चन्दनकुमार यादव, सप्तरी भदौ २३- आप्रवासी कामदार हकहित संरक्षण केन्द्र, सप्तरीले फ्रिभिषा फ्रिटिकटको व्यवहारिक कार्यान्वयनको माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री कार्यलयमा २८ बुँदे ज्ञापनपत्र बुझाएको छ ।
बैदेशिक रोजगारमा नेपाली कामदार पठाउने सम्बन्धमा नेपाल सरकारबाट गरिएको फ्रिभिषा फ्रिटिकट सम्बन्धी निर्णयको प्रभावकारी कार्यान्वयन, थप नीतिगत व्यवस्था र त्यसको सहभागितामुलक अनुगमन प्रणलीको माग गर्दै प्रधानमन्त्री कार्यालय र श्रम तथा रोजगार मन्त्रालयलाई ज्ञापनपत्र पठाइएको हो ।
बैदेशिक रोजगारमा जाने नेपालीहरुले विदेश जाँदा तिर्नु परेको सेवा तथा प्रवद्र्धन खर्चको भारको कारण उनीहरुको परिवारमा आर्थिक, सामाजिक र मानशिक असर परिरहेको भन्दै शुन्य लागतमा विदेश जाने प्रक्रिया कार्यान्वयनको माग गरिएको केन्द्रका अध्यक्ष जयबिन्द सिंहले बताए ।
राजबिराजको जेसिज हलवाट निस्केको र्यालीले नगरको बिभिन्न भाग परिक्रमा गरेको थियो । उनीहरुले जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी बलदेव गौतमलाई ज्ञापन पत्र बुझाएका थिए । केन्द्रका अध्यक्ष सिंहले हाल मन्त्री र केहि व्यवसायीका कुरा सुन्दा आफूहरुलाई फ्रिभिषा, फ्रिटिकटको निर्णय फिर्ता गर्ने प्रयास गरिएको आशंका लागेको भन्दै त्यसको विरोधमा आफूले खवरदारी सुरु गरेको बताए ।
प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले ज्ञापन पत्र बुझ्दै केन्द्रले उठाएको माग जायज भएको भन्दै सम्बन्धीत निकायमा आजै ज्ञापनपत्र पठाउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
