
काठमाडौं, असोज २
मलेसियाले अरु दुई शिर्षकमा कामदार माथि आर्थिक भार थप्ने तयारी गरेको छ । अघिल्लो हप्तादेखि मात्र वान स्टप सेण्टर (ओएससी ) शिर्षकमा पासपोर्ट संकलनमा दुई हजार आठ सय रकम प्रति व्यक्ति उठाउन थालेको मलेसियाका दुई कम्पनी नयाँ शिर्षकमा रकम उठाउन तत्पर छन् । मलेसियाले यस अगाडी नै भिएलएन, माइग्राम, बायोमेट्रिकका नाममा कामदार माथि ठूलो आर्थिक भार बोकाइरहेको छ । हाल मलेसिया जाने कामदारले प्रतिव्यक्ति यी शिर्षक अन्तर्गत १२ हजार ४ सय रकम बुझाउनु परिरहेको छ ।
पटक पटक गर्दै बैदेशिक रोजगारका लागि मलेसिया जाने कामदारसँग त्यहाँको सरकारसँग मिलेर कम्पनीहरुले यसरी ठूलो आर्थिक भार थोपरिरहँदा पनि नेपालका मन्त्री, साँसद र अधिकारकर्मी चुप लागेर बस्नु आश्चर्यपूर्ण भएको बैदेशिक रोजगार व्यवसायीहरु गुनासो गर्छन् । नेपाल बैदेशिक रोजगार व्यवसायी संघका महासचिव रोहण गुरुङ यो तैं चुप मैं चुपले आफूहरुलाई धेरैखालका आशंका जन्माएको बताए । संघले यसअघि नै श्रम तथा रोजगार मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै मलेसियाले यसरी विभिन्न बहानामा बढाइरहेको शुल्क खारेजीका लागि पहल गर्न आग्रह गरिसकेको छ ।
यहि बीचमा मलेसियाले थप दुईवटा कम्पनी मार्फत कामदारसँग थप रकम असुल्ने योजना बनाइरहेको छ । सुरक्षा गार्डका रुपमा काम गर्न मलेसिया जान चाहनेहरुलाई टेलिपोर्ट नामको कम्पनी मार्फत तालिम दिने र प्रतिव्यक्ति ५ सय रिंगिट(झण्डै ने.रु. १२ हजार ५ सय) उठाउने योजनाका साथ मलेसियाले प्रयत्न गरिरहेको गुरुङ बताउँछन् । यसअघि नै गत बर्ष पनि मलेसियाले सो प्रयास गरेको थियो । तर नेपालले त्यसमा असहमति जनाएपछि त्यो प्रयास रोकिएको थियो ।
यसैगरी ईएससी नामको कम्पनी मार्फत फिङ्गर प्रिन्ट लिने र सो फिङ्गर प्रिन्ट विश्वका ६० वटा देशहरुका अध्यागमनमा पठाउने भन्दै अर्को आर्थिक भार थप्ने योजना मलेसियाले बनाइरहेको व्यवसायीहरु बताउँछन् । यसले मलेसिया जान चाहने नेपालीका लागि आर्थिक भार बढाउनेछ ।
यो पनि पढ्नुहोस्
फिलिपिन्स हिंडेकी जोया, नेपाली मन र फेसबुके प्रवृति