युएईमा राजनीतिक दलका नेता र संगठनको भविष्य अव के ? 

मोहन बस्याल, युएई  

धरातलिय यथार्थ 

झण्डै २० लाख नेपाली कार्यरत रहेको अनुमान गरिने मध्यपूर्वी एसियाको खाडी मुलुकमा एकतन्त्रिय जहानियाँ शासन छ । यहाँ राजनीतिक गतिविधि नेपालमा एकतन्त्रिय जहानिया राणा शासनकालमा जस्तै प्रतिवन्धित छ । यहाँका सञ्चारमाध्यम पनि नेपालमा पञ्चायतकालमा जस्तै नियन्त्रित छन् । तर यस क्षेत्रमा बसोबास गर्ने नागरिकले निरंकुशताको अनुभुति गर्नु पर्दैन । यहाँको विकास र न्याय सम्पादन प्रजातान्त्रिक मुलुक भनिएका देशले पनि अनुकरण गर्नुपर्ने देखिन्छ । स्थानीय नागरिक भन्दा भारतीय नागरिक तीनगुणा भएका यि देशमा मतदान मार्फत नेतृत्व चयन गर्ने ब्यवस्था भए धेरै पहिले नै भारतीय नागरिक प्रधानमन्त्री भई सक्थे होला । ठूलो संख्यामा आप्रबासी कामदार रहेका यि देशले मानवअधिकार, सुशासन तथा प्रेस स्वतन्त्रता प्रति सम्मान जनाएपनि प्रजातान्त्रिक अभ्यासमा पछि रहनुको मुख्य कारण पनि यही हो ।

प्रवासमा राजनीति 

संगठन निर्माणको क्रम अगाडी बढ्दै जाँदा पछिल्ला दिनमा यस्ता मुलुकमा नेपालमा रहेका दलका प्रतिनिधिमुलुक संस्था पनि गठन हुन थालेका छन् । उनीहरु आफ्नै ढंगले क्रियाशिल छन् । नेपालको अस्वस्थ प्रतिस्पर्धात्मक राजनीति देखेर आजित भएका युवाहरुले प्रवासमा आउँदा पनि राजनीतिक दलको गतिविधि देख्नु पर्दा दिग्दारी महसुस गर्छन । नेपालमा सरकार बाहिर रहँदा बन्द हड्ताल बाहेक केही नगर्ने र सरकारमा पुगेपछि अनेक खाले भ्रष्टाचारका काण्डमा मुछिने भएकाले प्रवासमा रहेका युवाको ठुलो पंक्ति राजनीतिक गतिविधिबाट असन्तुष्ट देखिन्छ । राजनीतिक दल नहुँदा पनि विकास, सुशासन र न्याय देखेका युवाले राजनीतिक दल  तथा नेतृत्व प्रति सामाजिक सञ्जालमा पटक पटक आक्रोश पनि पोखेको देखिन्छ । तर पनि संगठन निर्माण गर्ने, आफ्ना गतिविधि गर्ने कुरा रोकिएको छैन बरु मौलाएकै छ । स्थानीय कानुन प्रतिकुलका गतिविधि भएपनि यो मौलाउनुमा नेपाल फर्किएपछि पुनः राजनीतिमा जोडिने महत्वकांक्षा नै मुख्य हो । यो जोखिमयुक्त छ ।

हुटिट्याउँ शैली

जो यस्ता राजनीतिक दलमा आवद्ध छन् उनीहरुले प्रवासमा हुने राजनीतिक संगठन निर्माण र तिनका गतिविधिको समर्थन गर्ने र जो आवद्ध छैनन उनीहरुले कडा आलोचना गर्ने क्रम पछिल्ला दिनमा फेसवुक लगायतका सामाजिक सञ्जालमा बढेको छ । बिशेषगरी नेपालमा रहेका राजनीतिक दलले गरेका गतिविधिको यहाँ बसेर यथार्थ बुझ्दै नबुझी समर्थन र बिरोधमा आफ्ना स्टाटस लेखेको देखेर अन्य युवाहरु आक्रोशित देखिन्छन् । हुन पनि यहाँ रहेका नेपाली राजनीतिक दलका प्रतिनिधिमूलक संस्थाका पदाधिकारीले बुझ्दै नबुझि आकाश थाम्ने हुटिट्याउँको महत्वाकांक्षा जस्तो गरेर फेसबुक रंगाएको कुराको कुनै अर्थ देखिदैन । तर पनि उनीहरु खै कुन उद्धेश्यले पे्ररित छन् लेखिरहन्छन् ।

यो प्रत्यक्ष नभएपछि फेसवुक वालमा दोहोरीकै शैलीमा पोतिएको हुन्छ । नेपालमा उचित अवसर नमिलेर वा कुनै कारणले परिवार छाडेर बैदेशिक रोजगारीमा आएका दुई युवा दुई संगठनको नेतृत्व गर्छन । नेपालमा भएको एउटा कुनै घट्नामा दुई युवाको विचार फरक हुन्छ । एउटा असाध्यै समर्थन गर्छ अर्को कडा आलोचना गर्छ । यो फरक राजनीतिक आडम्वरका कारण विवेक गुमाएको संकेत हो । यसले अन्य युवालाई राजनीति प्रति झनै आक्रोशित बनाई रहेको हुन्छ ।

कुनै पनि संगठन निर्माण हुनु आफैंमा राम्रो हो । यसले राम्रो उद्धेश्य लिएर मानविय हितमा काम गर्छ भने यो कुनै राजनीतिक, धार्मिक, जातिय वा अन्य कुनै संगठन भनेर आलोचना गर्न जरुरी छैन । तर उद्धेश्यविहिन, विवेकविहिन स्वार्थकेन्द्रित संगठन निर्माण हुनु समस्याको कारण मात्र बन्न सक्छ । यसले अनेकौ समस्या निम्त्याउन सक्छ । यस्तो समस्यामा संगठन निर्माण गर्ने वा त्यसको प्रभावले भेट्ने सवै पर्न सक्छन् । हुटिट्याउँ शैलीको महत्वाकांक्षा र दन्तबझानले कसैको हित गर्दैन ।

लक्ष्य, उद्धेश्य प्रष्ट छैन

प्रवासमा रहेका राजनीतिक दलका प्रतिनिधिमूलक संगठनले आफ्ना उद्धेश्य प्रष्ट पार्न सकेका छैनन् । कुन उद्धेश्यले स्थापित भएको हो । कस्ता कस्ता गतिविधि गर्ने लक्ष्य छ ? त्यो स्पष्ट पार्न सक्नुपर्छ । त्यसका बिषयमा यस्ता संगठनमै लागेकाहरु नै स्पष्ट भएको देखिदैन । त्यसैले यस्ता संगठनबाट के अपेक्षा गर्ने, के नगर्ने भन्ने अन्योल छ । लक्ष्य उद्धेश्य जान्न पाए यस्ता संगठनका गतिविधिको समिक्षा गर्नु हुन्थ्यो । तर अहिले त्यो अवसर हामीलाई छैन । तर पनि गर्नुपर्ने लागेका केही कुरा यहाँ बाँड्न खोजिएको छ ।

भविश्य के ? 

युएईमा दर्ता नभएका र अनुमति नलिएका संस्थाले कार्यक्रम गरे आर्थिक जरिवाना हुने समाचार सार्वजनिक भएपछि पूर्व निर्धारित कार्यक्रम स्थगित हुन थालेका छन् । यहाँ खुलेका दर्जनौ संगठनको भविष्य के हुने भन्ने अन्योल देखिएको छ । नेपाली बिजनेश काउन्सिल, नेपाली समाज, एनआरएनए दर्ताको प्रकृयामा छन् । जिल्लागत रुपमा खुलेका संस्थाले कार्यालय सञ्चालन गर्नु पर्ने लगायतका प्रावधानका कारण यसमा त्यति चासो दिएका छैनन । सामान्यतया राजनीतिक दल निर्वाचन कार्यालयमा दर्ता गर्ने प्रचलन हुने भएकाले नेपालमा पनि अन्य क्षेत्रमा दर्ता भएको पाईदैन । त्यसैले युएईमा क्रियाशिल नेपाली राजनीतिक दलका प्रतिनिधि संगठनको भविष्य के हुने यो छलफलको बिषय बनेको छ । यसै बिषयमा हामीले यहाँका राजनीतिक दलका अगुवासंग यसबारे प्रतिकृया मागेका थियौ जसमध्ये धेरैजसो संगठनले बैठकपश्चात मात्र भविष्यबारे बोल्न सकिने जवाफ दिए । केही संगठनका अगुवाले प्रारम्भिक प्रतिकृया दिएका छन् ।

निश्चित रुपमा गतिविधिमा कमि आउँछ 

चित्रबहादुर केसी, अध्यक्ष, जनसम्पर्क समिति, युएई 

सोयियल क्लब दर्ता गरेर मात्र संस्था चलाउन पाईने भनेर समाचार आएपछि यहाँ रहेको नेपाली समुदाय पुरै तरंगित भएको छ । यो स्वभाविक पनि हो । यहाँ संस्था खोल्ने र गतिविधि गर्ने होडबाजी नै चलेको थियो । यो समाचारले पक्कै पनि यसमा कमि ल्याउने छ ।

जहाँसम्म हाम्रो संगठनको सवाल छ निश्चित रुपमा गतिविधिमा कमि आउने नै छ । आन्तरिक रुपमा नेपालीलाई परेको बेला सहयोग गर्ने बाहेक पहिला जस्तो खुल्लमखुल्ला हुने हाम्रा कार्यक्रम र गतिविधिमा कमि आउने नै छ । यहाँको कानुनलाई सम्मान गर्नुपर्छ । कानुन भन्दा बाहिर गएर कुनै गतिविधि गर्ने अवस्था छैन र गर्नु पनि हुँदैन । संस्था दर्ता गरेर गतिविधि गर्ने कुरा पनि सहज छैन । यो पछिल्लो समाचार पछि राजनीतिक संगठनका मात्र होईन युएईमा क्रियाशिल सबै जसो संगठनका गतिविधिमा कमि आउने छ । परिस्थिति अनुसार अनुमति लिएर गर्ने कुरा हुन सक्छ ।

………………………

हामी विचलित भएका छैनौ  

बिराट लामिछाने, अध्यक्ष, जनप्रगतिशिल मोर्चा, युएई 

हामीले नेपालमा रहेका राजनीतिक दललाई सहयोग गर्न यहाँ प्रतिनिधिमूलक संगठन बनाएका हौ । हामीले यहाँ राजनीति गर्दैनौ । त्यसैले यहाँ दर्ता हुने भन्ने योजना छैन । हामीले तीज बिशेष, दशैं बिषेश जस्ता कार्यक्रम पनि गरेका छैनौ र गर्दैनौ । यस अघि हामीले अधिवेशन गर्दा नगरपालिकाको अनुमति लिएर गरेका थियौ । त्यसैले दर्ता नहुँदैमा हाम्रा गतिविधि  हुँदैनन भन्ने त होईन तर अनुमति लिएर मात्र गर्छौ । हाम्रा कार्यक्रम गोप्य रुपमा सामान्य तरिकाले हुने भएकाले त्यहि रुपमा नै अगाडी बढ्छ । पछिल्लो पटक आएको समाचारले हामी कत्तिपनि बिचलित भएका छैनौ । तर यस समाचारले यहाँ रहेका चारलाख नेपालीलाई एकीकृत गराउन भुमिका खेल्ने हामीले आशा राखेका छौ । कार्यक्रमका नाममा लुट मच्चाउनेहरु मात्र यस समाचारले हतोेत्साही भएका हुन् । त्यो जरुरी पनि थियो ।

अर्कोकुरा सामाजिक सेवा गर्नका लागि संस्था दर्ता गर्नुपर्छ भन्ने छैन । हामीले राजनीति नभएर सामाजिक सेवा गर्ने हो जसले आगामी दिनमा पनि निरन्तरता पाउँछ । संस्था दर्ता गर्नका लागि ५० हजार देखि एक लाख दिरामसम्म खर्च हुने देखिन्छ । हरेक बर्ष नविकरण गर्नु पर्ने हुन्छ । त्यसका लागि पनि उत्तिकै खर्च हुन्छ । यति ठूलो रकम खर्च गरेर दर्ता गर्ने संगठन चलाउन आय स्रोत के हुने ? त्यसले यहाँ बस्ने नेपालीलाई कस्तो सेवा सुविधा दिने ? भन्ने कुरामा ध्यान दिनुपर्छ । संस्था चलाउनकै लागि फेरी पनि यहाँ कामगर्ने कामदार मजदुरसंग नै चन्दा उठाउनु पर्ने अवस्था आयो भने त्यो राम्रो कुरा भएन । दर्ताको प्रकृयामा रहेका भनिएका नेपाली समाज, एनआरएनए लगायतका संस्थाले पनि यस्ता कुरालाई ध्यान दिनु पर्छ । तर पनि राजनीतिक दललाई हेर्ने दृष्टीकोण के हुने भन्ने प्रष्ट भए ति संस्था दर्ताका लागि सहयोग गर्न सकिन्छ ।

…………………………

अन्य राजनीतिक दलका प्रतिनिधि संगठनका बिचार पनि प्राप्त भएका बहस श्रृखलामा जोड्दै जाने छौ । त्यसका लागि हाम्रो ईमेल ठेगानामा आफ्ना बिचार र धारणा पठाउन सक्नु हुन्छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: