विदेश जानेको २५ प्रतिशत कमाई ऋण तिर्नै खर्च 

काठमाडौं- वैदेशिक रोजगारीमा गएका कामदारले पठाएको रकमको २५.३ प्रतिशत हिस्सा विदेश जाँदा लागेको ऋण तिर्न प्रयोग हुने गरेको देखिएको छ । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा गएका ३ सय २० घरपरिवारमा गरेको सर्वेक्षणले एक वर्षको अवधिमा विदेशबाट पठाएको रकमको २५.३ प्रतिशत रकम ऋण तिर्न लागि प्रयोग हुने गरेको देखाएको छ ।

“रोजगारीमा जाने सिलसिलामा वा जानु अघिदेखि नै ऋणग्रस्त हुने तथा रेमिट्यान्स प्राप्त गर्ने अधिकांश घरपरिवारले घररजग्गा लगायतका स्थिर सम्पत्ति खरिद गर्न ऋण लिने कारण रेमिट्यान्स आयको सबैभन्दा ठूलो अंश ऋण तिर्न प्रयोग हुने गरेको छ,” राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । 

राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख नरबहादुर थापा वैदेशिक रोजगारीमा जाने कामदारले पैसा पठाएपछि पहिलो प्राथमिकता ऋण तिर्नको लागि हुने गरेको देखिएको बताउँछन् । “कतिपय कामदारले घरघडेरी जोड्न पनि ऋण लिने र त्यो रकम तिर्न प्राथमिकता दिने गरेको देखिएको छ,” थापाले भने ।

राष्ट्र बैंकले पहाड र तराईका ७–७ वटा तथा हिमाली क्षेत्रका २ वटा जिल्ला छानेर सर्वेक्षण गरेको थियो । वैदेशिक रोजगारीबाट कमाएको रकमको ठूलो हिस्सा ऋण तिर्न प्रयोग हुने भएकाले सहज रूपमा विदेश जान युवाहरुलाई सम्बन्धित पक्षले रकम उपलब्ध गराउन पनि राष्ट्र बैंकले सुझाव दिएको छ । 

आर्थिक वर्ष ०५०/०५१ मा कुल राष्ट्रिय बचत– कुल गार्हस्थ्य बचत अनुपात १४.६ प्रतिशतभन्दा अलिकति माथि १६.८ प्रतिशत रहेकोमा  ०७१/०७२ मा ११.४ प्रतिशतभन्दा उल्लेख्य ४४.६ प्रतिशत रहनुमा विप्रेषण आप्रवाहको प्रमुख भूमिका रहेको देखिएको राष्ट्र बैंकले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । वैदेशिक रोजगारीबाट कमाएको पैसा ऋण तिर्ने तथा बचतपछि सबैभन्दा बढी खर्च उपभोगमा हुने गरेको छ ।

अध्ययन प्रतिवेदनअनुसार रेमिट्यान्सको २३.९ प्रतिशत रकम दैनिक उपभोग्य वस्तुको खरिदका लागि हुने गरेको छ । त्यस्तै, स्वास्थ्यमा ९.७ प्रतिशत तथा सामाजिक कार्यका लागि ३ र उत्पादन क्षेत्रमा १.१ प्रतिशत रकम खर्च हुने गरेको छ । 

अध्ययनले रेमिट्यान्स पठाउँदा वैदेशिक रोजगारीमा गएका कामदारले ९०.९ प्रतिशतले औपचारिक माध्यम अर्थात् बैंक तथा वित्तीय संस्था एवं रेमिट्यान्स कम्पनीबाट पठाउने गरेको देखाएको छ । ५.९ प्रतिशतले हुन्डीमार्फत, १ प्रतिशतले साथीभाइ तथा आफन्तबाट तथा २।२ प्रतिशतले औपचारिक तथा अनौपचारिक माध्यम प्रयोग गर्ने गरेका छन् ।

मलेसियाको तुलनामा खाडी मुलुकबाट केही बढी मात्रामा विप्रेषण प्राप्त गर्ने घरपरिवारको बचत तथा लगानी प्रवृत्ति औपचारिक मााध्यमबाट रकम पठाउने गरेको देखिएको छ । 

खाडी राष्ट्रबाट ९६.२ प्रतिशतले औपचारिक, १.१ प्रतिशतले हुन्डी, २.२ प्रतिशतले दुवै तथा ०.६ प्रतिशतले आफन्त र साथीभाइको माध्यमबाट रकम पठाउने गरेका छन् । त्यसैगरी, विकसित राष्ट्रबाट पठाउनेमध्ये ७३.१ प्रतिशतले औपचारिक, १९.२ प्रतिशतले हुन्डी तथा ७.७ प्रतिशतले दुवै माध्यम प्रयोग गर्ने गरेका छन् ।

कारोवारबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय