युएईमा ६ वटा संस्था सरकारी निकायमा दर्ताको प्रकृयामा, एनआरएनएले फाइल बुझायो, अरु प्रकृयामा 

मेघराज सापकोटा, युएई, असोज ९

कानुनी मान्यता नपाएका संस्थाले कुनै पनि सामाजिक कृयाकलाप गर्न नपाउने युएई सरकारको चेतावनी पश्चात युएईमा गठित नेपाली संघसंस्थाहरु दर्ता प्रकृयामा सामेल हुने भएका छन । युएई सरकारले सन २०१४ मै कानुन बनाए पनि हाल आएर कार्यान्वयनमा कडाइ गरे पछी ति संस्थाहरुलाई कानुनी बैधानिकता लिन दवाव परेको हो । सामाजिक संघसंस्थालाई दर्ता प्रकृयामा लैजान हालसम्म गैर आबासिय नेपाली संघ (एनआरएनए), युएई, नेपाली समाज, जनजाती महासंघ, नेपालिज सोसल क्लब, हामी नेपाली लगायतले बिशेष चासो देखाएका हुन । 

एनआरएनए युएईका प्रवक्ता बाल कृष्ण मरासिनीले एनआरएनए युएईले दर्ता प्रकृयाको लागि फाइल सम्बन्धित निकायमा पेश गरिसकेको बताएका छन । उनले भने, ‘हामी संस्थालाई दर्ता गर्नको लागि अगाडी बढिसकेका छौ, कानुनी प्रकृयाहरु पुरा गर्नको लागि आवश्यक कागजातहरु सम्बन्धित निकायमा पठाएका छौं, आशा छ छिट्टै नै कानुनी मान्यता पाउनेछौ ।’ एनआरएन ७४ देशहरुमा अन्तराष्ट्रिय संजाल भएको संगठन हो । युएईमा रहेका बिभिन्न संगठनहरु मध्ये दर्ता गर्न योग्य संस्थामा एनआरएनलाई लिन सकिन्छन ।    

यसैगरी नेपाली समाजका अध्यक्ष चन्द्र प्रसाद सापकोटाले नेपाली समाजलाई दर्ता प्रकृयामा लैजाने बताएका छन । गत साल नै दर्ताको लागि प्रयास गरे पनि कारणवस गर्न नसकिएको बताउदै सापकोटाले आगामी ३० तारिकको समाजको बैठक पश्चात ठोस् कदम चालिने बताए । उनले भने, ‘दर्ता प्रकृयाको लागि नेपालीहरु बिच एकता र सहकार्य पनि उत्तिकै महत्वपूर्ण छ । छाता संगठनको रुपमा बिकास गर्ने हो भने हामी एकबद्द हुन जरुरी छ ।’  एकता भए पछी आर्थिक पाटोलाई हल गर्न सकिन्छ भन्ने विश्वाश उनले लिएका छन । नेपाली समाज सन १९९० मा स्थापित नेपालीहरुको पुरानो संगठन हो ।

जनजाती महासंघ युएईले दर्ता प्रकृयाको लागि पासाङ् शेर्पाको नेतृत्वमा बिशेष टोली निर्माण गरेको छ । शेर्पाले दर्ता प्रकृया सम्बन्धी प्रतिबेदन तयार गरी संगठनलाई बुझाएका छन । ११ वटा जनजातीहरु संगठित उक्त संस्थाले पनि महासंघलाई युएईको कानुनत दर्ता गरी बैधानिकता लिन बिशेष चासो देखाएको हो । 

समाजसेवी शालिक सुबेदीको अध्यक्षतामा गठित नेपालीज सोसल क्लबले दर्ता प्रकृयालाई अगाडि बढाएको अध्यक्ष सुबेदीले बताएका छन । ‘हामीले सम्बन्धित निकायमा गएर यसका कानुनी र आर्थिक पाटाहरुको बारेमा बुझेका छौ’, उनले भने । सुबेदीले दर्ताको लागि आवश्यक प्रकृया अगाडी बढाईसकिएको जानकारी गराए । गतसाल मात्र स्थापित सोसल क्लबले बिशेष गरी खेलकुद, मनोरन्जन र अन्य सामाजिक कार्यमा आफ्नो संलग्नता रहने जनाएको छ । 

युएईका सफल ब्यवसायी डिडीए ग्रुपका डा. दिनेश आचार्यले ब्यवसायिक संस्था दर्ता प्रकृयामा लैजाने बताएका छन । गत २३ सेप्टेम्बरका दिन दुबईमा एक भेटघाट कार्यक्रमको आयोजना गरी उनले सो बारे जानकारी गराएका हुन । ब्यवसायिक रुपमा संस्था दर्ता गरी नेपालीहरुको लागि ‘नेपाली साँस्कृतिक घर’ को पारिकल्पना गरि साप्ताहिक रुपमा आयोजना हुने नेपालीहरुको कार्यक्रमलाई कानुनी तवरले मान्यता दिलाउन लागिपरेको उनले उक्त भेटघाट कार्यक्रममा बताएका छन । उनले भोलीसम्ममा सम्पूर्ण कागजात सहित निवेदन पेश गरिने बताए । 

यसैगरी ईनास, युएईले पनि दर्ता सम्बन्धी बिशेष चासो देखाएको छ । ईनास, युएईका महासचिव राम तामाङका अनुसार दर्ता पकृयाको बारेमा बुझ्ने प्रयास गरिएको छ । उनले भने, ‘ईनास केन्द्रले समेत दर्ता गर्न मिल्ने भए तुरुन्त दर्ता गर्नु भन्ने सुझाव दिए बमोजिम हामीले छिट्टै नै बैठक बसी निर्णय गर्नेछौ ।’

युएईको कानुनले एउटा मुलुकबाट बढीमा ५ वटासम्म सामाजिक संस्थाहरु दर्ता गर्न सकिनेछ । नाफा मुलक र गैर नाफा मुलक गरी बढीमा ५ वटा संस्था दर्ता गर्न मिल्ने भए पनि अहिलेसम्म ६ वटा संस्थाले बिषेश चासो देखाएका हुन । नेपाली ब्यवसायीहरुको संस्था नेपाली बिजनेस काउन्सिल गत साल नै दर्ता भईसकेको छ । संस्था दर्ता गर्नको लागि शुल्क २ बर्षको लागि २ हजार दिर्हाम लाग्ने देखिएको छ भने प्रोसेसिङ र वकिल आदी खर्चको लागि बढीमा ५-७ हजार दिर्हामसम्म खर्च हुने पासाङ् शेर्पाले बताए । 

त्यसैगरी घर भाडा वार्षिक रुपमा दुबईमा ठाउँ अनुसार फरक पर्ने भए पनि कम्तीमा ६० हजार देखि १ लाख २० हजार दिर्हामसम्म खर्च हुने देखिएको छ । कानुनत कम्तीमा एकजना स्टाफ, बिजुली पानी, फोन तथा इन्टरनेट जस्ता खर्चले वार्षिक २ लाख दिर्हाम भन्दा बढी खर्च लाग्ने देखिएकोले नेपाली संघसंस्थालाई दर्ता गर्न चुनौतीपूर्ण देखिएको छ । दर्ता भईसके पछी पनि नियमित रुपमा सञ्चालन गर्नको लागि आवश्यक बजेटको तर्जुमा गर्नु अर्को चुनौती छ । 

यो पनि पढ्नुहोस् 

परदेशबाट गरेको शंकाले भताभुङ्ग बनाउँदै घरवार  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय