
काठमाडौं, भदौ २३
प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले संसदमा संवोधन गर्दै बैदेशिक रोजगारका क्रममा रहेका नेपालीका लागि सहयोग गर्ने खालका योजनाहरु सार्वजनिक गरेका छन् । उनले बैदेशिक रोजगारका क्रमम ज्यान गुमाउनेका परिवारलाई कल्याणकारी कोषबाट दिइने रकम बृद्धि, व्लडमनीका लागि सीडमनी, पुन श्रमस्वीकृतिमा सहजता लगायतका योजना सार्वजनिक गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले संसदमा गरेको संवोधनको बैदेशिक रोजगारसँग सम्वन्धित अंश
“आज म यो सम्मानित संसदमार्फत् विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीसँग पनि भावना साट्न चाहन्छु । हामी यो देश रेमिट्यान्सले चलेको भन्छौं । वास्तवमा त्यो रेमिट्यान्स घरपरिवार छोडेर बिरानो भूमिमा उहाँहरूले बगाएको पसिना र रगतको फल हो । दुर्भाग्य नै भन्नुपर्छ, उहाँहरूको यो देशमा उचित कदर हुने वातावरण बन्न सकेन । ठगिँदा न्याय पाउनुभएन । अलपत्र पर्दा राज्य उहाँहरूसँग उभिएन । अब त्यसो हुने छैन । सरकारले वैदेशिक रोजगारीमा अलपत्र परेकाहरूको अभिलेख संकलन गरिरहेको छ र उद्धार अभियान सुरु भइसकेको छ । विदेशी जेलमा रहेकाहरूलाई कानुनी उपचारका लागि दूतावासहरूले सहयोग गर्ने वातावरण बनाइने छ । विदेशका अस्पतालहरूमा अलपत्र परेकाहरूलाई परिवारको सहमतिमा स्वदेश फर्काउन तत्काल अभियान सुरु गरिनेछ ।
‘ब्लड मनी’ तिर्नुपर्र्नेहरूका हकमा सरकारले हरेक व्यक्तिलाई पाँच लाख बीज रकम (सिड मनी) राखिदिने र बाँकी पैसाका लागि देश–विदेशमा रहेका नेपालीहरूसँग सहयोगको आव्हान गर्ने नीति लिइनेछ । खाडी र मलेसियाका नेपालीहरूले पासपोर्ट लि“दा तिर्नुपर्ने शूल्क ८० डलरबाट घटाएर ५० डलर गरिएको छ ।
आगामी तीन महिनाभित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एड्भान्स् प्यासेन्जर इन्फर्मेशन सिस्टम लागू गरी वैदेशिक रोजगारीमा जानेहरूले अध्यागमनमा फर्म भर्न नजान्दा खेप्नु परेको हैरानीको अन्त्य गरिने छ ।
वैदेशिक रोजगारमा संलग्न कामदारहरूलाई उनीहरू कार्यरत मुलुकमै श्रम स्वीकृति र पुनर्विमा नवीकरण गर्ने व्यवस्था मिलाइने छ । वैदेशिक रोजगारीमा ठूलो संख्यामा कार्यरत नेपालीहरू भएका मुलुक र श्रम तथा रोजगार मन्त्रालयबीच इन्टरलिङ्क प्रणालीबाट सोझै सूचना आदानप्रदान गर्ने व्यवस्था गरिनेछ । कम्तिमा थप पाँच मुलुकसँग श्रम सम्झौताका लागि तत्काल पहल गरिनेछ । साथै, वैदेशिक रोजगारीमा गएकाहरूको समस्या, गुनासो र उजुरी सुन्न चौबीसै घण्टा खुला हुने कार्यालयको व्यवस्था मिलाइने छ । त्यो कार्यालयमा विदेशबाट फोन गर्दा पैसा नलाग्ने टोल फ्री नम्बरको व्यवस्था गरिने छ ।
वैदेशिक रोजगारसम्बन्धि उजुरीलाई फास्ट ट्रयाकबाट सम्बोधन गरिने छ । विमानस्थल र विमानस्थल बाहिर व्यहोर्न पर्ने सास्ती घटाउन विमानस्थलदेखि नयाँ वसपार्कसम्म लगेज राख्न मिल्ने गरी निश्चित समयमा गुड्ने ठूला बस सेवा सञ्चालनमा ल्याइनेछ । बाहिरबाट मृतकलाई नेपाल ल्याउन र क्षतिपूर्ति रकम पाउन अहिले देखिएको झन्झट हटाउन विशेष व्यवस्था गरिने छ । मृतकका परिवारलाई अहिले दिईदै आएको क्षतिपूर्ति रकम रु. पाँच लाखमा रु. दुई लाख थपेर रु. सात लाख पु¥याइने छ ।”