
युएई, असोज १
विश्व र्याफ्टिङ महासंघले युएईमा आयोजना गर्न लागेको विश्व र्याफ्टिङ च्याम्पियनसीपमा भाग लिने नेपाली खेलाडीलाई एनआरएनए, युएईले ५ हजार दिरहम सहयोग गरेको छ । आगामी ३१ अक्टोबर देखि ५ नोभेम्बरसम्म आयोजना हुने प्रतियोगितामा हिमालय रिभर गाइड समिति नेपाल (टिम नेपाल) का तर्फबाट ५ जना खेलाडी सहभागि हुँदैछन् ।
उक्त च्याम्पियनसीपमा सहभागी हुन “नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ एसोसिएसन र हिमालयन रिभर गाइड एसोसिएसन” नेपालबाट इज्जाजत लिई नेपाली राष्ट्रिय टीमको रूपमा उनीहरूले टोली दर्ता गराएका हुन् । सो टोलीलाई विश्व र्याफ्टिङ महासंघले समेत नेपालको प्रतिनिधि टीमको रूपमा स्वीकृति दिईसकेको छ ।
युएईको अलएनको वाडी एड्भेन्चरमा र्यााफ्टिङ गाइडकै रूपमा काम गर्दै आइरहेको हुँदा कम्पनीले नै आर्थिक सहायता उपलव्ध गराउने भनेपनि पछिल्लो समयमा कतैबाट आर्थिक सहयोग नपाएर उनीहरु अप्ठ्यारोमा परेका थिए । प्रतियोगितामा सहभागि हुन ११ हजार दिरहम खर्च आवश्यक पर्छ । सो समाचार सार्वजनिक भएपछि गैर आवासियन नेपाली संघ(एनआरएनए), युएईले सहयोगका लागि आव्हान गरेको थियो । यसलाई स्वीकार्दै नवराज बस्नेत, जनप्रगतिशिल मोर्चा, यूएई र मितेरी समाज यूएईले सहयोग गरेका हुन् ।
सो प्रतियोगितामा ४५ देशका खेलाडी सहभागि छन् । सहयोग उपलव्ध गराउने व्यक्ति र संस्थालाई नेपाली खेलाडीले धन्यवाद दिएका छन् ।