
चैनपुरः दशै तिहारको विद्यालय छुट्टीका बेला साथीहरुसंग गाँउघरमा रमाइलो गर्ने मनपराउँछन् अधिकांस स्कुले विद्यार्थी तर बझाङकोको चिरबुंगल क्षेत्रका विद्यार्थीहरुको यो समयमा भारतको उत्तराअञ्चलतिर मजदुरी गर्न जाने गरेका छन् । दशैं–तिहारमा हुने लामो छुट्टीलाई अवसरको रुपमा लिएर यहाँका बिपन्न परिवारका विद्यार्थीहरु एक महिना भारतमा मजदुरी गरी लुगाफाटो जोडेर घर फर्कन्छन् ।
विद्यालयको अर्धवार्षिक परिक्षा दिएर यहि असोज १३ गतेबाट दशैं बिदा भएपछि एकैपटक कार्तिक १७ गते विद्यालय खुल्ने जानकारी पाएपछि देवेश्वरी उच्च मावि, देउलेखमा पढ्ने ७ जना विद्यार्थी भारत हिँडे । रात्री बसमा हिँडेका उनीहरु श्रीभारको ढोलेमोड होटलमा बुधबार नास्ता खाँदै थिए । त्यसबेला एउटा टोली गइसकेको र आफूहरु दोस्रो टोली भएको ललित महरले जानकारी दिए ।
कक्षा ९ मा पढ्ने ललित महरले गतवर्ष पनि यसरी दशैं तिहारका बेला मजदुरी गर्न गएर ६ हजार भारु कमाएको सुनाए । यसपाली पनि कमाउन हिँडेको बताउँदै उनले आफ्नो टोलीमा कक्षा ९ मा पढ्ने दिपेन्द्र बोहरा र सुरेन्द्र बोहरा , कक्षा ८ मा पढ्ने दिपक महर सहित धन बोहरा रहेको पनि बताए ।
घरपरिवारमा खानलाई पनि नहुने र स्कुल खर्चका लागी लुगाकपडा किताब कापीको खर्च समस्या भएकाले यस क्षेत्रका अधिकाँस विद्यार्थीहरु यो सिजनमा मजदुरी गर्न भारत जाने गरेको धन बहादुर बोहराले बताए । एक महिना त्यहाँ काम गर्छौ उनले भने स्कुल लाग्ने बेला तुरुन्तै फ्रकिहाल्छौ ।
भारतको उत्तराञ्चलको पिथरागड क्षेत्रमा जाने यि विद्यार्थीहरु त्यहाँ घाँस काट्ने, धान काट्ने सडकको काम साथै घर बनाउने जस्ता मजदुरीकाम गर्ने गरेको सुनाए । देउलेखका विद्यार्थी जस्तै सुनकुडा, स्याडी र उता बुंगोलका हाईस्कुल पढ्ने विद्यार्थीहरु पनि यो समयमा प्राय पिथरागड कमाउन जाने प्रचलन यहाँ रहेको स्थानिय लोकेन्द्र बोहराले भने ।
दशै तिहारमा गाँउ घरमा बसेर रमाईलो गर्ने मत लाग्छ कक्षा ९ मा पढ्ने दिपेन्द्रले भने तर पारिवारिक समस्या हुदाँ थोरै पैसा कमाईन्छकी भनेर हिडेका हौ । उनिहरुले दिएको जानकारी अनुसार यो सिजनमा एकडेढ सयजना विद्यार्थीहरु पिथरागडक्षेत्रमा मजदुरी गर्न जान्छन् ।
एक महिना सम्म मजदुरी गर्ने पिथौरागड हिँडेका उनिहरुलाई पढाईको पनि उतिकै चिन्ता छ । उनिहरुले विदाको समयमा सरहरुले दिएको गृहकार्य बनाउने काम पनि संगै लिएका छन् ।
कोहि विद्यालय छुट्टी पछि र कोहि विद्यालय छुट्टी हुन एकसाता अगाडीनै हिड्ने उनीहरु केहि आफ्नै टिम बनाएर जान्छन् भने कोहि अभिभावक संगपनि जानेगर्दछन् । दशै बिदाको समयमा नयाँ ठाँउ देखिने र कमाई पनि हुने हुदाँ यहाँका विद्यार्थीहरुका लागी पिथरागडको मजदुर आर्कषण बन्दै गएको वित्थडका शिक्षक करुणकर अवस्थी बताउन्छन् ।
अन्नपूर्ण पोष्टबाट