काठमाडौं, भदौ २९
नेपाल बैदेशिक रोजगार व्यवसायी संघका महासचिव रोहण गुरुङले सरकारले घोषणा गरेको फ्रिभिषा, फ्रिटिकटको नीतिले ठगलाई मात्र फाइदा भएको बताएका छन् । उनले सवै मेनपावर कम्पनी सञ्चालक असल नभएको भन्दै सरकारले लागु गरेको नीतिले त्यस्ता गलत काम गर्नेलाई अझ मलजल पुगेको धारणा राखे ।
देशपरदेशसँगको कुराकानीका क्रममा महासचिव गुरुङले आफूहरुले सेवा शुल्क बढाएर एक महिना बरावरको बनाउन आग्रह गर्दा गलत रुपमा लिइएको गुनासो गरे । उनले भनेः अहिले धेरै रकम लिने र १० हजारको मात्र रसिद दिनेलाई सरकारको यो निर्णयले अझ सजिलो बनाएको छ । उनले एक महिना वरावरको रकम सेवा शुल्कका रुपमा लिन पाउने व्यवस्था गरिएमा त्यसलाई कडा रुपमा लागु गराउन आफ्नो संघ डटेर लाग्ने बताए ।
“अहिले १० हजारमा पठाउन सकिन्न भन्नुको अर्थ अहिले पनि त्यति रकममा मान्छे पठाएको छैन भन्ने त प्रष्टै छ” बैदेशिक रोजगार व्यवसायी संघका महासचिव गुरुङले भने “त्यसैले यसलाई व्यवस्थीत गर्न एक महिनाको तलव बरावरको रकम सेवा शुल्कका रुपमा हामीले मागेका हौं ।”
उनले श्रीलंका, भारत, बंगलादेश लगायतका देशका कामदारले टिकट वापतको रकम तिरेर गइरहेको भन्दै नेपालीका लागि मात्र कुनै रोजगारदाता टिकट दिन तयार नहुने तर्क गरे । उनले अवैज्ञानिक निर्णय नसच्याएसम्म समस्या चुलिंदै जाने बताए । रेमिट्यान्सको बृद्धिदर खुम्चिएको यथार्थ हेर्न आग्रह गर्दै उनले यहि अवस्था रहिरहे देशमा दुई तीन बर्षभित्र अर्थतन्त्रमा चिन्ताजनक अवस्था आउने बताए ।
सरकारले २०७२ असार २१ गतेदेखि मलेसिया र खाडीका ६ वटा मुलुकमा फ्रिभिषा, फ्रिटिकटको नीति अवलम्वन गर्दै आएको छ । त्यसपछि सेवा शुल्क बृद्धिको प्रयास सहित मेनपावर व्यवसायी आन्दोलनमा छन् भनें आप्रवासी कामदार, तिनका परिवार र यस क्षेत्रमा काम गर्ने गैरसरकारी संघसंस्था फ्रिभिषा, फ्रिटिकटको प्रभावकारी कार्यान्वयनका लागि दवाव दिइरहेका छन् ।
महिलाका समस्या सुनाउने ठाउँ छैन, चार महिनादेखि श्रम सहचारी छैनन्