
काठमाडौं, भदौ २३
प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको परिवारलाई दिने राहत बढाउने घोषणा गरेका छन् । प्रधानमन्त्री भएपछि पहिलो पटक संसदमा बोल्दै प्रचण्डले यसअघिको प्रकृयामा थप २ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् । हाल वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड अन्तर्गतको कल्याणकारी कोषबाट ३ लाख रुपैयाँ दिइन्छ । तर, कोषको कार्यविधि परिवर्तन गरेर ५ लाख पुर्याउने तयारी हाल चलिरहेको छ । प्रधानमन्त्रीले यसलाई पनि बढाएर सात लाख रुपैयाँ बनाउने घोषणा गरेका हुन् ।
यसैगरी हत्या अभियोगमा ठहर भएर विदेशका जेलमा रहेका तथा पीडित परिवारलाई ब्लडमनी तिर्न नसक्दा समस्यामा परेका नेपाली कामदारका लागि सरकारले सुरुवाती रकम (सिडमनी) स्वरुप ५ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।
प्रधानमन्त्री प्रचण्डले ब्लड मनी वापतको रकम तिर्न नसकेर जेलमा रहेका नेपालीलाई छुटाउन पहल गर्ने पनि घोषणा गरे । सरकारले उपलव्ध गराउने सुरुवाती रकममा नपुग रकम देशविदेशबाट जुटाउने उनले बताए । अहिले विदशमा ब्लडमनी कुरिरहेकाहरुलाई सरकारले ५० हजारसम्म सीडमनी दिन सक्ने व्यवस्था छ । यसअघि सरकारले दुबईको जेलमा ब्लडमनी कुरिरहेका अनिल खालिङ राईलाई ५० हजार दिएको थियो ।