
दोहा, असोज ६
कतारमा दुर्घटनासँग सम्वन्धित तस्वीर पीडितको अनुमति विना सामाजिक सञ्जालमा पोष्ट गर्नेलाई कारवाही गर्ने कानूनलाई यहाँको मन्त्री परिषदले सल्लाहकार परिषदमा पठाएको छ । सो कानून मन्त्री परिषदले एक बर्ष अघि पारित गरेको थियो । सो कानून अनुसार कुनै पनि दुर्घटनाको फोटोे खिच्न र सामाजिक सञ्जालमा पोष्ट गर्न वा अरुलाई पठाउन समेत पाइन्न । त्यसो गरेमा कतारको नियम अनुसार कडा कारवाही हुन्छ ।
दोहा न्यूजका अनुसार यसअघि नै यस्तै प्रकृतिको घटनामा संलग्न भएको भन्दै दुईजना पक्राउ परेका छन् । समाचारमा भनिएको छः यसअघि कतारको साइवर कानून अनुसार कुनै पनि व्यक्तिको व्यक्तिगत जीवनसँग सम्वन्धित समाचार लेख्नु, तस्वीर खिच्नु वा टिप्पणी गर्नु गैरकानूनी काम हो ।
गत बर्ष दुईवटा ठूला घटना पश्चात यो कानूनलाई अझ कडाईका साथ लागु गर्नेगरी नयाँ कानून बनाइएको हो । गत अक्टुवरमा एउटा ठूलो दुर्घटनाका बारेमा भिडियो खिचेर सामाजिक सञ्जालमा हालेको अभियोगमा एक व्यक्ति पक्राउ परेका थिए । अर्को एक घटनामा अर्का व्यक्ति पनि पक्राउ परेको तर उनीहरुलाई कस्तो कारवाही भयो भन्ने बारेमा भनें कुनै जानकारी नदिइएको समाचारमा उल्लेख छ ।
नेपालमा स्वतन्त्रतापूर्वक यस्ता घटनाको तस्वीर तथा मोवाइल मार्फत भिडियो खिचेर सामाजिक सञ्जालमा हाल्ने बानी भएका कारण विशेष सजग हुन जरुरी देखिएको छ । कसैले अन्जानै पनि यस्तो घटनाको तस्वीर भिडियो हालेमा वा टिप्पणी गरेमा पनि ठूलो कानूनी झमेलामा पर्नुपर्ने हुन्छ । त्यसैले यस विषयमा विशेष सचेत हुन जरुरी देखिन्छ ।
यो पनि पढ्नुहोस्
युएईमा राजनीतिक दलका नेता र संगठनको भविष्य अव के ?