा अनिवार्य गर्नुपर्छ । ‘बिमा गर्दा किसानले २५ प्रतिशत प्रिमियममात्रै बहोर्नुपर्ने हो’, उनले भने, ‘सरकारले बिमाको ७५ प्रतिशत प्रिमियम बेहोरिदिन्छ ।’
अन्नपूर्णबाट