परदेशबाट गरेको शंकाले भताभुङ्ग बनाउँदै घरवार  

रञ्जना लम्साल, नवलपरासी, असोज ७  

सिर्जना परियार(परिवर्तित नाम) को जीवनमा खुसी थियो । सासु, ससुरा, श्रीमान र साथमा  ३ छोराछोरी । सासुससुराको कचकच त उतिबेलै थियो तर पनि साथैमा भएका श्रीमानको सहयोगले त्यसले खासै समस्या पारेको थिएन । घर गृहस्थी राम्रैसँग चल्दै थियो । 

छोराछोरी हुर्कदै गए । खाने खर्च पुर्याएर मात्र भएन, बालबच्चाको शिक्षादिक्षाको खर्च पनि थपियो । सिर्जनाका पनि हेमन्तको कमाईले पुग्न छोड्यो । त्यसपछि सुरु भयो परिवारमा छटपटी । 

धेरै नेपाली परिवारको पछिल्लो दशकको नियति हो बैदेशिक रोजगारी । यस्तै आपत आइपरेपछि वा कमाईको अर्को बाटो नभेटे वा नदेखेपछि थुप्रै युवा विदेशिने गरेका छन् । आखिर हेमन्त पनि बैदेशिक रोजगारमा जाने निधोमा पुगे । यसमा अरु विकल्प नदेखेकी सिर्जनाले पनि हाँ मा हाँ मिलाइन् । आखिर छोराछोरीलाई पढाएर ठूलो बनाउने हरेक अभिभावकको झैं उनीहरुको साझा सपना पनि त थियो । 

विहेपछिको जीवनलाई सरल रेखामा हिंडाउन श्रीमान् श्रीमतिबीच माया, विश्वास र एकअर्काप्रतिको सम्मान आवश्यक पर्छ । त्यहि थियो सिर्जना र हेमन्तबीच पनि । उनीहरु बीच माया थियो, एकले अर्कालाई विश्वास गर्दथे । त्यसैले अरुले चाहेर पनि उनीहरुको सम्वन्ध विग्रिने अवस्था थिएन । चार  बर्ष अघि हेमन्त घर सल्लाहमै पुगे साउदी अरव । 

तर हेमन्तको साउदी अरवको यात्रा सिर्जनाका लागि अभिसाप नै बन्यो । जव भौतिक रुपमा उनीहरु टाढा भए एकापसको विश्वासमा खिया पर्न थाल्यो । माया पातलिंदै गयो । हुँदा हुँदा छोराछोरीको पनि उति वास्ता गर्न छोडे हेमन्तले । हरेक पटक फोनमा हुने कुराकानीमा श्रीमतीलाई शंका गर्ने र दोष खुट्याउन थाले उनी । सम्वन्धको डोरो कमजोर हुँदै गयो । 

हेमन्त साउदी गएको चार बर्ष पुगेको छ । सुरुवाती तीन बर्ष त उनले पैसा पनि पठाए । विदेश जाँदा लिएको ऋण पनि त्यहि साउदीको कमाईबाट तिरिसकियो । तर पछिल्लो एकबर्ष कष्टका दिन गुजार्दैछिन् सिर्जना । एकातिर तीन छोराछोरीको लालनपालन र शिक्षादिक्षाको दवाव छ उनीमाथि, अर्कातिर सासु ससुराले बसिखान दिएका छैनन । “तँलाई पठाउने पैसा कमाउन सकिनँ भने त मन पनि बुझ्थ्यो होला, तर हरेक पटक फोन गर्दा घर छोडेर जा भन्नुहुन्छ” गहभरी आँशु पार्दै उनी भन्दै गइन् । 

भनिन्छ दुःखीलाई दुःखको कमी हुन्न । त्यहि भएको छ सिर्जनाको जीवनमा पनि । आमा छैनन् । माइतमा सानीआमा मात्र छिन् । त्यसैले दुःख विसाउने ठाउँ पनि छैन सिर्जनाको । “आमा भए त उनका अघिल्तीर रुन पनि हुन्थ्यो होला, मन पनि हलुङ्गो हुन्थ्यो होला, तर म रोउँ भने पनि कोसँग ?” श्रीमानको कटु वचन र  गलत व्यवहारले चित्त कुँढिएकी उनी भन्दै गइन् । 

श्रीमानको प्यारो त सबैको प्यारो, श्रीमानले हेला गरेकी श्रीमती सबैको हेला भईदो रहेछ भन्ने राम्रैसँग अनुभव गरेकी छिन् सिर्जनाले । साउदीमा भएका श्रीमानले घर छोड् भन्छन् । यता उनलाई तीनजना लालाबालाको भविष्यको चिन्ताले सताइरहन्छ । मन पोलिरहन्छ । यसले दिनको भोक र रातको निद्रा हराएको छ ।  

उनी घरबाट निस्केर नहिंडेसम्म घर नेपाल फर्किन्न भनेका छन् रे हेमन्तले । छोराछोरी त पाल्नैपर्यो । उनीहरुको खानपान र शिक्षादिक्षा कसरी चलाउने भन्ने चिन्ताले पिरोलेकी सिर्जनालाई केहि कमाईको बाटो बनाउनु छ । 

श्रीमान् अकस्मात किन यसरी फेरिए उनले बुझ्न सकेकी छैनन् । एकोहोरो उनलाई घर छोड् मात्र भनिरहन्छन् । आफूले केहि विराएको भए त मनले पनि मान्थ्यो होला । तर विना कुनै अपराध यसरी आइपरेको अन्यायका विरुद्धमा के गर्ने त्यो पनि बुझेकी छैनन् उनले । त्यसैले चुपचाप यो अन्यायलाई उनले सहेकै छिन् । 

घरमा सम्पती भएको भए छोराछोरीले लडेर भए पनि खान्थे भन्नु, त्यो पनि छैन । माइतीको भरथेग होला की भनौं त्यो पनि उपाय छैन । त्यसैले अव छोराछोरी कतै जिम्मा लगाएर सिर्जना आफैं पनि बैदेशिक रोजगारमा हेलिने योजना बनाउँदैछिन् । त्यहि नै अन्तिम विकल्प देखेकी छिन् उनले । 

हुन त उनलाई कुन देशमा के काममा जाने, खर्च कति लाग्ने हो भन्ने कुनै जानकारी छैन । तर पनि विदेश गएर भएपनि कमाएर छोराछोरी पाल्न सक्छु भन्ने हिम्मत भनें कस्दै छिन् उनी । उनलाई अव एउटै कुराले पिरोलेको छः आफू विदेश गएपछि छोराछोरी के होलान् ? 

पिडितको आग्रहमा उनको सही नाम र तस्वीर प्रकाशन गरिएको छैन । 

तपाईको विचार लेख्नुहोस् 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय