
काठमाडौं, भदौ २७
प्रधानमन्त्रीमा दोश्रोपटक निर्वाचित भएपछि पहिलो पटक गत भदौ २३ गते प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले संसदलाई सम्वोधन गरे । हुन त माओवादी केन्द्र सरकारमा भएकै वखत सरकारको नीति तथा कार्यक्रम आएको हो । तर त्यसमा आफ्ना धेरैकुरा समावेश नभएको र सत्ता नेतृत्व गरिरहेका नेकपा एमालेका अध्यक्ष समेत रहेका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले मनोमानी गरेको दाहालको गुनासो थियो ।
सम्भवत सत्ता सञ्चालनको बागडोर सम्हालेपछि आफ्नै योजना सार्वजनिक गर्न प्रधानमन्त्री दाहालले संसदमा लामो सम्वोधन गरे । सोही क्रममा बैदेशिक रोजगारीमा जान चाहने, बैदेशिक रोजगारको क्रममा रहेकाहरु, समस्यामा परेकाहरुलाई मद्धत गर्ने केहि कार्यक्रम प्रधानमन्त्रीको सम्वोधनमा परेका छन् । यो बैदेशिक रोजगारीमा रहेकाहरुका लागि स्वागतयोग्य कुरा रहेको भन्दै यसको स्वागत समेत गरियो ।
तर प्रधानमन्त्री प्रचण्डको सम्वोधनमा एउटा तथ्याँक भनें गलत रुपमा समाहित छ । हाल बैदेशिक रोजगारका क्रममा कसैको मृत्यु भएमा मृतकका परिवारले बैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट ३ लाख पाउँदै आएका छन् । यसलाई बृद्धि गरी ५ लाख बनाउन बोर्डले महिनौं अघि प्रस्ताव मन्त्रालयमा पठाइसकेको छ । तत्कालिन श्रम मन्त्री दिपक बोहराले यसलाई पास गर्न मन्त्री परिषदमा लैजाने पटक पटक सार्वजनिक प्रतिवद्धता जनाएपनि नलगेका कारण सो फाइल मन्त्रालयमै थन्किएको बोर्डका एक उच्च पदस्थ कर्मचारी बताउँछन् ।
त्यसैले हाल मृतकका परिवारले बोर्डबाट पाउँदै आएको ३ लाख हो । तर प्रधानमन्त्रीको सम्वोधनमा हाल पाउँदै आएको ५ लाख भन्ने वाक्याँश परेको छ जुन गलत हो । हाल पाउँदै आएको तीन लाखलाई बृद्धि गरी ७ लाख बनाउने हो भनें त्यसका लागि बोर्डबाट पुनः अर्को फाइल पठाउनु पर्नेहुन्छ जसको प्रकृया अविलम्व सुरु हुनु आवश्यक रहेको बोर्डका ति कर्मचारी बताउँछन् ।