गोलभेंडामा महिला 

ललितपुर– सात दोबाटोबाट आधा घन्टा दक्षिण गएपछि आउँछ धापाखेल बसपार्क । बसपार्कबाट माथि डाँडामा सेता प्लास्टिकका टनेल  छन् । टनेलभित्र रहरलाग्दो गोलभेँडा खेती छ । तिनै टनेलमा परिश्रम गरिरहेका छन्, दुई महिला । उनीहरूको दिन गोलभेँडाको स्याहारसुसारमै बित्छ ।

दोलखा घर भएकी भगवती प्रधान र सोलुखुम्बुकी टीका बाँस्तोलाले सात लाख रुपैयाँ लगानीमा धापाखेलमा एक वर्षदेखि गोलभेँडा खेती गरेका छन् । गत चैतमा रोपेको गोलभेँडाले अहिले धमाधम उत्पादन दिन थालेको छ । उनीहरूको सोच कृषि कर्मबाट आर्थिक क्रान्ति गर्नु हो । प्रधान र बाँस्तोला अन्य पेसाभन्दा कृषि सहज भएकाले आफ्नो रोजाइमा परेको बताउँछन् । उनीहरूले दुईजनालाई रोजगार पनि दिएका छन् ।

बाँस र प्लास्टिकबाट बनाइएका ९ वटा टनेलमा उनीहरूले सिर्जना, थेम्स, कवितालगायत जातका गोलभेँडा खेती गरेका छन् । सुरुमा सानो लगानी गरेर बढाउँदै लैजाने सोच बनाएको बाँस्तोलाले बताइन् । चैैतमा लगाएका गोलभेँडाका बोटले दुई लाख रुपैयाँभन्दा बढी आम्दानी दिइसकेको जानकारी प्रधानले दिइन् । उनले युवा स्वरोजगार कोष र जिल्ला कृषि विकास कार्यालयबाट सात लाख रुपैयाँ अनुदान लिएर खेती सुरु गरेको बताइन । उनले भनिन्, ‘चैतमा सुरु गरेको टमाटर खेतीबाट अहिले दिनको २ देखि ३ क्रेटसम्म  उत्पादन हुन्छ, बजार भाउ पनि राम्रै छ, मेहनेत गर्ने हो भने राम्रो प्रतिफल लिन सकिँदो रहेछ ।’

कृषि कर्मबाट आर्थिक क्रान्ति गर्ने सोच राखेका यी दुई महिलाको पारिवारिक पृष्ठभूमि र जीवन कहानी पनि मिल्दो छ । दुवै माओवादी ‘सशस्त्र युद्ध’ मा होमिएका थिए । १५ वर्षको कलिलो उमेरमै उनीहरू २०५६ सालमा माओवादी विद्रोहमा होमिएका थिए । देश विकास र परिवर्तनको सोच राखेर माओवादी राजनीतिमा लागेका उनीहरू राजनीति उभो लाग्न नसकेर कृषिमा हात हालेको सुनाउँछन् ।

माओवादी ‘सशस्त्र युद्ध’ का क्रममै विवाह गरेका दुवैले सोही युद्धमा  श्रीमान गुमाउनुप¥यो । जीवनसाथी नै गुमाएपछि राजनीतिप्रतिको मोह र मनोबल पनि घट्दै गएको बाँस्तोलाले बताइन् । श्रीमान गुमाएका दुवै महिलाको मित्रता भने लोभलाग्दो छ । १५ वर्षे उमेरमै माओवादी राजनीतिले भेट गराएका दुवैले  त्यतिबेलादेखि अहिलेसम्म एकअर्कालाई सहयोग गर्दै आइरहेका छन् । सक्रिय राजनीति नगरे पनि राजनीति र देशप्रतिको आस्था कहिल्यै नमर्ने बताउँछिन् प्रधान ।

जीवनको महत्वपूर्ण समय राजनीतिमा खर्चेका उनीहरूलाई किन गोलभेँडा खेतीमा लागेको त भन्ने प्रश्नमा जबाफ थियो, ‘पहिलादेखि नै आफूहरूको अभिरुचि र सोच कृषिकर्म गर्ने थियो ।’ बाँस्तोलाले थपिन्, ‘अरु पेसाभन्दा कृषिमै आनन्द छ, फेरि लगानी गरेपछि ढुक्क हुने पेसा पनि यही हो ।’ बाँस्तोलाले भनिन्,  ‘कृषिलाई अग्रस्थानमा राखेर राजनीति गर्ने सोच छ ।’

नागरिकबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: