
सुदीप निउरे, भाद्र २३, क्वालालम्पुर
हृदयघातका कारण मलेसियामा एक नेपालीको ज्यान गएको छ । मलेसियाको केपुङस्थित बिभिन्न खाले पदक बन्ने कम्पनि (जात्फि एसडिएनबिएचडी) मा काम गर्ने मोरड पथरी शनिश्चरेका ३३ बर्षिय सुवास राईको ज्यान गएको हो । आज बिहान साढे २ बजे एक्कासी वाकवाक गर्न थालेका राईलाई अस्पताल लैजाने तयारी गर्दै गर्दा ज्यान गएको सोही कम्पनिमा कार्यरत दिप लिम्बुले जानकारी दिए ।
राईको शव अहिले क्वालालम्पुरस्थित फरेन्सी अस्पतालमा राखिएको छ । लगातारको कडा परिश्रम तर ज्यानमा आराम कम भएका कारण राईलाई हृदयघात भएको हुनसक्ने पोष्टमार्टम रिपोर्टमा पाईएको लिम्बुुले जानकारी दिए । मृतकका आफन्तले शव बुझिसकेका छन् भने शव नेपाल पठाउने तयारी भैरहेको लिम्बुले बताए । शव नेपाल पठाउँदा लाग्ने खर्च ६ हजार आरएम कम्पनिले ब्यहोर्ने भएको छ । मृतक राईको घरपरिवारले पाउने बिमा रकमको लागि गाविसको सिफारिस र नाता प्रमाणितपत्र आएपछि मात्र प्रकृया अगाडी बढाउने कम्पनिले स्पष्ट पारेको छ । मलेसिया आएको दुई वर्ष पुरा हुनै लाग्दा राईको निधन भएको हो ।
यस्तै अबैधानिक कामदारको रुपमा मलेसियामा रहेका अन्य दुुई जना नेपालीको शव मलेसियामा अलपत्र परेको छ । मोरङ पथरी शनिश्चरे ८ का वीरेन्द्र भट्टराई र मोरङ्ग सिजुवाका रत्न लिम्वुको शव अलपत्र परेको हो । भट्टराई दुर्इ साता अघि मोटरसाईकल दुर्घटनामा परेका थिए भने लिम्बुको सुँगाईब्लोह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । भट्टराईको शव पेनाडको सुगाई बाकाप अस्पताल र लिम्बुको शव सुँगाईब्लोह अस्पतालमा रहेको छ । भट्टरार्इ ४ वर्ष अघि रोजगारीका लागि मलेसिया आएका थिए भने ४ महिना देखि अबैधानिक बन्न पुगेका हुन् । लिम्बु करिब १० बर्षदेखि मलेसियामा काम गर्दै आएको उनीसँगै काम गर्ने गजेन्द्र जिमिले बताए ।