मानव तस्करीमा संलग्न दुईजना पक्राउ

काठमाडौं, भदौ २४- मानव तस्करीमा सक्रिय अन्तर्राष्ट्रिय समूहसँग मिलेर नेपाली नागरिकलाई अवैधरूपमा अमेरिका पुर्‍याउने समूहका २ जना नेपाली पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाले अन्तर्राष्ट्रिय मानव तस्करीमा सक्रिय समूहका सदस्यको अभियोगमा नवराज खत्री र सागर शिरीषलाई पक्रेको हो।

महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालका अनुसार उनीहरूले दिल्ली, जापान, फ्रान्स, मेक्सिको लगायतका देशमा रहेका मानव तस्करीमा सक्रिय समूहसँग मिलेर नेपाली नागरिकलाई तीन रुट हुँदै जोखिमपूर्ण रूपमा अमेरिका पुर्‍याउने गरेको खुलेको छ। प्रहरीका अनुसार उनीहरूले यसका लागि प्रतिव्यक्ति २० देखि ३० लाख रुपैयाँसम्म लिने गरेका थिए।

उनीहरूले जोखिमपूर्ण रुट हुँदै १० जना नेपालीलाई अमेरिका पुर्‍याएको पुष्टि भएको खनालले जानकारी दिए। प्रहरीका अनुसार सो समूहले तस्करीका लागि पहिलो रुटमा काठमाडौं–दिल्ली–फ्रान्स–मेक्सिको प्रयोग गर्दै आएका छन्।

उनीहरूले विभिन्न देशको रुटबाट अन्तर्राष्ट्रिय सञ्जालमार्फत मानव तस्करी गर्न जसरी पनि अमेरिका जान राजी रहेकाको खोजी गरी पैसा लिने गरेका थिए। अवैध रूपमा अमेरिका पुर्‍याउन काठमाडौंका एजेन्टले यतै १० लाख लिँदै आएका थिए। मेक्सिको पुगेपछि त्यहाँ रहेका समूहका सहयोगी कानुन व्यवसायीले थप १० लाख लिन्थे। अमेरिकाको टेक्सासस्थित शरणार्थी क्याम्पमा पुगेपछि समूहका एजेन्टले थप १० लाख लिने गरेको खुलेको एसएसपी खनालले जानकारी दिए। 

उनीहरूले अमेरिका जान तयारलाई काठमाडौंमा भेला पारेर हवाईमार्ग हुँदै दिल्ली पठाउने गरेका थिए। दिल्लीमा रहेका एजेन्टले उनीहरूलाई विमानस्थलबाटै लिएर बैंकक पठाउने गरेका थिए। बैंककमा रहेका उनीहरूका एजेन्टले दिल्ली हुँदै आएकालाई फ्रान्सलाई ट्रान्जिट बनाएर मेक्सिको हुँदै अवैध रूपमा अमेरिका पुर्‍याउने गर्थे।

‘मेक्सिकोमा पुगेकाहरू केही अलपत्र पर्ने र प्रहरीले पक्राउ गर्ने गरेको समेत देखियो,’ खनालले भने, ‘पक्राउ परेकाहरूसँग प्रतिव्यक्ति एक हजार अमेरिकी डलर लिएर कानुनी सहायता दिने र शरणार्थीका रूपमा अमेरिकाको टेक्सासको क्याम्पमा पुर्‍याउने समेत समेही समूहका एजेन्ट देखिए।’

महाशाखाका अनुसार नवराज समूहले दोस्रो रुटमा जापानको प्रयोग गर्ने गरेका छन्। उनीहरूले पहिलो रुटमा कुनै समस्या आए काठमाडौं–दिल्ली हुँदै जापानमा ट्रान्जिट गराएर मेक्सिको पुर्‍याएर अवैध रूपमा अमेरिका पुर्‍याउने गरेको खुलेको छ। तेस्रो रुट सिंगापुर हो। अवैध रूपमा अमेरिका पुग्न राजी समूहलाई काठमाडौंबाट सिंगापुर पुर्‍याएर त्यहाँबाट जापान हुँदै मेक्सिको पुर्‍याएर अमेरिका छिराउने गरेको महाशाखाले सार्वजनिक गरेको रुट सूचीमा उल्लेख छ। 

यसरी खुल्यो पोल

भदौ १७ मा नवलपरासी रुपौलियाका प्रेमनारायण महतो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ४० हजार अमेरिकी डलरसहित पक्राउ परेका थिए। अवैध रूपमा विदेशी मुद्रा लैजाने प्रयास गरेको आशंकामा प्रहरीले उनलाई पक्राउ गरी राजस्व अनुसन्धान विभाग बुझायो। विभागमा बुझाए पनि अनुसन्धान जारी राख्दा महतो मानव तस्करीमा संलग्न समूहलाई पैसा बुझाएर अमेरिका हिँडेको खुल्यो।

अनुसन्धानमा उनी काठमाडौंबाट दिल्ली हुँदै, बैंकक, जापान, फ्रान्स र मेक्सिको पुगेर अवैध रूपमा अमेरिका छिर्ने योजनाअनुसार हिँडेको थाहा भएपछि महाशाखाले मानव तस्करीमा अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानमा अमेरिका पुग्न महतोसहित अन्य तीन जनाले खत्री र शिरीषलाई पैसा बुझाएको खुलेपछि प्रहरीले बिहीबार पक्राउ गरेको हो। महाशाखाले मुद्दा प्रक्रिया र थप अनुसन्धानका लागि दुवै जनालाई काठमाडौं परिसरमा बुझाएको छ।

कान्तिपुरबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय